१० असार २०८३, बुधबार

नेपाल र भारतबीच पहिलो सुपुर्दगी, ‘ज्यानमारा’ मुखिया काठमाडौंमा

नेपाल र भारतबीच पहिलो सुपुर्दगी,   ‘ज्यानमारा’ मुखिया काठमाडौंमा

काठमाडौं, २६ माघ– नेपाल र भारतबीच सन् १९५० मा भएको ‘शान्ति तथा मैत्री सन्धी’ पश्चात पहिलोपटक भारतले नेपाललाई बैध रुपमा अपराधी ‘सुपुर्दगी’ गरेको छ । 

काठमाडौंको ठमेलस्थित एक डिस्कोमा १८ कात्तिक २०५८ सालमा भएको एक हत्याकाण्डमा संलग्न आतिनी भनिने मुखिया गुरुङलाई पक्राउ गरी भारतले नेपाललाई बुझाएको हो । 

उनी गत वर्ष सन् २०१७ को डिसेम्बर ८ मा भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेसिया जाने क्रममा पक्राउ परेका थिए । 

कर्तब्य जान मुद्दामा दोषी ठहर भएका गुरुङलाई अदालतले १ पुस २०६४ मा जन्मकैदको सजाय सुनाएको थियो । शुक्रवार काठमाडौं ल्याइएका उनलाई आइतवार जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ ।

सन् १९५० को सन्धीको भावनाअनुसार भारतले नेपाललाई अपराधी सुपुर्दगी गरेको नेपाल प्रहरीका एक अधिकारीले बताए । 

गुरुङलाई दिल्लीको पटियामा अदालतको आदेशअनुसार भारतको विदेश मन्त्रालयले नेपाल प्रहरीलाई बुझाएको हो ।

नेपाल र भारतबीच छुट्टै सुपुर्दगी सन्धी भने भएको छैन । भारतीय पक्षले पटक–पटक सुपुर्दगी सन्धीका लागि चासो देखाउँदै आए पनि नेपालले भने त्यसमा विशेष चासो देखाएको छैन । 

कुनै एक देशको सीमा भित्र अपराध गरी भागेर अर्को देशकाे सीमा क्षेत्रभित्र पुगेका अपराधीलाई उक्त देशको सरकारले पहिलो देशलाई जिम्मा लगाउनु नै सुपुर्दगी गर्नु हो । जस्तै नेपालमा अपराध गरी भारत फरार भएका र त्यहाँ पक्राउ परेका अपराधीलाई भारतले औपचारिक रुपमा नेपाललाई बुझाउँछ भने त्यो सुपुर्दगी हो ।  

यसअघि दुई देशका प्रहरीले गोप्य रुपमा एक–अर्कालाई अपराधी जिम्मा लगाउने गर्दथ्यो । नेपालले अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग आवद्ध धेरै ‘आतंककारी’लाई पक्राउ गरी गोप्य रुपमा भारतलाई बुझाएका कुरा यसअघि चर्चामा आउने गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्