२२ असार २०८३, सोमबार

यी योगासनहरूमार्फत कपाल फुल्ने र झर्ने समस्या समाधान गर्नुस्

यी योगासनहरूमार्फत कपाल फुल्ने र झर्ने समस्या समाधान गर्नुस्

काठमाडौं, २२ माघ — कपाल झर्ने र समयअगावै सेतो हुने समस्या आजकल चर्किंदै गएको छ । युवाहरूमा पनि यो समस्या बढ्दो छ । खानपानको गलत बानी, प्रदूषण र तनावका कारण कपाल फुल्ने र झर्ने समस्या आउँछ । आफ्नो कपालको यस्तो अवस्था कसैलाई मन पर्दैन । 

तपाईं पनि कपाल बलियो र सुन्दर होस् भन्ने चाहनुहुन्छ भने योगको सहारा लिनुस् । योग र ध्यानमार्फत कपालको समस्या मात्र नभई शारीरिक विकार पनि हटाउन सकिन्छ अनि मानसिक तनाव, भोक नलाग्ने र चिन्ताबाट मुक्ति पनि यसबाट प्राप्त हुन्छ । विशेष आसनहरू यी हुन् :

सर्वांगासन
यो आसन गर्दा रक्तशुद्धि हुन्छ र पाचन क्रिया पनि गतिलो हुन थाल्छ जसको असर कपालको स्वास्थ्यमा पर्छ । कपाल झर्नुको साटो बलियो हुन थाल्छ । 

अधोमुख शवासन
यस मुद्रामा कुकुरजसरी झुक्दा शिरमा रक्तसञ्चार हुन्छ र यो आसन गर्दा साइनस र रुघाको समस्याबाट पनि मुक्ति पाइन्छ । अनि मस्तिष्कको थकान हटेर अवसाद र अनिद्राबाट मुक्ति पनि पाइन्छ । 

उत्थान आसन
यस आसनमा उभिएर अघिल्तिर झुक्दा कपालको स्वास्थ्य राम्रो हुन्छ अनि थकाइ र कमजोरी पनि हट्छ । पाचनलाई सही राख्नुबाहेक यो आसनले रजोनिवृत्तिमा पनि राहत दिन्छ । 

पवनमुक्तासन
यो आसन गर्दा कपालका साथसाथै कम्मरमुनिको भागको मांसपेशी पनि बलियो हुन्छ । यसले पाचनशक्ति पनि राम्रो गराउँछ अनि पेट र नितम्बको बोसो पनि हटाउँछ र ग्यासको समस्या पनि कम हुन थाल्छ । 

वज्रासन
खाना खाएपछि केही बेर वज्रासनमा बस्दा पाचनसम्बन्धी समस्या हट्न थाल्छन् र कपाल पनि झर्न छोड्छ । पेटसम्बन्धी समस्याले पनि कपाललाई कमजोर बनाएर झार्न योगदान गर्छ । यो आसनले तौल पनि कम गर्छ र सुन्निएको पनि ठीक पार्छ । 

कपालभाती
यो प्राणायाम गर्दा मस्तिष्कले प्रचुर अक्सिजन पाउँछ । शरीरबाट विषाक्त तत्त्व निकाल्दा कपालको स्वास्थ्य पनि राम्रो हुन्छ । 

भस्त्रिका
यो प्राणायामले शरीरमा भएको अतिरिक्त वायु बाहिर निकालेर कफ र पित्त हटाउँछ । अनि यसले शरीर तथा तन्त्रिकालाई पनि शुद्ध पार्छ । स्वस्थ शरीरमा कपालको सुस्वास्थ्य स्वाभाविक हुन्छ । 

शीर्षासन
कपालका लागि शीर्षासन सबभन्दा राम्रो उपाय हो । यसले मस्तिष्कमा रक्तप्रवाह बढ्छ र दिमाग सक्रिय हुन्छ । तनाव र चिन्ता हट्छ अनि कपाल कालो र बलियो हुन थाल्छ र झर्न छोड्छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्