११ असार २०८३, बिहीबार

कैलालीमा मुक्तकमलरी परिचय पत्रका लागि फारम संकलन हुँदै, कमलरीहरु उत्साहित

माघ १०, २०७४
कैलालीमा मुक्तकमलरी परिचय पत्रका लागि फारम संकलन हुँदै, कमलरीहरु उत्साहित

धनगढी, १० माघ- कैलालीमा मुक्तकमलरीहरुलाई परिचयपत्र वितरणका लागि धमाधम फारम संकलन भइरहेको छ ।

सरकारले मुक्त घोषणा गरेको चार वर्षपछि कमलरीहरुको पहिचानसहितको परिचयपत्र वितरणका लागि फारम संकलन गरिएको हो । २०७० साल असार १३ गते मन्त्रिपरिषद्को बैठकले तराईका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित कमलरीहरुलाई मुक्त घोषणा गर्ने निर्णय गरेको थियो । सोही वर्षको साउन २ गते कमलरीमुक्त घोषणा गरिएको थियो ।

गत आर्थिक वर्षदेखि बर्दियाबाट परिचयपत्र वितरणको कार्य शुरु भए पनि कैलालीमा भने पुस १७ गतेदेखि तयारी सुरु गरिएको जिल्ला भूमि सुधार कार्यालय कैलालीका प्रमुख लोकराज जोशीले जानकारी दिए । माघ महिनाभरी फारम संकलनपश्चात फागुनदेखि परिचयपत्र वितरण गर्ने तयारीमा जुटेको जोशीले जानकारी दिए ।

जिल्लामा २ हजार ७ सय ३८ जना मुक्तकमलरी रहेको उनको भनाइ छ । हाल भूमि सुधार कार्यालय धनगढीमा फारम बुझाउने मुक्तकमलरीहरुको भीड लागेको छ ।

परिचयपत्र वितरणको तयारी शुरु भएपछि मुक्तकमलरीहरु उत्साहित भएका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ हरैया मुक्तकमैया शिविरकी ममता चौधरीले परिचयपत्रबाट आफूहरुको पहिचान हुने भन्दै खुशी व्यक्त गरिन् ।

त्यस्तै, टीकापुर नगरपालिका–२ विजयनगर मुक्तकमैया शिविरकी रामकुमारी चौधरीले पनि परिचयपत्रको लागि फारम दर्ता गराएकी छिन् । लामो समय जमिन्दारको घरमा कमलरी बसेको सुनाउँदै उनले परिचयपत्रको आधारमा राज्यले प्रदान गर्ने लक्षित वर्गको सेवा सुविधा उपभोग गर्न पाउनेमा आशा व्यक्त गरिन् ।

कार्यालय प्रमुख जोशीका अनुसार परिचयपत्रको आधारमा उनीहरुलाई क्षमता अभिवृद्धि र सशक्तिकरणको कार्यक्रममा सहभागी गराइने छ ।

तराईका पाँच जिल्लास्थित जिल्ला प्रशासन कार्यालय र कमलरीको क्षेत्रमा काम गर्दै आएको वेस, मुक्त कमैया महिला विकास मञ्च र मुक्त कमलरी विकास मञ्चले संयुक्त रुपमा तयार पारेको तथ्यांक अनुसार १३ हजार ७३ कमलरीहरु रहेका छन् । जसमध्ये अझै ४ सय ४५ कमलरीहरुको उद्धार गर्न बाँकी देखिन्छ । त्यसमध्ये सबैभन्दा बढी कैलालीमा ३ हजार ३ सय ४९ मुक्तकमलरी मध्ये करिब डेढ सय कमलरीहरुको उद्धार गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्यांकमा उल्लेख छ ।

के हो कमलरी प्रथा ?

तराईको पाँच जिल्लास्थित थारूहरुबीच भाषा, रहनसहन, चालचलनमा एकरुपता रहेको पाइन्छ । यी जिल्लाहरुमा थारू समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । वर्षभरीको लागि पारिवारिक र गाउँ समाजको योजना बनाउने काम माघीमा नै हुने गर्दछ ।

यसैबीच परिवारको कुन सदस्य कमैया बस्न जाने र कुन बालिका कमलरी बस्नेबारे छिनोफाने हुने प्रचलन थारु समुदायमा रहेको थियो । यसरी अर्काको घरमा काम गर्न जाने ठूला मानिसलाई कमैया र बालबालिकाहरुलाई कमलरी या कमलरा भन्ने प्रचलन थियो ।

salt training

कमेन्ट गर्नुहोस्