
काठमाडौं, २३ माघ — स्टक मार्केट अर्थात् शेयर बजार आकाशिँदा दंग पर्नु खतरनाक साबित हुन सक्छ त्यसैले धेरैजसो अमेरिकी राष्ट्रपतिहरू यसो गर्दैनन् ।
बाराक ओबामाले आफ्नो कार्यकालमा कहिलेकाहीँ फुर्किने काम गरेका थिए । त्यतिखेर अमेरिकी अर्थव्यवस्था सन् २००८ को बर्बादीपछि सम्हालिँदै थियो ।
डोनल्ड ट्रम्पले आफ्नो निर्वाचन अभियानका बेलामा शेयर बजार डाउ जोन्सको आलोचना गरेका थिए तर अहिले उनी शेयर बजारको प्रशंसा गरिरहन्छन् ।
ट्रम्पले आफ्ना भाषणहरूमा करकटौतीका कारण हुने फाइदालाई बढाइचढाइकन प्रस्तुत गर्ने गरेका छन् । अहिले शेयर बजार ओरालो लाग्दा उनको छवि धमिलो भएको छ ।
अमेरिकामा शेयर मूल्यमा ११ सयभन्दा बढीको गिरावट सन् २००८ को आर्थिक मन्दीपछिको सबभन्दा ठूलो गिरावट हो ।
डाउ जोन्स ४.६ प्रतिशतको गिरावटका सोमवार २४ हजार ३४५.७५ अंकमा बन्द भयो । एस एन्ड पी ५०० स्टक इन्डेक्स ३.८ प्रतिशत र नेस्डेक ३.७ प्रतिशत गिरावट आएर बन्द भयो ।
अमेरिकी शेयर बजारमा गिरावट हुँदा त्यसको असर एसियाली बजारमा पनि परेको छ ।
ह्वाइट हाउसका एक प्रवक्ताले स्टक मार्केटमा समय समयमा गिरावट हुने गरेको छ तर राष्ट्रपति ट्रम्पको ध्यान अर्थव्यवस्थाको दीर्घकालीन पक्षमा छ र त्यो असाधारण रूपमा बलियो भएको छ ।
ट्रम्पले देशको अर्थव्यवस्था आधारभूत रूपमा अहिले पनि बलियो भएको बताउलान् । हुन त मानिसहरूको तलब बढेको छ र बेरोजगारी घटेको छ ।
विकासको गति बढिरहँदा ट्रम्पले त्यसलाई आफ्नो सफलताका रूपमा प्रस्तुत गर्न सक्छन् ।
निर्वाचन हुने वर्षमा यसरी डाउ जोन्स ओरालो लाग्दा मार्केट करेक्सनको आरम्भ पनि बुझियो भने ट्रम्पले भनेका कुराहरू उनकै लागि चिन्ताको रूपमा फर्किने कुरामा कुनै शंका छैन ।
बीबीसी हिन्दीबाट