१५ असार २०८३, सोमबार

म कुनै पार्टीको होइन, समग्र २ नं. प्रदेशको प्रमुख हुँ : कायस्थ [अन्तर्वार्ता]

म कुनै पार्टीको होइन, समग्र २ नं. प्रदेशको प्रमुख हुँ : कायस्थ [अन्तर्वार्ता]

रत्नेश्वरलाल कायस्थले प्रदेश नम्बर २ को प्रदेश प्रमुखको रुपमा कार्यभार सम्हालेका छन् । महोत्तरीको जलेश्वर नगरपालिकाको सुगा गाउँका स्थानीय बासिन्दा कायस्थ पेशाले इञ्जिनियर हुन् । नेपाल सरकारको सचिवबाट अवकाश पाएपछि उनी राष्ट्रिय योजना आयोगको सदस्य बने । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय सचिव तथा प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका कायस्थले प्रदेश प्रमुखको भूमिका कुशलतापूर्वक निभाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार प्रदेश प्रमुखको कार्यभार सम्हालेका कायस्थसंग लोकान्तरका लागि अजय अनुरागीले कुराकानी गरेका थिए ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंश  :

प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ, तपाईँलाई यस प्रदेशका जनताले कसरी चिन्ने ?

म २००० सालमा महोत्तरीको सुगा गाउँमा जन्मिएको हो । जलेश्वरको लचमु माविबाट २०१६ सालमा प्रथम श्रेणीमा एलएलसी उत्तीर्ण गरेँ । २०१८ सालमा त्रिचन्द्र कलेजबाट प्रथम श्रेणीमै आईएस्सी  उत्तीर्ण गरेको हो । आईएस्सीमा त नेपाल टपेको थिएँ ।

त्यसपछि नेपाल सरकारले मलाई कोलम्बो प्लानअन्तर्गत स्कलरसिपमा भारतको पश्चिम बंगालको खडकपुरमा आईआईएमबाट सिभिल इञ्जिनियरिङ बी टेक अनर्स गरेँ । त्यसपछि पढेर आएको एक वर्षमै २०२१ सालमा लोकसेवा आयोगबाट नहर विभागमा असिस्टेन्ट इञ्जिनियरको पदमा नाम निकाल्न सफल भएँ । त्यसपछि नहर विभागमा केही दिन काम गरेँ । 

गण्डक ब्यारेजको कन्स्ट्रक्सनदेखि कन्काई सिँचाइ परियोजनादेखि थुप्रै परियोजना निर्माण कार्यमा प्रोजेक्ट म्यानेजरको रुपमा काम गरेँ । त्यसपछि नेपाल सरकारको जलस्रोत मन्त्रालयमा सह–सचिव हुँदै सिँचाइ विभागको महानिर्देशकसमेत बन्न सफल भएँ ।

कृषि तथा सहकारी मन्त्रालयको सचिव भएर २०५८ सालमा नेपाल सरकारको सेवाबाट सेवा निवृत्त भएँ । त्यसपछि नेपाल विद्युत् प्राधिकरणको बोर्ड मेम्बर, नेपाल इञ्जिनियरिङ काउन्सिलको बोर्ड मेम्बर, राष्ट्रिय योजना आयोगको सदस्य समेतमा बसेर देशको विकासमा आफ्नो योगदान दिने मौकासमेत पाएको हो ।

सरकारको सचिवबाट अवकाश पाएको पूर्वकर्मचारी राजनीतिमा कसरी आउनुभयो ?

२०५८ सालमा नेपाल सरकारको जागिरबाट अवकाश प्राप्त भएपछि केही वर्ष सामान्य रुपमा थिएँ । तर, २०६३ सालमा जब उपेन्द्र यादवजीले मधेसी जनअधिकार फोरमको नेतृत्व गर्दै मधेसी जनताको अधिकार प्राप्तिका लागि संघर्ष तथा आन्दोलन गर्न शुरु गर्नुभयो त्यसपछि म पनि ती एजेण्डाबाट प्रभावित भएको थिएँ ।

