१५ असार २०८३, सोमबार

दुई नम्बरको प्रदेशसभा बैठकमा जे देखियो

माघ २१, २०७४
दुई नम्बरको प्रदेशसभा बैठकमा जे देखियो

जनकपुरधाम, २१ माघ - प्रदेश नम्बर २ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठक सम्पन्न भएको छ । सभामुखको निर्बाचन मिति तोक्नुका साथै बिभिन्न समितिहरू गठन गरी २९ माघ सम्मका लागि बैठक स्थगित भएको छ ।

प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले बोलाएको बैठक निर्धारित समय ११ बजे भन्दा १ घण्टा ढिलो गरी प्रारम्भ भएको थियो । ज्येष्ठ सांसद लगन लाल चौधरीले सभामुखको कार्यभार संचालन गरेका थिए ।

बैठकले २ फागुन २०७४ मा सभामुखको निर्बाचनको लागि मिति निर्धारण गरेको छ । त्यसका लागि कार्यबिधि बमोजिम प्रदेश सभा सचिब बंसीधर पौडेललाई निर्बाचनको कार्यक्रम सूचीसहितको सूचना २९ माघ मा प्रकाशित गर्न सभामुखको भूमिका निर्बाह गरिरहेका ज्येष्ठ सांसद चौधरीले निर्देशन समेत दिएका छन् । 

प्रदेश सभाको पहिलो बैठकले संशोधनसहितको  प्रदेश सभा अंतरिम कार्यबिधि, २०७४ सर्बसम्मतिले पारित गरेको छ । त्यसै गरी सभामुख र उपसभामुखको अनुपस्थितीमा प्रदेश सभा कार्य संचालन कार्यबिधि,२०७४ बमोजिम बैठकको अध्यक्षता गर्न ५ जना सांसदहरूको समिति गठन गरिएको छ । जसमा सांसदहरू सञ्चमाया मोक्तान, नबल किशोर साह सूड़ी, अनिता देवी यादव, शिबचन्द्र चौधरी र मोहम्मद समीर मनोनित गरिएका छन् ।

उक्त मनोनयन सभाको बैठकले सर्बसम्मतिले पारित गरेको छ । त्यसै गरी अन्तरिम कार्यबिधिका लागि पेश हुने बिषय बस्तुको प्राथमिकता निर्धारण, समायाबधि निर्धारण गरी बैठक संचालन गर्न कार्य ब्यबस्था समिति चयन गरिएको छ ।

जसमा सांसदहरू ज्ञानेन्द्र कुमार यादव, योगेन्द्र राय यादव, सुरीता कुमारी साह, मनीष कुमार सुमन, शत्रुघन महतो, प्रमोद कुमार यादव, रामसरोज यादव, शोभा लामा, राम कुमार  यादव, ज्वाला कुमारी साह, साबित्री देवी साह र शेष अब्दुल आजाद रहेका छन् ।

शहीदको फोटो नझुन्ड्याए पछि सांसदहरूको आपत्ति 

 नेपालको राष्ट्रिय गानबाट शुरू भएको पहिलो बैठक सुचारु हुने बित्तिकै ज्ञात अज्ञात शहीदहरू प्रति मौन धारण गरी कार्य सूची अनुसार सभामुख चौधरीले बैठक अगाडि बढाउन लाग्दा शहीदहरूको तस्बीर नाराखिएकोमा राजपा नेपालका सांसदहरूले आपत्ति जनाएका थिए ।

राजपा सांसद मनीष सुमन, परमेश्वर साह र डिम्पल झाले आपत्ति जनाएर बिरोध गरेपछि सभामुख चौधरीले पहिलो बैठकमा त्रुटी भएकाले आगामी बैठकबाट शहीदहरूको तस्बीर झुन्ड्याउन संसद सचिबालयलाई निर्देशन दिए पछि मात्र बैठक सुचारू भएको थियो । 

राजनीतिक दलहरूलाई दिइएको बोल्ने क्रममा नेकपा माओबादी केन्द्रका सांसद भारत साहले जनआन्दोलन, मधेश आन्दोलनका शहीदहरूको मात्र तस्बीर नराखी माओबादी जनयुद्धका क्रममा भएका शहीदहरूको समेत तस्बीर झुन्ड्याउनुपर्ने धारणा राखेका थिए ।  सभामुख चौधरीलाई लोकान्तर प्रतिनिधिले कुन कुन शहीदको फोटो राख्न निर्देशन दिनुभया भनी प्रश्न गर्दा सबै आन्दोलनको शहीदहरूको फोटो झुन्ड्याउन सम्भव नहुने भएकाले नेपाल सरकारले घोषणा गरेका औपचारिक शहीदहरूको फोटो मात्र राख्न सकिने बताए ।

राजनीतिक दलहरूका तर्पmबाट संघीय समाजबादी फोरम नेपालका लालबाबू राउतलाई १४ मिनेटको समय दिईएको थियो । हिन्दी भाषामै बोलेका राउतले मधेश आन्दोलनको उपलब्धीका रुपमा आएको संघीयतालाई संस्थागत गर्न चुनौती रहे पनि यो मधेश प्रदेशलाई नमूना प्रदेशको रूपमा प्रस्तुत गर्न लाग्नु पर्ने धारणा राखेका थिए । सीमित श्रोत साधनका बाबजूद संघीयतालाई स्थापित र सस्टेन गर्न पनि सबै राजनीतिक दल मिल्नु पर्ने राउतको तर्क थियो ।

