१० असार २०८३, बुधबार

कुनै लक्षण नै नदेखिई बिग्रिन सक्छ मिर्गौला, डाक्टरका यस्ता छन् सुझाव

कुनै लक्षण नै नदेखिई बिग्रिन सक्छ मिर्गौला, डाक्टरका यस्ता छन् सुझाव

मिर्गौला बिग्रिएर जीवनमा तनाव भोगेका व्यक्ति धेरै भेटिन्छन् । विभिन्न कारणले मिर्गौला बिग्रिन्छ । तर,समस्या के भने कुनै लक्षण नै नदेखाई मिर्गौला बिग्रिन सक्छ । झुक्किएर मिर्गौला गुमाउनुपरेको पनि धेरै भेटिन्छन् । खासगरी दीर्घरोगीहरूको मिर्गौला कुनै लक्षण नै नदेखिई बिग्रिन सक्ने मिर्गौलारोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठको भनाइ छ ।

स्वास्थ्य अवस्था सामान्य भएका तथा कुनै दीर्घरोग नभएकाको मिर्गौला बिग्रिँदै जाँदा लक्षण देखिन्छन् । तर, यी लक्षण पत्याउनै नसकिने हुन सक्छन् ।

मतलब मिर्गौलामा नभएर अन्य समस्या भएकोजस्तो लाग्छ,  जस्तै : उकालो–ओरालो गर्दा थकाइ महसुस हुने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, अत्यधिक पानी पिउँदा पनि मुख सुकिरहनेजस्ता लक्षण देखिन्छन् ।

 सामान्य व्यक्तिमा मिर्गौला बिग्रिएको लक्षण बिरामीअनुसार फरक–फरक देखिन सक्छ । मिर्गौला बढी नै बिग्रिँदै गएको छ भने बिरामीको छाला फुस्रो हुँदै जाने र बिस्तारै छालाको कत्ला नै निस्किन थाल्छ । मिर्गौलाले कामै गर्न नसक्ने अवस्था भइसकेको छ भने शरीरमा पानी जम्मा भएर फुल्न थाल्छ । फोक्सोमा पानी जम्मा हुन सक्छ ।

 दीर्घरोगले ग्रस्त व्यक्तिको भने मिर्गौलामा समस्या भएको थाहै नहुन सक्छ । दीर्घरोगीलाई बाहिर लक्षण नदेखिने र भित्रभित्रै कमजोर बनाएर मिर्गौला ड्यामेजको अवस्थामा पुग्ने खतरा रहन्छ ।

 दीर्घरोगीले वेला–वेलामा मिर्गौला जाँच गराउनु नै खतराबाट बच्ने उत्तम उपाय हो । पिसाब परीक्षण गरेर पनि मिर्गौला स्वस्थ रहे/नरहेको पत्ता लगाउन सकिन्छ । बिग्रिन थालेको सुरुवाती अवस्थामै पहिचान भएर उपचार गरिए मिर्गौला जोगाउन सकिन्छ ।

नयाँ पत्रिकाबाट

salt training

कमेन्ट गर्नुहोस्