
काठमाडौं, ९ माघ– चिलीका फुटबल खेलाडी अलेक्सीस सान्चेज इङ्गलिस प्रिमियर क्लब आर्सनल छोडी म्यान्चेस्टर युनाईटेड प्रवेश गरेका छन् । सान्चेज म्यानचेस्टर युनाइटेडबाट खेल्ने चिलीका पहिलो खेलाडी बनेका छन् ।
यसैगरी म्यान्चेस्टर युनाइटेडका अर्मेनियन मिडफिल्डर हेनरिक मख्तरीयान आर्सनल पुगेका छन् । दुवै क्लबले आफ्ना पूर्व खेलाडीलाई धन्यवाद दिँदै नयाँ खेलाडीलाई क्लबमा स्वागत गरेका छन् ।
सान्चेजले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने छन् भने आर्सनलमा मख्तरीयानको जर्सी नम्बरको टुंगो लाग्न बाँकी छ ।
आर्सनलसँगको करार अवधि सकिन लागेका बेला म्यानचेस्टर युनाइटेडले सुरुदेखि नै सान्चेजलाई भित्र्याउन खोजेको थियो । खेलाडी सट्टापट्टा तथा खेलाडीसँग अनुबन्धन सहमती भएपछि दुवै क्लबले एकै समयमा यसको घोषणा गरेका हुन् ।