
काठमाडौं, २२ माघ — वैज्ञानिकहरू आजकल एउटा जीवमा ध्यान केन्द्रित गरिरहेका छन् । उक्त जीवका अंग मरेर फेरि जन्मिने बताइन्छ ।
मेक्सिकन एक्सोलोटल नामक यो जीव मेक्सिकोका तालहरूमा पाइन्छ । पानीबाहेक यो जमीनमा पनि बस्न सक्छ । छेपारोजस्तो देखिने यो जीव अंगहरू नष्ट भएपछि पनि तिनलाई फेरि उमार्ने असाधारण शक्तिका लागि प्रसिद्ध छ ।
यो जीवको कुनै अंग रहेन भने पनि एक हप्ताभित्र नै यसले हाड, नसा र मासुका साथ त्यस अंगलाई फेरि त्यही ठाउँमा उमार्न सक्छ ।
वैज्ञानिकहरूका अनुसार, एक्सोलोटलले मेरुदण्डको हाडमा लागेको चोटलाई पनि सही पार्न सक्छ र हाड भाँचिएको छैन भने सामान्य तरिकाले काम गर्न पनि सक्छ ।
घाउको निशान नछोडिकनै यसले रेटिनालाई पनि ठीक पार्न सक्छ ।
यो जीव लोप हुने खतरा पनि छ तर वैज्ञानिकहरूले यो सजिलै प्रजनन गर्नसक्ने मान्यता राखेका छन् ।
त्यसैले विगत १५० वर्षदेखि वैज्ञानिकहरूले प्रयोगशालामा यस जीवलाई उन्नत बनाउनका लागि काम गरिरहेका छन् अनि यसका असाधारण जैविक क्रियाहरूलाई पत्ता लगाइरहेका छन् ।
वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले एक्सोलोटलको अर्को रहस्य पनि पत्ता लगाएका छन् । यस जीवमा मनुष्यको भन्दा ठूलो जीन समूह पाइएको छ ।
जीवमा ३२ हजार मिलियन डीएनए बेस छ । मनुष्यको तुलनामा यो दशगुणा बढी हो ।
नेचर पत्रिकामा प्रकाशित अध्ययनअनुसार, ‘यो खोज अंगहरूको पुनर्जन्ममाथि गहिराइमा पुगेर अध्ययन गर्नेहरूका लागि महत्त्वपूर्ण साबित हुनेछ ।’
वैज्ञानिकहरूले अंगहरूको पुनर्जन्म प्रक्रियाका लागि जिम्मेवार कोशिकाहरूको पहिचान गरिसकेका छन् ।
तर पुनर्जन्म प्रक्रियालाई विस्तारपूर्वक बुझ्नका लागि अनुसन्धानकर्ताहरूले यस उभयचर जीवको जीनोमसँग जोडिएका जानकारी हासिल गर्नु जरूरी हुन्छ ।
यस जीवको जीनोम संख्या ३२ हजार मिलियन जोडी भएका कारण जानकारी हासिल गर्न गाह्रो भएको छ ।
बीबीसी हिन्दीबाट