
काठमाडौं, २२ माघ– भारतको उत्तराखण्डस्थित एक गाउँमा बाख्राको हिन्दु परम्परा अनुसार धुमधामसँग विवाह भएको छ । भारतमा यो पहिलो स्वयंवर भएको बताइएको छ ।
उत्तराखण्डको टिहरी जिल्लास्थित पतवाडी गाउँमा बाख्राको विवाह भएको हो । उक्त स्वयंवर समारोहमा सोही गाउँ तथा आसपासका विभिन्न गाउँका बाख्राहरुलाई ल्याइएको थियो ।
बाख्राहरुलाई राम्रा राम्रा पहिरनमा सजाएर स्वयंवर गराइएको थियो । बाख्राको नाम पनि दिपिका, प्रियंका, करीना, कंगना, श्रद्धा तथा कटरिनाजस्ता हिरोइनको नामबाट राखिएको थियो ।
त्यहाँ दिपिकाले आफ्नो जीवनसाथीको रुपमा वैशाखू नामको बोका प्राप्त गरेकी थिइ । त्यस्तै बाख्रा विवाह समारोहमा प्रियंका र टुकनु तथा कटरिना र चन्दूबीच बिहे भयो । बाख्रा ग्राम र ग्रिन पिपुल किसान विकास समितिले उक्त बाख्रा बिहे कार्यक्रमको आयोजना गरेका हुन् ।
उक्त समारोहमा ल्याइएका बाख्रा तथा बोकाहरुलाई एकसाथ छाडिएको थियो । त्यसक्रममा जुन बाख्रा र बोकाबीच सम्बन्ध कायम भएर नजिक हुन्थे, ती दुईबीच विवाह गराइन्थ्यो ।