
काठमाडौं, १८ माघ- बुधवार (माघ १७) गते अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीको कार्यकक्षबाहिर एक अधबैंसे पुरुष हातमा कागज लिएर उभिएका थिए । उनी अर्थसचिव अधिकारीलाई भेट्न दिनुस् भन्दै सचिवको बाहिरी कक्षका कर्मचारीसँग आग्रह गर्दै थिए ।
‘मन्त्रीज्यूले तोक लगाइसक्नु भएको छ । सचिवलाई भेटेपछि काम हुन्छ भन्नुभएको छ,’ ती पुरुष भन्दै थिए, ‘तपाईंहरूले छिटो सचिवलाई जानकारी गराइदिनुहोस् न !’
तर सचिवको कार्यकक्षको बाहिरी कक्षमा कार्यरत कर्मचारी भने ती पुरुषको आग्रह सुनेको नसुने झैं गरिरहेका थिए ।
उनले बोकेको कागजमा अर्थराज्यमन्त्री उदय शम्शेर राणाले हस्ताक्षर गरेको सानो चिट टाँसिएको थियो । चिटमा ‘माग अनुसार गरिदिनु’ भन्ने आदेश लेखिएको थियो ।
आफू गम्भीर रोगको बिरामी रहेको र उपचारका लागि भन्दै ५० हजार रुपैयाँ उपलब्ध गराइदिन उनले अर्थमन्त्रीका नाममा निवेदन लेखेका रहेछन् ।
यसअघि स्वास्थ्य मन्त्रालयमा निवेदन दिइसकेको भए पनि अर्थ मन्त्रालयले मात्रै रकम उपलब्ध गराउने जानकारी पाएपछि आफू यहाँ आएको ती पुरुषले सुनाए । आफूलाई नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता बताउने उनले आफ्नो नाम र ठेगाना भने उल्लेख गर्न चाहेनन् ।
‘उहाँ मात्र होइन, दिनमा २० देखि ३० जना व्यक्ति यहाँ पैसा माग्न आउँछन् । त्यो पनि मन्त्रीज्यूको तोक लगाएर,’ अर्थसचिवको कार्यकक्षको बाहिरी कक्षमा कार्यरत एक कर्मचारीले भने, ‘नियमानुसार अर्थ मन्त्रालयले सिधै रकम दिन मिल्दैन । मन्त्रीज्यूलाई यस्तो सामान्य विषयमा जानकारी नहुनुपर्ने त हैन । तर पनि उहाँले तोक लगाएरै पठाउनुहुन्छ ।’
अर्थसचिव अधिकारीले पैसा मागेर आउने कुनै पनि व्यक्तिलाई आफ्नो कार्यकक्षमा छिर्न नदिन भनेर आदेश जारी गरेका रहेछन् । त्यसैले त्यहाँ कार्यरत कर्मचारीले मन्त्रीको तोक लगाएर आएका ती पुरुषलाई पनि भित्र पस्न दिएनन् ।
मन्त्री र सचिवबीच ठाकठुक
अहिले सबै मन्त्रालयका सचिवहरू सकेसम्म मन्त्रीको अगाडि पर्न चाहँदैनन् । धेरै मन्त्रालयका सचिवहरू बिहान मन्त्री नपुग्दै हाजिर गरेर ‘कार्यक्रम’मा सहभागी हुने भन्दै बाहिर निस्किन्छन् । कारण, मन्त्रीले आफ्नो स्वार्थका लागि नियमविपरीत काम गर्न लगाउँछन् भन्ने ‘डर’ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदारले मन्त्रालयका कर्मचारीलाई एक महिनाअगाडि स्थानीय विकास मन्त्रालयमा सिधै प्राविधिक कर्मचारी करारमा भर्ना गर्ने कार्यविधि तयार गर्न लगाएका थिए ।
जाँदाजाँदै आफ्ना कार्यकर्ता र नातेदारलाई ‘जागिरे’ बनाउन गच्छदारले मापदण्ड विपरीत स्थानीय तहमा प्राविधिक कर्मचारी भर्ना गर्ने कार्यविधि जस्तै मन्त्रालयमा पनि करारमा प्राविधिक कर्मचारी भर्ना गर्ने कार्यविधि बनाउन सचिव दिनेशकुमार थपलियालाई एक महिनादेखि दबाब दिँदै आएका थिए । तर सचिव थपलियाले गच्छदारको प्रस्ताव अस्वीकार गर्दै आएका छन् । गत हप्ता बुबाको निधन भएपछि थपलिया अहिले किरिया बिदामा छन् ।
उर्जामन्त्री कमल थापाले पनि नीतिगतरूपमै असर पर्ने गरी निर्णय गर्न उर्जासचिव अनुपकुमार उपाध्यायलाई दबाब दिँदै आएका छन् । माथिल्लो त्रिशूली १ को बिजुली डलरमा खरिद गर्ने सम्झौता (पीपीए) गर्न सफल भएका थापाले उर्जासचिव उपाध्याय र विद्युत प्राधिकरणका प्रमुखलाई नीतिगत परिवर्तनका लागि दबाब दिँदै आएका छन् ।
