काठमाडौं, २६ मंसिर — हालै निधन भएकी भारतीय राज्य तमिलनाडुकी मुख्यमन्त्री जयललिताको अकूत सम्पत्ति थियो । आयभन्दा अधिक सम्पत्ति राखेको अभियोगमा उनीमाथि मुद्दा चलेको थियो तर अब उनको निधनपछि यो केस सकिएको छ ।

मुद्दा चल्दाखेरी जफत गरिएको उनको निजी सम्पत्ति अहिलेपनि कर्नाटकको अदालतमा छ । उनको दश हजार पाँच सय सारी, ७५० जोडी चप्पल र ५०० रक्सी पिउने गिलास समावेश छन् । अदालतमा रहेका यी चीजलाई के गर्ने भन्ने प्रश्न उठ्न थालेको छ ।
जयललिताको पार्टी एआईडीएमकेका वरिष्ठ नेताहरूका अनुसार सर्वोच्च अदालतले यी वस्तुहरू छिट्टै पार्टीलाई सुम्पिनेछ । पार्टीले यी वस्तुहरू अम्माको यादमा बन्ने संग्रहालयमा राख्नेछ ।
सर्वोच्चको फैसला सन् २०१७ को जुन महिनामा आउने अपेक्षा गरिएको छ । यस मामिलामा एकभन्दा बढी आरोपीहरू छन् । त्यसैले यसमाथि सुनुवाई जारी रहन्छ । अदालतले जयललितालाई दोषी भेट्यो भने यी सबै वस्तु तमिलनाडु सरकारले पाउनेछ । उनी निर्दोष भेटिइन् भने अम्माका उत्तराधिकारीहरूलाई अदालतले यी कुरा सुम्पिनेछन् ।
जयललिताको सम्पत्तिलाई सन् १९९६ मा आयकर विभागले जफत गरेको थियो । यसमा २१ किलो सुनका गहना र १२५० किलो चाँदीका सामान छन् । यी सबैको मूल्य लगभग सात करोड भारु आँकिएको छ । यो सम्पत्तिलाई चारजना प्रहरीले दिनरात पहरा दिन्छन् ।