
काठमाडौं, १८ माघ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै आर्थिक सहायता नबाड्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ माघबाट आचारसंहिता लागू भएको हाे ।
आचारसंहिता लागू भएको अवधिसम्म आर्थिक सहायता रकम उलब्ध नगर्न/नगराउन अर्थ मन्त्रालय र सहायता रकम वितरण नगर्न/नगराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको आयोगले जनाएको छ । आर्थिक सहायता वितरणको विवरण पटकपटक मागे पनि गृह र अर्थ मन्त्रालयले उपलब्ध नगराएको भन्दै आयोगले मुख्य सचिवलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
ज्यान मार्ने धम्की आयो– आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीका विवादित विषयमा बहस गरेपछि आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको भन्दै अधिवक्ता भण्डारीले बुधबार बिहान जिल्ला प्रशासन कार्यालय पुगेर निवेदन दिएका हुन् ।
महानगरिय परिसर टेकुले भण्डारीलाई सुरक्षा दिन र धम्क्याउनेको खोजी गर्न महानगरीय प्रहरी वृत्त बानेश्वरलाई निर्देशन दिएको छ ।
रोइकराइ गर्नुको अर्थ छैन: प्रधानमन्त्री– प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई सरकारमा आउने हतारोका कारण सरकार छाड्न ढिलाइजस्तो देखिएको बताएका छन् । नेपाल टेलिभिजनको ३३ औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सदस्य निर्वाचन गराउने आफ्नो दायित्व भएको भन्दै निर्वाचन गराउन बनेको सरकारले संविधानतः निर्वाचन गराउँदा रोइकराइ गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरे । कार्यक्रममा सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले सातै प्रदेशमा नेपाल टेलिभिजनलाई विस्तार गर्न आवश्यक रहेको बताए । कार्यक्रममा एमाले नेता योगेश भट्टराईले नेपाल टेलिभिजनले लोकतन्त्र र स्वतन्त्रताका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।
जंगलमा भेटिए जोन– फूलचोकीमा हाइकिङ जाँदा सात दिनदेखि हराएका जोन तामाङ भेटिएका छन् । उनी फूलचोकीको जंगलमा बुधबार फेला परेका हुन् ।
थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत १७ वर्षीय जोन तामाङ गत बिहीबारदेखि हराएका थिए । उद्दार गरिएका जोनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
भारतीय विदेशमन्त्री नेपाल आउँदै– भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार नेपालको दुईदिने भ्रमणमा आउँदैछिन् । नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख राजनीतिक दलका शीर्षनेतासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालमा संविधान कार्यान्वयनका क्रममा तीनवटै तहका निर्वाचन सम्पन्न भएपछि हुन लागेको भारतीय विदेशमन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ र
ओलीलाई बालकोटमा भेट्न पाइँदैन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबदेखि बालकोटस्थित आफ्नो निजी निवासमा राजनीतिक भेटघाट नगर्ने भएका छन् । व्यवस्थापनको कठिनाइका कारण कार्यकर्ता तथा अरु व्यक्तिसँगको औपचारिक वार्ता तथा भेटघाट सिंहदरबारमा रहेको संसदीय दलको कार्यालय तथा धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा गर्ने उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बालकोटमा अबदेखि उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक भेटवार्ता मात्रै हुने छ ।
अधिकांश चिनियाँ डाक्टर– प्रहरीले राजधानीका विभिन्न अस्पतालबाट नियन्त्रणमा लिएका नक्कली डाक्टरहरु अधिकांश चिनियाँ रहेका जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार विज्ञप्ति जारी गर्दै पक्राउ परेकामध्ये १३ जना चिनियाँ, एक जना अष्ट्रेलियन र ३ जना अस्पताल संचालक नेपाली रहेको जनाएको छ। मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा गत सोमबार पाँचवटा निजी अस्पतालमा छापा मारेर १७ जनालाई पक्राउ गरिएको थियो ।
यसैबीच, अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतकाका न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थुनामै राखेर अनुसन्धान गर्न अनुमती दिएको हो ।
छानबिन शुरु– दरबारमार्गमा भएको भनिएको सामूहिक बलत्कार र अभियुक्तलाई प्रहरीद्वारा उन्मुक्ति दिएको घटनाको राष्ट्रिय मानवअधिकार आयोगले छानबिन सुरु गरेको छ। आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा काठमाडौँ ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको सम्बन्धमा आयोगले अनुसन्धान टोली गठन गरी काम शुरु गरेको जनाएको छ।
आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनासँग सम्बन्धित उजुरीको दर्ता, छानबिन तथा तथ्य संकलन कार्यलाई प्रभावकारी बनाइ नागरिकलाई न्यायमा पहुँच पुर्याउन नेपाल प्रहरीलाई आग्रह गरेको छ । गत बिहीबार दरबारमार्गको ल्याण्डमार्क होटलमा एक युवतीलाई चार युवकले सामूहिक बलत्कार गरेको घटना बाहिर आएको थियो ।
खेल खबर– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को तयारीका लागि युएईमा रहेको नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित पारेको छ । नेपालले बुधबार भएको दोस्रो अभ्यास खेलमा यूएई ‘ए’ टिमलाई १ सय ९३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपालले दिएको ३ सय ३४ रनको लक्ष्य पछ्याएको युएई ४०.२ ओभरमा १ सय ४० रनमा अलआउट भयो । त्यसअघि दुबईस्थित आइसिसी ओभलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३३ रन बनाएको थियो ।
आहा रारा गोल्डकप– थ्रीस्टार क्लव पोखरामा चलिरहेको १६ औँ आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा बंगलादेशको बरिधारा क्लवलाई ५–० ले हराएर थ्रीस्टार फाइनलमा पुगेको हो ।
बिहीबार दोस्रो सेमिफाइलनमा नेपाल पुलिस क्लव र धरान फुटवल क्लवबिच खेल हुनेछ ।