अधिकार प्राप्तिको आन्दोलनमा आफ्नो पनि केही भूमिका हुनुपर्छ भन्ने कुरा सोचेर नै मधेसी जनअधिकार फोरममा पार्टी प्रवेश गरेको थिएँ । २०६३ सालमा मधेस आन्दोलन हुँदा फोरमको केन्द्रीय सल्लाहकार समितिमा मलाई सदस्य बनाइएको थियो । पछि महाधिवेशन हुँदा केन्द्रीय सचिवको भूमिका पाएको थिएँ । यसका अतिरिक्त मधेसी बुद्धिजीवि फोरमको केन्द्रीय अध्यक्ष समेतको भूमिका निर्वाह गरेको थिएँ । 

२०६४ सालमा भएको संविधान सभाको पहिलो चुनावका लागि फोरमले बनाएको घोषणा पत्रसमेत आफैँले बनाएको थिएँ । किनभने चुनावी घोषणापत्र बनाउन मलाई नै पार्टीले संयोजक बनाएको थियो । २०६५ सालमा जब पहिलो सरकार बन्यो, उपेन्द्र यादवजीसमेत उपप्रधान तथा परराष्ट्रमन्त्री हुँदा मलाई पार्टीले राष्ट्रिय योजना आयोगमा सदस्य चयन गरेको थियो । 

योजना आयोगमा हुँदा मधेशका लागि के कति काम गर्नुभयो ?

योजना आयोगमा हुँदा समग्रमा देशकै विकासका लागि योजनाहरु तयार गर्ने काम हुन्छ । तर, मैले त्यहाँ काम गर्दाको अनुभव भन्ने हो भने जसरी योजना आयोगले सम्पूर्ण देशकै विकासका लागि योजनाहरु न्यायिकरुपमा सन्तुलित ढंगले बनाउनुपर्ने हो, त्यो नबनेको पाएको छु ।

जस्तै सिँचाइकै सन्दर्भमा भन्ने हो भने मधेसको भूमिका लागि जति पानीको अवश्यकता छ त्यति ठाउँमा बाँध बनाउन सकिएको छैन । समग्र रुपमा देशकै कुरा गर्ने हो भने विकासका कार्यहरुमा समेत राज्यले ध्यान दिन सकेको छैन । 

हुलाकी राजमार्ग निर्माणमा सरकारले ध्यान दिनु पर्दथ्यो । किनभने सबैभन्दा बढी जनघनत्व भएको ठाउँका लागि राजमार्ग निर्माण नगरी जंगल फँडानी गरेर पूर्वपश्चिम राजमार्ग बनाइयो । मेरो विचारमा त्यो धेरै ठूलो गल्ती भएको हो । अब बनिसकेको पूर्वाधारलाई नष्ट त गर्नुहुन्न तर, हुलाकी राजमार्ग निर्माणमा पनि राज्यले तदारुकता देखाउनु आवश्यक छ ।

प्रदेशको विकासका लागि तपाईँको भूमिका के हुन्छ ?

हेर्नुस्, अब संघीयतामा देश गइसकेको छ । प्रदेश नं. २ को मात्र कुरा छैन, पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्मको तराई मधेशको भू–भागलाई विकसित गर्नु आवश्यक छ ।

चारकोशे झाडी सिध्याइएको छ । सिँचाइको अभाव त्यसैकारण भएको हो । चारकोशे जंगल पहाडभन्दा पनि तराईका लागि धेरै आवश्यक थियो । चुरे क्षेत्र जलस्रोतको मुहान थियो । त्यसैले अब फेरि पनि चारकोशे जंगललाई पुनःस्थापना गर्नुपर्दछ । जुन ठाउँमा बसोवास भइसकेको छ त्यसलाई त्यस्तै छोडेर जंगलको वृद्धि गर्नु आवश्यक छ ।

प्रदेश प्रमुखको हैसियतले धेरै काम गर्ने अधिकार मलाई छैन, तर कार्यकारी अधिकार रहेको मन्त्री परिषद्लाई भने समग्रमा समुन्नतिका लागि सल्लाह सुझाव अवश्य नै दिनेछु । कसरी सडकहरु निर्माण गर्न सकिन्छ, बाढीको प्रकोपलाई कसरी न्यूनिकरण गर्न सकिन्छ, त्यस्ता अप्रोचहरु सरकारलाई सुझावमार्फत दिनेछु ।

अहिले नदीमा बालुवा आइरहेको छ, त्यसलाई व्यवस्थापन गर्नु आवश्यक छ । तराईका सम्पूर्ण नदीहरु भारतको गंगामा गइरहेका छन् । प्रदेशदेखि केन्द्रसम्म वार्ता गरेर भारतमा गइरहेको पानीलाई आफ्नै देशमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने कुराका लागि मेरो सुझाव सल्लाह रहनेछ ।

स्वतन्त्र व्यक्ति आउनु पर्ने ठाउँमा राजनीतिक लबिङ गरेर आउनुभयो भन्ने आरोप छ नि ?

