
- हरिप्रसाद अधिकारी
२००६ सालमा स्थापना भएको नेपालका कम्युनिष्ट पार्टीको इतिहास करिब ६६ वर्ष पुरानो छ । आमूल राजनीतिक परिवर्तनका लागि २०७४ साल विशेष महत्त्वको वर्ष सावित हुँदैछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल गरी चुनावी प्रतिस्पर्धामा उत्रिँदा अधिकांश प्रदेशमा दुई तिहाइ र प्रतिनिधिसभामा स्पष्ट बहुमत ल्याई समाजवादी व्यवस्थाको बिजारोपण हुन थालेको आभास हुँदैछ ।
पार्टी एकीकरण हुने/नहुने ? विचार के हुने ? कार्यकर्ता व्यवस्थापन कसरी गर्ने ? खासगरी पार्टीका दोस्रो तहका नेतादेखि दुवैतर्फका कार्यकर्तामा चिन्ता देखिन्छ । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी खास गरी २०२८ जेठमा झापाको ज्यामिरगढीबाट ‘वर्गशत्रु खत्तम अभियान’बाट नेकपा एमालेको संस्थागत रूपमा विकास भएको मान्न सकिन्छ ।
त्यही कम्युनिष्ट पार्टी हाल मुलुकको ठूलो दलकोरूपमा दर्ज भएको छ । यसले २०४८ पछि पटक–पटक राजकीय, शासकीय दलको रूपमा परिचय बनाएको छ । खासगरी जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मानी क्रियाशिल रहेको अवस्थामा हालको हैसियत प्राप्त भएको हो । आजसम्मको सबै उपलब्धि भनेकै जबजको मान्यता भएको स्वीकार गर्दै अब पूँजीको विकास गर्दै समाजवादी व्यवस्थाका लागि अबको समयलाई उपयोग गर्ने नीति अंगिकार गरेको छ ।
उता २०३१ सालमा भारतस्थित श्रीकृष्ण धर्मशालामा चौंथो महाधिवेशनबाट मोहनविक्रम सिंह महासचिव निर्वाचित भई स्थापना भएको नेकपा माओवादीले संस्थागत रूपमा २०५२ साल फाल्गुन १ देखि शसस्त्र युद्धको थालनी गरी हाल नेकपा माओवादी केन्द्रको रूपमा थापित छ ।
बहुदलीय प्रतिस्पर्धालाई उपयोग गरी माओ विचार, प्रचण्डपथजस्ता विचारको अभ्यास गर्दै माओवाद विचारधारालाई आधार बनाई अघि बढको अवस्था उसले लिएका पटक–पटकका नीतिका कारण माओवादी फुटको रोगबाटसमेत ग्रस्त बनिसकेको छ । अहिले एमाले र माओवादीको विचार नीतिको समिक्षा गर्दै विचार तय गर्न तयार भएको पार्टीको रूपमा देखिएको छ ।
विभिन्न खाले आन्दोलन तथा क्रान्तिको संश्लेषण गर्दै २०७४ सालको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वाम एकताको रूपमा नेकपा एमाले र माओवादी केन्द्र पार्टीबीच २०७४ असोज १७ गते भविष्यमा पार्टी एकता गर्ने लक्ष्यसहित चुनावी तालमेल गरी स्पष्ट बहुमतसहति सरकार बनाउने तयारीमा पुगेका छन् । प्राप्त अवसरलाई कसरी उपयोग गर्ने यसैमा अबको शासन व्यवस्थाको भविष्य देखिन्छ ।
