काठमाडौं, २१ माघ — दोक्लममा निर्माण कार्य सम्पन्न गरेपछि चीनले अब तिब्बतमा शक्तिप्रदर्शन गर्न थालेको छ । चीनले त्यहाँ फाइटर जेट र जलसेनाका युद्धपोतहरू तैनाथ गरेको छ ।
तिब्बतमा स्थलसेनाबाहेक जनमुक्ति सेनाका एयरफोर्स र नेभीले पनि शक्तिप्रदर्शन गरिरहेका छन् । अघिल्लो वर्षको तुलनामा तिब्बतले फाइटर जेटको तैनाथीमा २० प्रतिशतले वृद्धि भएको छ ।
टाइम्स नाउको रिपोर्टअनुसार हालै आएको जासूसी नोटमा भनिएको छ, ‘विगत तीन हप्तामा फाइटर जेटको संख्या ५१ पुगेको छ । अघिल्लो वर्षभन्दा यो १० विमान बढी हो ।’
ल्हासा–गोङकामा चीनले आठ फाइटर जेट तैनाथ गरेको छ । यसबाहेक एयर मिसाइल सिस्टमसमेत २२ एमआई–१७ हेलिकप्टर लगायत अन्य हतियार पनि तैनाथ छ ।
चीनले भारतसँगको तिब्बती सीमामा जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र पनि तैनाथ गरेको छ ।
यसबाहेक चीनले सिक्किम सेक्टरनजिकको चिनियाँ इलाकामा पनि विमान तैनाथ गरेको छ ।
रिपोर्टमा भनिएको छ, ‘चीनका तर्फबाट तैनाथ गरिएका विमान जाडोभरि यत्ति नै हुन सक्छन् ।’
एजेन्सी