
काठमाडौं, ८ माघ — न्युजील्यान्ड भ्रमणमा रहेको पाकिस्तानले लगातार खराब प्रदर्शन गरिरहेको छ । यसैक्रममा सोमवार भएको पहिलो टीट्वान्टी खेलमा न्युजील्यान्डले पाकिस्तानलाई सात विकेटले हरायो ।
टस हारेर ब्याटिङ गरेको पाकिस्तान निर्धारित पूरा ओभर पनि टिक्न नसकेर १९.४ ओभरमा जम्मा १०५ रनमा अल आउट भयो । जवाफमा न्युजील्यान्डले १५.५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य हासिल ग–यो ।
त्रिपन्न रनमा ७ विकेट गुमाएको पाकिस्तानले बाबर आजमको ४१ र हसन अलीको २३ रनको मद्दतले १०० रन कटाउनसम्म सफल भएको थियो ।
आजम र अलीले मात्र दोहोरो अंकमा रन जोड्न सकेका थिए ।
पाकिस्तानलाई तहसनहस पार्नका लागि सेथ –यान्स र टिम सउथीले तीन तीन विकेट लिए भने मिचेल स्यान्टनरको नाममा दुई विकेट रह्यो ।
सामान्य लक्ष्य पछ्याएको न्युजील्यान्डका लागि फर्ममा रहेका ब्याट्स्म्यान कोलिन मुनरोले ४३ रनमा नटआउट ४९ रन बनाए । उनी कीर्तिमान बनाउनबाट जम्मा एक रनले चुके । उनले अर्धशतक बनाएका भए लगातार चार टिट्वान्टीमा अर्धशतक बनाउने कीर्तिमानको बराबरी गर्थे ।
अनि म्याचमा ४९ रनको अनौठो संयोग बन्यो । मुनरोले टम ब्रुससँग तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे भने रोस टेलरसँग पनि चौथो विकेटका लागि ४९ रनकै साझेदारी गरे ।
ब्रुसले २६ र टेलरले २२ रन बनाए ।
पाकिस्तानका लागि रुम्मान रईसले दुई र शादब खानले एक विकेट लिए ।
कोलिन मुनरो म्यान अफ द म्याच घोषित भए ।
पाँच एकदिवसीय खेलको शृंखलामा क्लीन स्वीप विजयी भएको न्युजील्यान्डले राम्रो खेल कायम राखेको छ ।
दोस्रो टिट्वान्टी बिहीवार अकल्यान्डमा खेलिनेछ ।