पार्टी एकीकरणका सन्दर्भमा विभिन्न खाले बहसले बजार लिएको छ । मुख्य रूपमा पार्टी एकीकरणका लागि कार्यकर्ता व्यवस्थापन, पार्टी नीति, विचार धारा, पार्टीभित्रको सम्मानजनक हैसियत र संसदीय फाँटमा सहभागिताको प्रश्नहरू देखिएका छन् ।
यसका लागि उचित विधि अबलम्बन गर्न जरुरी देखिन्छ । यसमा पार्टीभित्र ब्यापक बहस र छलफल गरिनुपर्दछ । यसबाट अबको नेतृत्व र लिने अर्थनीतिले समाजवादको लक्ष्य प्राप्ति गर्न सहज बनाउन योगदान दिन्छ ।
आर्थिक समृद्धि र विकासका नाममा नागरिकले अनुभूत गर्ने समाजवादी व्यवस्थाका लागि मुख्य अर्थ नीति, जनमुखी नीति तथा कार्यक्रम तय गर्न आवश्यक देखिन्छ । यसबाट नेपालमा रोजगारीका अवसर सिर्जना, गरिबी अन्त्य भई देश विकासको ढोका खुल्नेछ ।
नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकीकरण गर्नुपर्ने अनिवार्य शर्त बनेको छ । प्राप्त जनमत पछाडि यो एक महत्पूर्ण कारक हो । यसबाट पछाडि फर्किने अवस्था छैन । वामपन्थी शक्तिहरू पटक–पटक टुटफुटले समग्र कम्युनिष्ट शक्तिको प्रभाव स्थापित हुन सकेन ।
देशमा विकासको गति पनि कम नै रह्यो । यसकारण जनमतको कदर, स्थायी सरकार, दिगो विकास, अर्थपूर्ण शान्ति र गरिबी अन्त्यका लागि पार्टी एकीकरण जरुरी छ ।
अब केही नेताले चाहेर वा नचाहेर पार्टी एकता हुने र नहुने होइन । दुबै पार्टीका उच्चस्तरका नेताहरूले एकपटक विगतको प्रतिबद्धतालाई कार्यान्वयन ल्याउन आवश्यक छ । यसले पार्टी र नेताहरूको भविष्यको पनि फैसला गर्ने अड्कल काटन सकिन्छ ।
एमाले तथा माओवादी केन्द्रका कार्यकर्ता व्यवस्थापन, संगठन समायोजन र विचारधारामा एकरूपता कायम हुनका लागि तपसिलका विधि अबलम्बन गर्न जरुरी देखिन्छ । जसका कारण नेपालमा वाम शासनको भविष्य र असल राजनीति पार्टीको परिचय बनाउन योगदान गर्ने देखिन्छ ।
विचारधारा
माक्र्सवादी, लेलिनवादी विचारधारालाई आधार बनाएर जनताको बहुदलीय जनवादको समीक्षा गर्दै समाजवादी व्यवस्थाको लक्ष्य लिन आवश्यक छ । परिवर्तित परिवेशको नेतृत्व प्रदान गर्ने आर्थिक समृद्धि र विकासलाई समृद्ध बनाउन मुख्य कार्ययोजना बनाउन आवश्यक छ ।
बहुदलीय शासन ब्यवस्था, जनताबाट निर्वाचित जनप्रनिधिहरू, मागमा आधारित विकास योजना तथा सुशासन अपरिहार्य शर्तसहितका मूल्य मान्यता अबलम्बन गर्न आवश्यक छ । समाजवादी व्यवस्थाका लागि अबको समयसापेक्ष र दुवै पार्टीले लिएको मार्गदर्शक सिद्धान्तलाई पुनर्लेखन गरी सफलताको मान्यता स्थापित गरेको सिद्धान्तमा एकरूपता कायम गरिनु आवश्यक छ ।
संगठन समायोजन
