०३ साउन २०८३, आइतबार

राजधानीमा चक्रपथभित्र जग्गा कारोबार ठप्प, किन हुन छाड्यो किनबेच ?

मनीषा अवस्थी
माघ १०, २०७४
राजधानीमा चक्रपथभित्र जग्गा कारोबार ठप्प, किन हुन छाड्यो किनबेच ?

काठमाडौं, १० माघ- मुलुकको राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा चक्रपथभित्र जग्गा कारोबार लगभग ठप्प भएको छ । काठमाडौं र ललितपुर जिल्लामा फैलिएको चक्रपथभित्र कारोबार हुने जग्गा करिब सकिएको र बाँकी भएका थोरै जग्गा पनि जग्गाधनीले भविष्यमा बढी मूल्य पाउने लोभले किनबेच गर्न नचाहँदा कारोबार करिब ६० देखि ७० प्रतिशत घटेको जानकारहरु बताउँछन् ।

भूमिसुधार तथा व्यवस्थापन विभागका प्रवक्ता सम्मरसिंह ठकुरीका अनुसार अहिले चक्रपथभित्र किनबेच करिब–करिब रोकिएको छ । ठकुरीले लोकान्तरसँगको कुराकानीमा भने, ‘अहिले चक्रपथभित्र जग्गा नै किनबेच हुन छाडेको छ, पहिलो कारण त चक्रपथभित्र लगलभ जग्गा नै सकिएको छ, अलिकति भएको पनि घनाबस्ती तथा प्रदूषणका कारण किन्न मान्दैनन् ।’

घरजग्गा एजेन्ट संघ नेपाल रिआनका अध्यक्ष ईश्वर खरेल पनि चक्रपथभित्र रहेका स–साना टुक्रे जग्गासमेत किनबेच हुन छोडेको स्वीकार्छन् । विगत लामो समयदेखि घरजग्गा कारोबारमा संलग्न खरेलले लोकान्तरसँग भने, ‘अहिले साँच्चिकै चक्रपथभित्रको जग्गा कारोबार करिब ७० प्रतिशत घटेको छ, यसको प्रमुख कारण भित्रको अव्यवस्थित शहरिकरण नै देखिन्छ ।’ 

सरकारकै कारण बढ्यो मूल्य !

अहिले चक्रपथभित्र जग्गाको मूल्यसमेत अत्यधिक बढेको छ । राजधानीको केन्द्रमा पर्ने कतिपय व्यस्त सडक आसपास प्रतिआना जग्गाको सरकारी मूल्याङ्कन नै २ करोडको हाराहारीमा पुगेको व्यवसायीहरु बताउँछन् ।

चक्रपथभित्र जग्गाको मूल्य निकै बढेकै कारण पनि बाहिर  कारोबार बढेको छ । पछिल्लो समय बर्सेनि घरजग्गाको मूल्य अत्यधिक वृद्धि भएको देखिन्छ । खासगरी बसार्इँसराई धेरै हुने जिल्लामा घर जग्गाको मूल्यमा अत्यधिक वृद्धि हुनुको मुख्य कारण माग बढी हुनु नै भएको जानकारहरु बताउँछन् । सरकारले अदूरदृष्टिले पनि जग्गाको मूल्य बढिरहेको जानकारहरु बताउँछन् ।

भूमि सुधार मन्त्रालयमा कार्यरत एक अधिकारी भन्छन्, ‘सरकारले जथाभावी तरिकाले नयाँ आयोजनाबारे बोल्छ, त्यसपछि सरकारी अधिकारी नै जग्गा ओगटेर राख्छन्, भाउ ह्वात्तै बढ्छ, जग्गाको मूल्य आकाशिनुमा यो एक ठूलो कारण हो ।’ ती सरकारी अधिकारीले चिन्तित मुद्रामा भने, ‘अब सामान्य नेपालीले राजधानीमा जग्गा किन्नु सपना मात्रै हो ।’ 

उनले थपे, ‘घरजग्गा मानिसको आधारभूत आवश्यकता हो, यसको अधिकतम मूल्यसमेत निर्धारण गर्नुपर्थ्यो, तर मनोमानी तरिकाले मूल्य आकाशिन दिँदा यसले धेरै घाटा व्योहोर्नुपरेको छ । नेपालमा भ्रष्ट्राचार बढ्नुको एक प्रमुख कारणसमेत मानिसमा घरजग्गा जोड्नु लालच मान्न सकिन्छ ।’

उनका अनुसार घरजग्गासम्बन्धी सरकारले प्रभावकारी र व्यवस्थित नीति नै बनाउन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्