
काठमाडौँ, ८ माघ - नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।
आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको पार्टीे स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो ।
बैठकले दुई वटै पार्टी एकताको प्रक्रिया सकारात्मक रहेको ठहर गरेको जानकारी दिँदै पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी एकताका लागि दुई वटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय भएको बताए |
पार्टीको विचार धारा र सैद्धान्तिक पक्षको बीचमा सहमति निर्माण गर्न एउटा कार्यदल र संगठनात्मक कामको संयोजन एवं व्यवस्थापन गर्न अर्को कार्यदल बनाउने निर्णय भएको उनको भनाइ छ ।
एक दुई दिनभित्रै बस्ने पार्टी एकता संयोजन समितिको बैठकले यसको टुङ्गो लगाउने जानकारी दिँदै उनले यसका लागि आवश्यक गृहकार्य गरी आ–आफ्नो पार्टीको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यसैगरी बैठकले सात वटा प्रदेशमा राष्ट्रियसभाको उम्मेदवार छनोट गर्ने र २९ जनालाई उम्मेदवारको रुपमा प्रस्तुत गरी १० गते मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।