उर्जा मन्त्रालय स्रोतका अनुसार मन्त्री थापाले अन्य केही कम्पनीसँग पनि डलरमा बिजुली खरिद गर्ने सम्झौताका लागि समेत ‘चलखेल’ गरिरहेका छन् ।
कमल थापाले आफ्नै पार्टीका नेता दिलनाथ गिरीलाई मन्त्रीबाट हटाएर शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् ।
मन्त्रीबाट बर्खास्त गरिएका गिरीले कमल थापामाथि आर्थिक अनियमितताको गम्भीर आरोप लगाएका थिए । विभिन्न ठेक्कापट्टामा कमल थापाका मान्छे हाल्न नमानेपछि आफूलाई मन्त्रीबाट हटाइएको गिरीले आरोप लगाएका थिए ।
शहरी विकास मन्त्रालय स्रोतका अनुसार थापाले अहिले आफू अनुकुलका केही निर्माण व्यवसायीलाई करोडौंका परियोजना मिलाउन शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मालाई दवाव दिँदै आएका छन् ।
आफू अनुकुलका ठेकेदारलाई ठेक्का दिन दवाव दिँदै आएपछि अहिले मन्त्री थापा र सचिव शर्माबीच विवाद बढेको मन्त्रालय स्रोतको भनाइ छ ।
यस्तै पर्यटन मन्त्री जितेन्द्र नायारण देव र पर्यटन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाबीच भने ययअघि देखि नै विवाद उत्पन्न हुँदै आएको थियो । अहिले मन्त्री देव र सचिव गौतमबीच बोलचालसमेत बन्द भएको पर्यटन मन्त्रालयका कर्मचारी बताउँछन् ।
मन्त्री देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाउन खोज्दा सचिव देवकोटाले उक्त निर्णयमा असहमति जनाएका थिए । सोही विषयमा मन्त्री र सचिवबीच विवाद उत्पन्न भएको थियो ।
प्रधानमन्त्रीलाई टेर्दैनन् गृहसचिव
प्रधानमन्त्री शेरबहादुर देउवाले गृह मन्त्रालयसमेत आफूसँगै राखेका छन् । माओवादी मन्त्रीलाई विनाविभागीय बनाएदेखि गृहमन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले सम्हाल्दै आएका छन् । तर गृह मन्त्रालयमाफर्त देउवाले आफूले चाहेको काम भने गर्न पाएका छैनन् ।
देउवाले आफ्नो गृहजिल्लालगायत अन्य क्षेत्रका केही कांग्रेस कार्यकर्तालाई रकम बाँड्ने गरी गृहमन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पठाउन गृहसचिवलाई ताकेता गर्दै आएका छन् । तर गृहसचिव मोहनकृष्ण सापकोटाले देउवा निर्देशनलाई अस्वीकार गर्दै आएका छन् ।
यसअघि पनि मापदण्डविपरीत रकम बाँडिएको भन्दै गृहसचिव सापकोटाले फेरि रकम वितरण गर्ने प्रस्ताव तयार गर्न नसकिने अडान लिएका छन् । जसका कारण प्रधानमन्त्री देउवा गृहसचिव सापकोटासँग रुष्ट बनेका छन् ।
मन्त्रीहरूको नियत नै ‘खराब’
मन्त्रालयमा काम गर्ने अधिकृतस्तरदेखि माथिल्लो तहका हरेक कर्मचारी अहिले कामचलाउ मन्त्रीका कारण आजित छन् । बुधवार कृषि विकास मन्त्रालय पुग्दा एक सह–सचिवस्तरका कर्मचारीले आफ्नो पीडा सुनाए, ‘सचिवज्यूले मन्त्रीको दबाब झेल्न उपाय लगाइहाल्नु हुन्छ । हामीलाई त के गर्ने भन्ने पनि थाहा छैन ।’
कृषि विकास मन्त्री रामकृष्ण यादवले सामान्य कुरामा पनि ‘हिस्सा’ खोजेको उनले सुनाए । ‘जिल्ला कृषि विकास कार्यालयको सामान्य काम गर्दा पनि उहाँले आफ्नो स्वार्थ पूरा गर्न खोज्नुहुन्छ,’ ती सह-सचिवले सुनाए, ‘उहाँको यस्तो व्यवहारले काम गर्न धेरै नै गाह्रो भएको छ ।’
अर्थ विकास मन्त्रालयका एक अधिकारीले पनि मन्त्रीहरूको नियत नै गलत भएको बताए । ‘सरकार कामचलाउ भइसकेपछि त मन्त्रीहरूले कार्यालयमा आउने नै हैन । कर्मचारीले आदेश नमान्दा मन्त्रीलाई लाज लाग्नुपर्ने हो,’ उनले भने, ‘तर अहिलेका मन्त्रीले नैतिकता नै गुमाइसकेका छन् । नैतिकता गुमाइसकेका व्यक्तिसँग काम गर्दा कस्तो अप्ठ्यारो हुन्छ, त्यसको कसरी वर्णन गर्नु ?’