त्यसै गरी १४ मिनेटको समय पाएका राजपा नेपालका जीतेन्द्र सोनारले पनि हिन्दीमै आफ्नो बिचार राखेका थिए । मधेश आन्दोलनका क्रममा सहादत दिने सहीदहरूको बलिदानीका कारण संघीयता आएको भए पनि मधेशकै कतिपय साथीहरू आन्दोलित रहेको कुरालाई सबैले ध्यान दिनुपर्ने बताएका थिए । राजधानीको लागि बीरगञ्जमा साथीहरूले गरिरहेको आन्दोलन लाई पनि सम्बोधन गरेर जानुपर्ने सोनारले बताएका थिए ।

 नेकपा एमालेको तर्पm बाट सत्य नारायण मण्डल र शत्रुघन महतोले मैथिली भाषामै आफ्नो धारणा राखेका थिए । अब बन्ने प्रदेशको सरकारलाई प्रदेशको गरीबी हटाउन, बिकाश र सम्बृद्धिको  बाटोमा लग्न नेकपा एमालेले रचनात्मक प्रतिपक्षको भूमिका निर्बाह गर्ने मण्डलले बताएका थिए । सवै दलका एक एक जनाले मात्र धारणा राख्ने कार्यतालिका भएपनि एमालेको आन्तरिक विवादका कारण दुई जनाले धारणा राखेका थिए । 

नेपाली कांग्रेसका तर्पm बाट रामसरोज यादवले प्रदेशको सम्बृद्धिका लागि कृषि, सिंचाईमा बढ़ी जोड़ दिनु पर्ने र त्यसका लागि चूरे संरक्षणमा जोड़ दिनु पर्ने बताएका थिए । जारी भएको संबिधानमा संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समाबेशिता लगायत थुप्रै उपलब्धीहरू भए पनि संबिधानलाई सर्बस्वीकृत बनाउन संशोधनको अपरिहार्यता रहेकोले यो प्रदेशबाट संघीय सरकारलाई चाँडो भन्दा चाँडो दबाब दिन राजनीतिक दलहरु एकताबद्ध भएर लाग्नु पर्ने यादवले बताएका थिए । उनले पनि मैथिली भाषामै  बोलेका थिए ।

 माओबादीका सांसद भारत साहले पनि मैथिली भाषामै बोलेर प्रदेश लाई अधिकार सम्पन्न प्रदेश बनाउन सबै एकजुट हुनुपर्ने बताएका थिए । नेपाल संघीय समाजबादी पार्टीका सांसद साबित्री देवी साहले लिखित भाषण पढेका थिए । हिन्दीमै लेखिएको भाषण पढ्न साहलाई धेरै अफ्ट्यारो भैरहेको थियो । 

स्वतन्त्र सांसद शेष अब्दुल कलाम आजादले हिन्दीमै भाषण गरेर कतिपय राजनीतिक दलहरुले समानुपातिक र राष्ट्रीय सभाको निर्बाचनमा दलित र मुस्लिम समुदायसंग भेदभाव गरेकाले त्यस्तो भेदभावको अन्त्य हुनु पर्ने धारणा राखेका थिए ।

आफूखुशी पोशाक 

प्रदेश सभाको बैठकमा गएका सांसदहरूले आफूखुशी पोशाक लगाएका थिए । पोशाकका लागि कुनै बाध्यता थिएन  । कसैले धोती, कुर्ता लगाएका थिए भने कसैले पैजामा कुर्ता र बंडी  । कोई दौरा सुरुवाल र ढाका टोपीमा सज्जिका थिए भने कसैले कोट पाइन्ट लगाएका थिए । मर्यादापालकलाई ढाका टोपी लगाउन कुनै पनि बन्देज गरिएको थिएन ।  कतिपय काठमाण्डौका समाचारमाध्यमले मर्यादापालकलाई ढाका टोपी लगाउन प्रतिबन्ध गरिएको भनेर गलत समाचार प्रकाशित गरेका थिए । 

सुरक्षा ब्यबस्था अत्यन्तै कडा बनाइएको थियो । सर्बसाधारण र पत्रकारहरूलाई सभाहलमा प्रबेश निषेध गरिए पनि पास प्राप्त गरेका केहि बिशिष्ट ब्यक्तिहरू र पत्रकारहरूले प्रबेश पाएका थिए ।  सर्बसाधारणहरूका लागि प्रदेश सभाको परिसर बाहिर सभाको बैठकको प्रत्यक्ष प्रसारणको ब्यबस्था मिलाईएको थियो । प्रदेश सभाको पहिलो बैठक भएका कारण जनकपुरका बिभिन्न ठाउँहरूमा स्वागतद्वार बनाएर सांसदहरुलाई स्वागत गरिएको थियो  ।

salt training

कमेन्ट गर्नुहोस्