१८ असार २०८३, बिहीबार

आजकै दिन गएको थियो इतिहासको सबभन्दा खतरनाक भूकम्प, केही क्षणमै मरे आठ लाखभन्दा बढी मानिस

आजकै दिन गएको थियो इतिहासको सबभन्दा खतरनाक भूकम्प, केही क्षणमै मरे आठ लाखभन्दा बढी मानिस

काठमाडौं, ९ माघ — सन् १५५६ मा आज अर्थात् २३ जनवरीका दिन चीनमा संसारको सबभन्दा ठूलो भूकम्प आएको थियो । यो भूकम्पले एक झमटमै आठ लाख ३० हजार मानिसको ज्यान लिएको थियो । 

यसलाई शांक्सी भूकम्प भनी चिनिन्छ । हुन त यसभन्दा बढी तीव्रता (म्याग्निच्युड) का भूकम्पहरू संसारमा आइसकेका छन् तर ८ म्याग्निच्युडको यो भूकम्पले सबभन्दा धेरै मृत्यु गरायो । 

यो भूकम्पले ८४० किलोमिटर क्षेत्रमा विनाश मच्चाएको थियो । त्यति ठूलो क्षेत्र पूरै ध्वस्त भएको थियो । यसको असर शांक्सी प्रान्तका ९७ वटा काउन्टीहरूमा परेको थियो ।

भूकम्पका कारण भूस्खलन भएका थिए । यी सबैले गर्दा आठ लाखभन्दा बढी मानिस मरेका थिए । 

इतिहासकारहरूका अनुसार, भूकम्पको तीव्रताका कारण जमीनमा ६६ फीटसम्म गहिरो चिरा परेको थियो र प्रभावित क्षेत्रमा ६० प्रतिशतसम्मको जनसंख्या ध्वस्त भएको थियो । 

हुआसियान सिटीनजिकको वेई नदीमा भूकम्पको केन्द्रविन्दु थियो । यो भूकम्प जमीनभन्दा कति तलबाट आएको हो भन्ने विषयमा वैज्ञानिकहरूसँग कुनै जानकारी छैन । तर विनाशलाई हेर्दा यो भूकम्प जमीनको केही किलोमिटर तलबाट मात्र शुरू भएको अनुमान लगाउन सकिन्छ । 

चीनमा त्यसपछिको ठूलो भूकम्प सन् १९७६ को २८ जुलाईमा आएको थियो । ताङशान शहर ७.८ म्याग्निच्युडको भूकम्पका कारण ध्वस्त भएको थियो । त्यसमा पाँच लाखभन्दा बढी मानिस मरेका थिए । 

थाहा भएसम्म सबभन्दा ठूलो भूकम्प सन् १९६० मा चिलीमा गएको थियो । त्यहाँको ९.५ म्याग्निच्युडको भूकम्पले भयंकर विनाश मच्चाएको थियो । यसको तागत एक हजार एटम बमजत्तिको बताइन्छ । 

यसको असर बोलिभियादेखि हवाई टापुसम्म थियो । यसमा परी ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । रेक्टर स्केलमा यो नै सबभन्दा ठूलो भूकम्प मानिन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्