म राजनीतिक व्यक्ति भएर प्रदेश प्रमुखमा कसरी आएँ भन्ने कुराको पूर्वाग्रह हुनुभएन । देशको नागरिकले कुनै न कुनै पार्टी र तिनका उम्मेदवारलाई मतदान त गर्छ नै । राजनीतिक दलमा यदि कुनै व्यक्ति आबद्ध छैन भने पनि मतदान गर्दा कुनै न कुनै दल वा नेताप्रति उसको आस्था रहन्छ नै ।

त्यसैले म कुनै पार्टीको नेता वा पार्टीको सिफारिसबाट प्रदेश प्रमुख भएँ भन्दा पनि मैले प्रदेश प्रमुखको हैसियतमा आफ्नो कर्तव्य निर्वाह गर्नेछु वा छैन भन्ने कुरा हेर्नुपर्ने हुन्छ ।

नयाँ सरकार बनेपछि प्रदेश प्रमुखको नियुक्तिलाई उल्ट्याउने कुरा पनि भइरहेको छ, नयाँ सरकार आएपछि कसरी ब्यालेन्स गर्नुहुन्छ ? 

अहिलेको सरकारले प्रदेश प्रमुख नियुक्त गरेको कुरा क्षणिक हो जस्तो मलाई लाग्दैन । प्रदेश प्रमुखलाई दिएको अधिकारअनुसार काम गर्‍यो भने मलाई लाग्दैन कि आउने सरकारले पनि हटाउला ।

सरकारले प्रदेश नं. २ को राजधानीका लागि अस्थायी मुकाम जनकपुरलाई तोकेपछि वीरगञ्जमा आन्दोलन भइरहेको छ, कसरी म्यानेज गर्नुहुन्छ ?

राजधानीका लागि अहिले वीरगञ्जमा आन्दोलनको आवश्यकता थिएन । किनभने अहिले तोकिएको राजधानी अस्थायी मात्र हो । प्रदेशसभाको बैठकबाट दुई तिहाई मतले स्थायी राजधानी तोक्ने छ । त्यसबेलामा राजनीतिक दलहरुले विभिन्न कुरालाई ध्यान दिनेछन् । जस्तै राजधानीका लागि आवश्यक पूर्वाधारमध्ये भवन, स्थान, जग्गाको उपलब्धता लगायत थुप्रै कुराहरुमा विचार गर्नेछन् । 

मन्त्रीमण्डलले नागरिकहरुको प्रतिक्रिया लिनेछ । बुद्धिजीविहरुसँग छलफल गर्नेछ । त्यसैले मेरो विचारमा जुन ठाउँको विकास पहिलेदेखि नै भइसकेको छ त्यस्तो ठाउँमा जनघनत्व बढाउनुभन्दा पनि अन्य ठाउँको जनघनत्व बढाउने, नयाँ विकल्पको खोजी गर्ने जस्ता कुराहरुमा पनि छलफल गरेर स्थायी राजधानीको लागि निर्णय लिइने छ ।

प्रदेशका जनतालाई तपार्इँ के सन्देश दिन चाहनुहुन्छ ?

म एउटा पार्टीको सिफारिसमा प्रदेश प्रमुख भए पनि अब कुनै पार्टीको नेता होइन । पूरै प्रदेशको प्रदेश प्रमुख हुँ । प्रदेशको विकास र समृद्धिका लागि काम गर्नेछु । सबै पार्टीलाई मिलाएर लग्ने छु । अन्तरपार्टी वार्तालापमार्फत समस्याको समाधान गर्नेछु । सबैलाई समान दृष्टिकोणले हेर्नेछु ।

प्रदेशका हरेक राजनीतिक दलहरुबाट पनि मैले सहयोगको अपेक्षा राखेको छु । सबैले मलाई सहयोग गर्नुहुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।

salt training

कमेन्ट गर्नुहोस्