
काठमाडौं, ११ माघ — सञ्जय लीला भन्सालीको फिल्म पद्मावतको अनेकौं विरोध भएपनि बिहीवारदेखि प्रदर्शनमा आएको छ । लगभग सात हजार स्क्रीनमा फिल्म रिलिज भएको छ ।
पहिलो शो प्रदर्शन भएको केही क्षणमै जाटों का अड्डा नामक फेसबूक पेजमा फिल्मको लाइभ प्रसारण गरियो । मानिसहरूले यसलाई शेयर र लाइक गरे । तर भिडियोमा फिल्म सफा देखिएको छैन ।
फिल्म फेसबूकमा लाइभ भएपनि फिल्म निर्माताहरूले कुनै एक्सन लिएका छैनन् । सामाजिक सञ्जालमा धेरै मानिसले फिल्म लीक भएकोमा आक्रोश व्यक्त गरे । कसैको मेहनतलाई फेसबूक लाइभमार्फत बिगार्नु नहुने उनीहरूको टिप्पणी थियो ।
फिल्मको विरोध गरिरहेको करणी सेनाले बिहीवार भारत बन्दको आह्वान गरेको थियो । विरोधका कारण गुजरात, राजस्थान, मध्यप्रदेश र गोवामा सिनेमाघर मालिकहरूले फिल्म नदेखाउने निर्णय गरेका छन् ।
भारतभरि लगभग १० लाख मानिसले यो फिल्म हेरेको अनुमान गरिएको छ । दिनभरिमा सबै शोमा ३५ लाख मानिसले फिल्म हेर्ने ठानिएको छ ।
बुधवार पद्मावतको टीमले स्पेसल पेड प्रिभ्यु आयोजन गरको थियो । पेड प्रिभ्युमा फिल्मले पाँच करोड भारुको व्यापार गरेको छ ।
एजेन्सी