
काठमाडौं, २१ माघ — दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतले दोस्रो एकदिवसीयमा नौ विकेटको विजय प्राप्त गरेको छ ।
सेन्चुरियनमा आइतवार सम्पन्न म्याचमा टस जितेर बलिङ गरेको भारतले दक्षिण अफ्रिकाको ब्याटिङ अर्डरलाई तहसनहस पार्दै जम्मा ११८ रनमा अलआउट गरायो । दक्षिण अफ्रिका जम्मा ३२.२ ओभर मात्र टिक्न सक्यो ।
भारतका लागि स्पिनर युज्वेन्द्र चहलले ८.३ ओभरमा जम्मा २२ रन दिएर पाँच विकेट हात पारे । उनले शीर्ष तथा मध्यमक्रमका ब्याट्स्म्यानलाई लगातार आउट गर्दै दक्षिण अफ्रिकालाई जम्न दिएनन् ।
चहललाई कुलदीप यादवलाई तीन अनि भुवनेश्वर कुमार र जस्प्रीत बुमराहले एक एक विकेट लिएर साथ दिए ।
दक्षिण अफ्रिकाका लागि डुमिनी र जोन्दोले समान २५–२५ रन बनाए । हाशिम अमला २३ रन जोड्न सके ।
जवाफमा ब्याटिङ गरेको भारतले रोहित शर्माको मात्र विकेट गुमाएर लक्ष्य हासिल ग–यो ।
शिखर धवनले ५१ तथा कप्तान विराट कोहलीले ४४ रन बनाए ।
डर्बनमा सम्पन्न पहिलो एकदिवसीयमा भारत ६ विकेटले विजयी भएको थियो ।
तेस्रो एकदिवसीय बुधवार केपटाउनमा खेलिनेछ ।