
कैलाली, २७ माघ – कैलाली निर्वाचन क्षेत्र नं. ५ दुई कारणले कांग्रेसको बलियो आधार ईलाका मानिन्थ्यो । स्थानीय तह निर्वाचनसहित धेरै निर्वाचनहरुमा कांग्रेस उम्मेदवारहरु नै जित्नुले यो क्षेत्रलाई काँग्रेसको गढ मानिन्थ्यो । तर सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले कांग्रेसको गढ नराम्रोसँग भत्काई दिए ।
२७ हजार दुई सय दुई मत ल्याएका रानाले आफ्नो निकटतम प्रतिद्वन्द्वी डा. आरजु राणा देउवालाई चार हजार आठ सय ८० को फराकिलो मतान्तरले पराजित गरे । जुनकारण राष्ट्रिय राजनीतिमा नचिनिएका राना एकाएक सबैको ध्यान तान्न सफल भए ।
निर्वाचित रानाका लागि अवसर र चुनौतिको चाङ आइलागेको छ । हेविवेटको छवि बनाएकी आरजु राणालाई जितेर उनले अवसरको ढोका खोलेका छन् । तर, जनअपेक्षा उनका लागि सँगै चुनौति बनेको छ । उनी शैक्षिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा निकै पछाडी परेको आदिवासी रानाथारु समुदायबाट यहाँसम्म आइपुगेका छन् । त्यो पनि गरिब किसानको छोराको हैसियतले उनीबाट यहाँका स्थानीयहरु ठूलो आश गरेर नै निर्वाचित गराएका छन् ।
थारु, रानाथारु समुदायमा सिकलसेल एनिमिया रोग देखिदै आएको छ । वंशाणुगत गुणको आधारमा एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको उक्त रोगलाई बंशनाशक रोगको रुपमा लिइएको छ । उक्त रोग निदानको लागि राज्य जनस्वास्थ्य समस्याको रुपमा लिई सम्बोधन गर्नुपर्ने आपेक्षा यहाँका स्थानीयहरुले रहेको छ ।
निर्वाचनको अवधीमा उनको पार्टी एवं वामगठबन्धन र उनी जसरी विभिन्न विकासे योजना तथा एजेण्डासहित होमिएका थिए । हाल तिनै विकासे एजेण्डालाई मुर्त रुप दिन उनलाई हम्मे–हम्मे भएको छ । तर ती सबै योजनाहरु पाँच वर्षकै अवधीमा सम्बोधन गरी सक्ने उनको अठोट छ । योजनाहरुलाई दिर्घकालीन र अल्पकालीनको आधारमा वर्गीकरण गरी सम्बोधन गर्ने उनको कार्ययोजना रहेको छ ।
सांसद रानाको प्राथमिकतामा परेका योजना
१. रानाथारुलाई सुचीकरण गर्ने : अलग्गै भाषा, संस्कृति, रहनसहन रहेको रानाथारु समुदायको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहदै आएको छ । थारु समुदाय संग मिल्दोजुल्दो रहनसहनकै कारण हालसम्म थारु समुदायको कित्तामा रानाथारुलाई राखिदै आएको छ । तर आफुहरु अलग्गै जातिय समुदाय भएको भन्दै वर्षौदेखि आदिवासी जनजातिको सुचीमा समावेशको माग उनीहरुले गर्दै आएका छन् ।
हालको आमनिर्वाचनमा सुचीकरणको मुद्धा जोड्दार रुपमा उठ्यो । सांसद रानाले सुचीकरणबाट वञ्चित रानाथारु समुदायलाई सुचीकरण गर्ने आफ्नो प्राथमिकताको योजना रहेको बताउँछन् । उनले सरकार गठन संगै सुचीकरणको प्रक्रियालाई अगाडी बढाई क्याबिनेटबाट पास गराउने उनको कार्ययोजना छ ।
