२५ जेठ २०८३, सोमबार

वीर अस्पतालअगाडि औषधिको ‘हाटबजार’ : बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड

वीर अस्पतालअगाडि औषधिको ‘हाटबजार’ : बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड

काठमाडौं, २५माघ–नेपालकै जेठो वीर अस्पतालको आकस्मिक कक्षको प्रवेशद्वार अगाडि ठूलो होडिङ बोडमा एक फार्मेसीको प्रचार गरिएको छ । आरफ फार्मेसीको होडिङबोडमा लेखिएका सेवाका अक्षरहरु आकर्षक देखिन्छन् । आरफ अगाडिबाट होडिङबोड आकर्षक देखिए पनि टहरामा संचालन गरिएको महंगो फार्मेसीका औषधि भने भुइँमा असरल्ल देखिन्छन् । 

बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने जटिल रोगका औषधिहरु फार्मेसीको पछाडिपट्टि खुल्ला जमिनमा अव्यवस्थित रुपमा राखिएको छ । बुधवार लोकान्तरकर्मी वीर अस्पताल पुग्दा फार्मेसीका एकजना कर्मचारी च्यातिन लागेको पुरानो त्रिपालले खुल्ला ठाउँमा रहेको औषधि र स्लाइनहरु ढाकछोप गर्दै थिए । 

फार्मेसीले घाम र पानीबाट जोगिने गरी सुरक्षित भण्डारण गर्ने कक्ष बनाएर औषधिहरु राख्नुपर्ने सरकारी मापदण्ड छ । तर यो फार्मेसीमा औषधि र स्लाइनहरु लथालिङ्ग तरिकाले राखिएको देखिन्छ । 

वीर अस्पतालमा उपचारको लागि आउने अधिकांश बिरामीले यस्तै फार्मेसीको औषधि प्रयोग गर्छन् । औषधि लिन फार्मेसीमा आउने विरामीलाई फार्मेसीकै फर्मासिस्टहरुले घाम र पानीबाट औषधिलाई जोगाउँनु भन्दै सुझाव दिन्छन् । तर उनीहरुले आफंैले भने औषधिलाई वेबारिशे ढंगले राखेका छन् । 

 

औषधि बेच्ने फर्मासिस्टहरुलाई औषधि र स्लाइनहरुलाई घाम पानीबाट जोगाउन पर्छ र औषधिको व्यवस्थित तरिकाले भण्डारण गर्नुपर्छ भन्ने राम्रो ज्ञान छ । तर औषधि भने पुरानो त्रिपालमुनि छन् ।

काठमाडौंका अन्य अस्पताल अगाडि सञ्चालनमा रहेका फार्मेसीको हालत पनि उस्तै छ । आरफ फार्मेसीमा कार्यरत कर्मचारीहरु औषधि भण्डारको अवस्था देख्दा आफुलाई पनि अप्ठ्यारो लाग्ने बताउँछन् ।

औषधि र स्लाइनलाई सफा स्थानमा राम्रोसँग भण्डार नगर्दा त्यसको प्रभाव कम हुने भएपनि फार्मेसीले सुरक्षित भण्डारणमा उचित ध्यान नदिएको फार्मेसीका एक कर्मचारीले लोकान्तरलाई बताए । 

‘औषधि र स्लाइनहरु घामपानीबाट जोगाएर व्यवस्थित सँग राख्नुपर्छ । जथाभावी रुपमा राखियो भने यसले पनि काम गर्दैन भन्ने त थाहा छ । आफैलाई लाज लाग्छ, यहाँ सबैकुरा व्यवस्थित छैन,’ उनले लोकान्तरसँग भने, ‘हामीले फार्मेसी संचालकलाई त भनेका छौं औषधि र स्लाइनहरु खुल्ला ठाउँमा राख्दा विग्रन्छ भनेर । तर खै अस्पतालको कमजोरी हो कि संचालकको लापरबाहिले गर्दा हो औषधिको भण्डार गर्ने ठाउँ नै बनाइएको छैन ।’ 

वीर अस्पतालको जग्गा र भवनमा रहेको यो फार्मेसी संचालनमा आएको सात वर्ष भइसकेको छ । अस्पतालले टेण्डर आब्हान गरेर  त्यहा फार्मेसी संचालन गर्ने अनुमति दिएको हो । भूकम्पले भवन भत्किएर औषधिको भण्डार कक्ष भनिए पनि आरफको संचालक नारायण प्रसाद ढुंगानासँग मासिक आठलाख रकम लिएर फार्मेसी संचालन गर्न दिएको छ ।

अस्पताललाई मासिक आठ लाख रकम बुझाउने फार्मेसी संचालक ढुंगानाको ध्यान औषधिको व्यपारमा मात्रै छ । अव्यवस्थित रुपमा रहेको औषधिलाई उचित भण्डारण गर्ने उनको सोच नै छैन ।

खुल्ला ठाउँमा औषधि र स्लाइन राख्दा विग्रदैन ? किन व्यवस्थित तरिकाले भण्डार नगर्नुभएको ? भन्ने लोकान्तरको प्रश्नमा संचालक ढुंगानाले भने, ‘चर्को घाम लाग्दा र पानी पर्दा त्रिपालले छोप्छौं ।  दिनमा ३०, ३५ काटुन स्लाइन व्यपार हुन्छ । धेरै समय राख्नु पर्दैन त्यसैले विग्रदैन । भारतको बैंगलुरदेखि आउँने स्लाइन र औषधिहरु विग्रने भए त बाटोमा पनि विग्रिन्थ्यो होला नि !’

औषधिको व्यवस्थित भण्डार गर्ने ठाउँ नै नभएको भवनमा अस्पतालले टेन्टरबाट आफुहरुलाई संचालन गर्न दिएको भन्दै फार्मेसी सञ्चालकले अस्पाताले जस्तो ठाउँ दियो त्यस्तैमा औषधि व्यापर गर्दै आएको बताउछन् । 

घाम, पानी र ओसिलोबाट जोगाउन पर्ने औषधि र स्लाइन खुल्ला ठाउँमा राखेर विक्री हुँदा पनि सरोकारवाला निकाय भने आँखा चिम्लिएर बसेको छ ।

salt training

कमेन्ट गर्नुहोस्