अध्यक्षतात्मक प्रणाली अबलम्बन, दुवै पार्टीका हरेक कमिटी समायोजन गर्ने र यसो गर्दा उसको उपस्थिति, निर्माण गरिएका स्थानीय तहसम्मका कमिटीहरूको संख्या र हैसियतलाई ख्याल गर्दै निश्चित प्रतिशतलाई आधार मानेर समायोजन गर्ने अनि अब हुने अधिवेशन र महाधिवेशनबाट आउने नेतृत्वलाई सर्वसम्बत स्वीकार गर्ने सहमति गर्न आवश्यक छ । केहीसमय कार्यकर्ता समायोजनका लागि केही आधार तय गरेर अधिवेशन र महाधिवेशनको मिति तोकिनुपर्दछ ।
संगठनभित्र कार्यकर्ताबीच प्रभावकारी एकता कायम गर्न जिम्मेवारी बाँडफाँटमा ध्यान दिइनुपर्छ । खासगरी अब बन्ने पार्टीले तुलनात्मक रूपमा नेपालको सबैभन्दा ठुलो र शक्तिशाली शासकीय पार्टीका रूपमा हैसियत प्राप्त गर्ने छ । यसलाई भविष्यसम्म व्यवस्थित बनाउने उपाय खोज्नै पर्दछ । जसका लागि भइरहेका पार्टी संगठनहरूलाई सम्मानजनक हैसियतका लागि प्रोत्साहन सिद्धान्त अबलम्बन गर्न जरुरी छ ।
कार्यकर्ता व्यवस्थापन
नेकपा माआवादी केन्द्रका ४ हजार बढी केन्द्रिय नेताहरू हैसियतमा छन्, भने नेकपा एमालेका २०० हाराहारी केन्द्रीय सदस्य छन् । माथिदेखि तल्लो कमिटीमा बसेका सबैको व्यवस्थापन मुख्य चुनौतिका रूपमा देखिएको छ । सर्वहारा वर्गको प्रतिनिधिपात्रको पहिचान बनाएका नेपालका कम्युनिष्टहरूका कार्यकर्तालाई उचित क्षमता, योग्यता तथा अनुभवका आधारमा व्यवस्थापन गर्न जरुरी छ । जसका लागि निश्चित सिद्धान्त, विधि र मापदण्ड बनाउन जरुरी छ । जसका कारण भविष्यमा पार्टीलाई बलियो आधारका रूपमा विकास गर्न सकिन्छ ।
क) पार्टी कमिटी :अब पार्टी कार्यकर्ताको रोजाइका आधारमा पार्टी कमिटीको जिम्मेवारी दिनुपर्दछ । बहुदलीय शासन व्यवस्था उपयोग गरी प्राप्त शासकीय हैसियत भएको पार्टी भएकोले नेता कार्यकर्तालाई पार्टी कमिटी, संसदीय फॉट, अन्य राजनीतिक नियुक्ति तथा कार्यपालिका कता जाने रोजाइका आधारमा जिम्मेवारी दिनुपर्दछ, न कि एकव्यक्ति अनेकौँ पद । पार्टी सञ्चालन गर्ने अलग जिम्मेवारी र संरचना निर्माण गरिनुपर्दछ ।
ख) संसदीय फाँट :संसदीय फाँटमा जाने नेता कार्यकर्तालाई अन्य कुनै पनि क्षेत्रमा निषेध गरिनुपर्दछ । उसले देशको कानून कस्तो बनाउने, कानूनी शासन कसरी स्थापन गर्न सकिन्छ भन्ने क्षेत्रमा जिम्मेवारी दिनु पर्दछ । यस क्षेत्रमा जानेलाई पार्टीका अन्य निकाय र संरचनामा रोकिनुपर्छ, भने देशलाई कानूनी राज्यको अनुभूतिका लागि सांसदको महत्तवलाई दर्शाउनु जरुरी छ ।
ग) कार्यपालिका क्षेत्र :संसदीय फाँट र कार्यपालिकामा जाने व्यक्ति संसदबाट नभई विज्ञताको आधारमा विशिष्ट क्षेत्र पहिचान गरी योग्यलाई छान्नुपर्छ । पार्टीभित्र भएका विभिन्न भ्रातृ संगठन, जनवर्गीय संगठन, पेशागत संगठन, विश्व विद्यालयबाट विज्ञता प्राप्त गरेका योग्य व्यक्तिबाट कार्यपालिका सञ्चालन गर्नुपर्दछ । तर प्रधानमन्त्री भने निर्वाचितबाट छनोटको विधि बनाउनु पर्दछ ।