२. गौरीफन्टा नाकाको स्तरोन्नती : यस क्षेत्रमा वर्षौदेखि गौरीफन्टा नाकालाई स्तरोन्नतीको सवाललाई विभिन्न राजनीतिक दल तथा नेताहरुको चुनावी एजेण्डा बन्दै आएको छ । चाहे बामगठबन्धनका नेता हुन् चाहे
काँग्रसका नेता, सबैले गौरीफन्टाको सवाल भजाएकै हुन् । आरजु राणा देउवा, नारदमुनि राना, लेखराज भट्ट, भिम रावलहरुको प्रमुख चुनावी एजेण्डा गौरीफन्टा नाका बन्दै आएको छ ।
निर्वाचित भैसकेपछि नारदमुनि रानाले यस मुद्धालाई पाँच वर्षभित्रै पूरा गरी छाड्ने अठोटका साथ लागेका छन् । नेपाल भारत सीमा नाकामा पर्ने यस नाकालाई वीरगंजस्थित भन्सार नाकाको रुपमा स्तरोन्नती गर्न दुई देशीय सहमतिको आधारमा विस्तृत नाकाको रुपमा विकास गर्ने बताएका छन् ।
३. गेटा विमान स्थलको स्तरोन्नती : गौरीफन्टाको सवाल जस्तै धेरै उठ्ने सवाल गेटा विमान स्थलको स्तरोन्नतीको सवाल पनि हो । कसै–कसैले त अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा विकास गरिनुपर्ने भन्दै चुनावी चुनावी एजेण्डा समेत बनाएको पाइन्छ । सांसद रानाले विमान स्थलको स्तरोन्नतीको पहिलो चरणमा मर्मत सम्भारको काम केहि दिनमै सुरु हुने बताए । आवश्यक तयारी भैसकेको बताउँदै उनले पार्कि∙ व्यवस्थापन संगै रात्रीकालीन उडानको लागि आवश्यक पूर्वाधार जडानको कार्य पनि चालु वर्षमै पूरा हुने जानकारी दिए । क्रमिक रुपमा सुधार गर्दै जाने उनको योजना छ ।
४. मुक्तकमैया, कमलरी, हलियाको व्यवस्थापन : कैलाली निर्वाचन क्षेत्र नं. ५ मा हरेक निर्वाचन क्षेत्रमा थारु समुदायका मतदाताहरु निर्णायक बन्दै आएका छन् । यी समुदायमा व्याप्त वेरोजगारी, अशिक्षा, गरिबीका कारण प्रभावमा पार्न सक्ने भन्दै दल तथा उम्मेदवारहरुले हरेक किसिमका हत्कण्डा अप्नाउदै आएका छन् । उम्मेदवारहरु पनि के हेक्का राख्दै आएका छन् भने, थारु मतदाताहरु जता धल्क्यो उतैको पल्ला भारी हुँदो रहेछ । त्यसैले सबैको बक्र दृष्ष्टिमा मुक्तकमैया, कमलरी र हलियाको मुद्धा पर्दछन् ।
निर्वाचन जितिसकेपछि मुक्तकमैया, कमलरी र हलियाको मुद्धा सम्बोधन गर्नुपर्छ भन्ने सांसद नारदमुनिलाई नैतिक दवाव सिर्जना भएको छ । उनले परिचय पत्र नपाएकाहरुलाई परिचयपत्र दिने, जग्गा पाउँन बाँकीलाई लालपूर्जासहितको जग्गा वितरण गर्ने लगायत योजना पाँच वर्षभित्र पूरा गर्ने योजना बनाएका छन् । उनी भन्छन्–‘अव मुक्तकमैया, कमलरी, हलिया कसैको चुनावी एजेण्डा बन्नु भएन् । हामी मुक्तकमैया, कमलरी र हलियाको व्यवस्थापन पाँच वर्षभित्रै पूरा गर्ने अठोट गरेका छौ ।’
५. अन्य योजना : शिक्षा, स्वास्थ्य, यातायात कृषि, रोजगारी, पर्यटन प्रवद्र्धनलगायतको मुद्धा पनि जल्दोबल्दो चुनावी मुद्धा हो । प्रायः सबैले उठाउने यो मुद्धा सांसद नादरमुनिले पनि जोड्दार तरिका उठाए । निर्वाचिनमा जीत हासिल गरिसकेपछि उनले चुनावी एजेण्डालाई कार्यान्वयन गर्ने उनी बताउछन् ।
को हुन् नारदमुनि ?
