
काठमाडौं, २२ माघ — माल्दिभ्सका राष्ट्रपति अब्दुलला यामीनले राजनीतिक कैदीहरूलाई थुनामुक्त गर्ने सर्वोच्च अदालतको आदेश मान्न अस्वीकार गरेका छन् । त्यसपछि मानिसहरू उनका विरुद्ध सडकमा आएर प्रदर्शन गर्न थालेका छन् ।
सेनालाई सतर्क अवस्थामा राखिएको छ । अब्दुल्लाले सेनालाई आफूलाई पक्राउ गर्ने वा आफूमाथि महाअभियोग लगाउने कुनै पनि आदेश नमान्न आदेश दिएका छन् ।
यसअघि सरकारले सर्वोच्चमा दायर गरेको पुनरवलोकन निवेदन प्रधान न्यायाधीशले खारेज गरिदिए । उनले सर्वोच्चको आदेश सरकारले मान्नैपर्ने बताए । सरकार र सर्वोच्चबीच संघर्षको स्थिति आएको छ ।
अब्दुल्लाविरुद्ध सर्वोच्चमा महाअभियोग लगाउने तयारी गरिएको छ । त्यसपछि महान्यायाधिवक्ताले यसो भएमा सरकारले उसको विरोध गर्ने बताए ।
आफूलाई तथा आफ्ना सहकर्मी न्यायाधीश अली हामिद तथा जुडिसियल एडमिनिस्ट्रेटर हसन सईदलाई अज्ञात व्यक्तिहरूले धम्की दिइरहेको आरोप प्रधान न्यायाधीशले आइतवार लगाए । यसकारण उनले अदालतमा नै रात बिताए ।
सुरक्षाका लागि सेना र प्रहरीले सर्वोच्च अदालतलाई घेरेका थिए ।
बिहीवार सर्वोच्चले पूर्वराष्ट्रपति मोहम्मद नशीदसमेत नौ व्यक्तिविरुद्धको एक मुद्दालाई खारेज गरिदिएको थियो । त्यसपछि कैद गरिएका नेताहरूलाई थुनामुक्त गर्ने आदेश दिइएको थियो ।
नशीद माल्दिभ्सका पहिलो निर्वाचित नेता हुन् । अहिले उनी बेलायतमा निर्वासनमा छन् ।
सरकारले चाहिँ यो आदेश मान्न अस्वीकार गरेपछि माल्दिभ्समा संवैधानिक संकटको स्थिति उत्पन्न भएको छ । नशीद समर्थकहरूले भारतलाई हस्तक्षेप गर्न आग्रह गरिरहेका छन् ।
एजेन्सी