काठमाडौँ, १२ माघ - मेलम्चीको पाइप बिछ्याउन सडक खनिएपछि चाबहिल र गौशाला क्षेत्र पनि हप्तौँदेखि अस्तव्यस्त छ । बिहानदेखि बेलुकीसम्मै त्यहाँ जाम हुन्छ र धुलोले सडक कुहिरीमण्डल हुँदा मोटरसाइकलचालक नचिनिने हुन्छन् । कतिपय ठाउँमा पानी चुहावटले हिलो पनि भएको छ । सोमबार दिउँसो एउटा ट्रक जयबागेश्वरीनजिक यस्तै खाल्डोमा पर्यो । चालकले निकाल्न जोड गर्दा चक्का झन् धसिएर अगाडिको भाग ढिकीजस्तै उचालियो । ट्रक फसेपछि ट्राफिक व्यवस्थापन झन् अस्तव्यस्त भयो ।

तर, मंगलबार बिहान मात्र ट्रक निकाल्न सम्भव भयो । ‘पाइप बिछ्याइएको खाल्डामा लोड गरिएको ट्रक फस्यो । सोमबार दिनभर ट्राफिक व्यवस्था अस्तव्यस्त बन्यो,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी मिलन बस्नेतले भने, ‘तत्काल हटाउन सकिएन । मंगलबार बिहान बल्लतल्ल हटाइयो ।’ आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले पुरानो पाइपबाट रसाएको पानीले ट्रक फसेको, तर तत्काल निकाल्न नसक्दा जनताले दुःख पाएको बताए, आजको नयाँ पत्रिकामा खबर छ |
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले खनिएका सडक कालोपत्रे नहुँदा धुलो बढेको स्विकारे ।यसैबीच चक्रपथ सडकअन्तर्गत बालकुमारी–कोटेश्वर सडकखण्डका ठेकेदार बेपत्ता भएपछि सडक निर्माण अलपत्र छ । सडकको बीचमै ठुल्ठूला खाल्डा छन्, जसका कारण दैनिकजसो दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।