
पोखरा, २० माघ– पोखरामा जारी १६ औं संस्करणको आरा रारा गोल्डकपको उपाधि भिडन्त शनिबार हुँदैछ । उपाधिका लागि नेपाल पुलिस क्लव र थ्रीस्टारबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल पोखरा रंगशालामा हुने छ । पुलिस क्लबले सेमिफाइनल खेलमा धरान फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि भिडन्त तय गरेको हो । थ्री स्टारले बुधबार बंगलादेशी क्लब उत्तर बरिधारालाई ५–० को फराकिलो अन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
२०५८ सालको काराभान कपयता यो पुलिसको नवौं फाइनल हुनेछ । पछिल्ला ८ फाइनलमध्ये पुलिसले ५ मा जित हासिल गरेको छ । साहारा क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधि विजेताले ७ लाख रुपैयाँ पुरस्कार हात पर्नेछ ।