निर्वाचितबाट मन्त्री नबनाउने विधि बनाउनु पर्दछ, यसले कार्यकर्ताको व्यवस्थापन र विज्ञताको सम्मान भई देश विकासमा नयाँपन ल्याउन सहयोग गर्छ । यस कारण अब हरेकको परिचय अलग–अलग हुन सकेमा समान अवसरको पहुँच भई क्रियाशिल र इमान्दारिताको मापन हुने र पार्टी चाकरीवाद, भनसुन, गुटगत प्रवृत्तिको अन्त्य भई क्षमता, योग्यता, अनुभव तथा क्रियाशिलताको सम्मान हुन जान्छ ।
घ) राजनीति नियुक्ति : विभिन्न आयोग नियोग तथा निकायमा नियुक्ति भई कार्य गर्ने नेता कार्यकर्ताका लागि सोही क्षेत्रमा ब्यवस्थित गर्न आवश्यक छ । एकव्यक्ति हरेक क्षेत्रमा जाने पहुँचका आधारमा पहिचान बनाउने, पहुँचविहिन इमान्दार नेता कार्यकर्ताले कहिल्यै अवसर नपाउने व्यवस्थालाई आगामी दिनमा सुधार गर्न योग्यता, पार्टी अनुभव र संलग्नतालाई आधार बनाएर नियुक्ति गर्न सके कार्यकर्ता व्यवस्थापनमा सहज हुनेछ ।
यसरी एकीकरणपछिको ठूलो तथा सत्ताधारी पार्टीको संगठन व्यवस्थापनका लागि निश्चित मापदण्ड र विधि अबलम्बन गर्न आवश्यक छ । हरेक क्षेत्रको पहिचान गरी पार्टी नेता, कार्यकर्ता र पेशागत संघ संगठन, भ्रातृ तथा जनवर्गीय संगठनका व्यक्तिहरूलाई योगदान, क्षमता, योग्यता, अनुभव तथा क्रियाशिलताका आधारमा आगामी दिनमा जिम्मेवारी दिइनुपर्दछ ।
यसरी अबको पार्टी एकीकरण र कार्यकर्ता व्यवस्थापनको विधि अबलम्बन गर्न सके पार्टीलाई लामो समयसम्म गुटबन्दी कम गर्न सकिन्छ । नेपालको संविधानअनुसार विकास, समृद्धि र व्यवस्था गरिएका अधिकारको कार्यन्वयन गर्न पार्टीले नेतृत्व लिन सक्छ । नेपालमा लामो समयसम्म स्थिर शासन व्यवस्था स्थापना हुनेछ । यसले देश विकासमा ठूलो योगदान मिल्नेछ । साथै देशमा पार्टी टुुटफुटको अन्त्य हुने छ, समान अवसर प्राप्तिको आधार तय हुनेछ । राजनीतिभित्र शासकीय वस्तु पाउनैका लागि हुने राजनीतिक फोहोरी खेलको अन्त्य हुनेछ ।
कार्यकर्ता व्यवस्थापनको विधि प्रयोग गर्न सके स्थिर शासन व्यवस्था स्थापना भई सम्मुनत राज्य निर्माण भई नागरिकको जीवनमा समृद्धिको अवसर प्राप्त हुनेछ भने राजनीतिलाई समाजले बुझ्ने धारणा सकारात्मक हुँदै जानेछ । लोकतान्त्रिक गणतन्त्रकोे संस्थागत विकासका लागि दुई ठूला वाम पार्टीको एकताले स्थिर शासन प्रणालीको विकास हुने पक्का छ । यसका लागि आ–आफना हठबाट पछि हट्दै राष्ट्रियताका लागि निर्वाचनताका गरिएको वाम एकता अब देश विकासका लागि पार्टी एकीकरण अनिवार्य देखिन्छ ।
(लेखक नेकपा एमाले सुर्खेतका सचिवालय सदस्य हुन् ।)