वि.स. २०२९ साल बैशाख १९ गते बुवा रतिराम रानाथारु र आमा सुदामा देवी रानाथारुको कोखबाट धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको मध्यमवर्गीय परिवारमा जन्मेका राना बाल्य अवस्थादेखि नै लगनशिल, क्रान्तिकारी स्वभावका थिए ।
स्कूले शिक्षा धनगढी माध्यमिक विद्यालयबाट लिएका राना कैलाली बहमुखी क्याम्पस धनगढीबाट राजनीतिशास्त्रमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।
सांसद राना खेलकुद क्षेत्रमा पनि उत्तिकै शौकिन थिए । विभिन्न खेलकुद तथा प्रतियोगितामा सहभागिता जनाइ हाल्ने उनी वि.स.२०४६ देखि २०४८ को अवधीमा तेकवान्डो, कराते र वक्सि∙को च्याम्पिन भैसकेका थिए ।
यूवा अवस्थादेखि विभिन्न रचनात्माक गतिविधि तथा वैचारिक कार्यक्रममा बस्न रुचाउने राना क्याम्पस अध्ययनकै क्रममा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय हुन थाले । फलतः वि.स. २०४५ सालमा तत्कालीन अखिल छैठौंबाट विद्यार्थी राजनीति सुरु गरे । त्यसपछि वि.स. २०४८ सालदेखि नेकपा एमाले निकट विद्यार्थी संगठन हुँदै टोल कमिटी, नगर कमिटी, जिल्ला कमिटी, केन्द्रीय कमिटीमा आए । हाल उनी नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्यमा रहेका छन् । यसैबीच उनी वि.स. २०४६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा थुनामा समेत परेका थिए । सरकार विरोधी गतिविधिमा संलग्न रहेको भन्दै उनीलगायत दर्जनौं नेता तथा कार्यकर्ताहरुलाई दिनभरी थुनामा राखेर मुक्त गरिएको थियो ।
क्याम्पस अध्ययनताका मुलधारको राजनीतिमा होमिसकेका उनी वि.स. २०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपमेयरको लागि उम्मेदवारी दिए । उक्त निर्वाचनमा उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मनिराम देवललाई भारी मतान्तरले पराजित गरे ।
सामाजिक क्षेत्रमा पनि उत्तिकै
नेकपा एमालेबाट वि.स. २०६४ सालमा समानुपातिक संविधान सभा सदस्य बनेका राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन् । आव ०६२/०६३ सालमा सेती अञ्चल अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेका राना शिवनगर खानेपानी आयोजनाको संस्थापक अध्यक्ष तथा निरन्तर १० वर्षसम्म अध्यक्ष भई आयोजनाको काम पूरा गरेका छन् ।
उनी भन्छन्–‘धनगढी उपमहानगरपालिकामा गुणस्तरीय खानेपानीको सहजता होस भनेर शिबनगर खानेपानीको ठूलो परियोजना सफलतापूर्वक सम्पन्न गराए । यहाँसम्मकी परियोजनाको सुरुवाती चरणमा लगानी अभावमा परियोजनाको काम अगाडी बढ्न सकेको थिएन । पछि नीजि घरजग्गा सिदार्थ बैंकमा बन्दगी राखे । फलतः नीजि घरजग्गा बैंकमा राखेर सार्बजनिक खानेपानीका लागि ९० लाख धितो निकाले । सोही धितोका कारण खानेपानी सम्पन्न भयो । र, अहिले यहाँका जनता स्वच्छ पानी खान पाइरहेका छन् । परियोजनाको सफलतापछि मलाई छुट्टै गर्वको महसुस भएको छ ।’
पहिलो मन्त्री बन्ने दाउ
शैक्षिक, आर्थिक, राजनीतिकलगायत क्षेत्रमा निकै पछाडी परेको रानाथारु समुदाय आफुहरु वर्षौदेखि राजनीतिक दल तथा नेताहरुको भ¥याङ मात्रै बनेको बताउछन् । हालसम्म यो समुदायबाट सांसद बन्नेको सुचीमा प्यारेलाल राना, पुरन राना, कृपाराम राना, मालामति राना, नारदमुनि राना हुन् । तर हालसम्म सांसदको यात्रासम्म मात्रै उनीहरुले आफ्नो यात्रा तय गरे ।
सम्पन्न निर्वाचनमा निर्वाचित भैसकेपछि नारदमुनि रानाले मन्त्रीसम्मको आंकक्षा देखाएका छन् । उनी भन्छन्–‘पछाडी पारिएको समुदायबाट आउँनु, प्रदेश नम्बर नं. ७ को मुद्धा सम्बोधन गर्न पार्टीले जिम्मेवारी दिएमा कुसलतापूर्वक पूरा गर्न सक्छु । म यो या, त्यो निश्चित जिम्मेवारी भन्ने संग सरोकार राख्दैन । मेरो लागि पार्टीको निर्णयलाई सर्वोपरी ठान्छु ।’