
काठमाडौं, ९ माघ– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ९ जनालाई जेल चलान गरिएको छ ।
गौचनको हत्यामा संलग्न रहेका मूख्य योजनाकार समिरमानसिंह बस्नेतसहित ९ जनालाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै जेल चलान गरेको हो ।
९ दिनसम्मको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले मंगलवार फैसला सुनाउँदै जेल चलान गरेको हो । न्यायाधीश बाबुकाजी बानियाँको इजलाशले आदेश सुनाएको हो ।
गौचनको हत्यामा संलग्न बस्नेतसहित राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकी, वसन्त थेवे र धनराज योङहाङलाई जेल चलान गरिएको हो ।
जिल्ला अदालत काठमाडाले हत्याकाण्डमा संलग्न भनिएका दुईजनालाई भने धरौटीमा रिहा गरेको छ । सिरहाका श्याम गुप्ता र उदयपुरका राजकुमार शाहलाई धरौटीमा रिहा गरिएको हो । उनीहरुबाट जनही ३० हजार रुपैयाँ धरौटी लिइएको हो ।