
धनगढी, २८ माघ - नून बिक्रि वितरणको बिषयलाई लिएर प्रदेश नम्बर ७ का दुई सरकारी निकायवीचको विवाद चुलिएको छ । प्रदेश नंं. ७ स्थित दार्चुलाको अत्यन्त विकट अपी हिमाल गाउँपालिका र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय धनगढीबीच विवाद चुलिएको हो ।
सरकारी निकायबीचको विवादले सार्वसाधारणहरु सुलभ र सहज रुपमा नून उपभोग गर्नबाट बञ्चित भएका छन् । विवादकै कारण वितरणमा समस्या भएपछि दार्चुलाका दुर्गम क्षेत्रका स्थानीयहरु प्रति किलो ७० देखि ८० रुपैयाँमा नून खरिद गर्न बाध्य भएका छन् ।
गत कार्तिकमा अत्यन्त दुर्गममा पर्ने उक्त गाउँपालिकाले स्थानीयवासीलाई सस्तोमा नून उपलब्ध गराउने भन्दै साल्ट टे«डिङको दार्चुलास्थित गोकुलेश्वर डिपोबाट ५ सय क्वीन्टल नून खरिद गरेको थियो । पहाडी जिल्लामा प्रति किलो ९ रुपैयाँ कायम गरिएको मूल्यमा खरिद गरेको उक्त अनुदानको नून गाउँपालिकाले दुवानीलगायतको खर्च जोडेर २५ रुपैयाँमा बिक्रि वितरण गरिरेहको छ ।
तर साल्ट टे«डिङले धनगढीबाट ढुवानी भएको त्यहि नून दार्चुलास्थित आफ्नो डिपोबाट ९ रुपैयाँ प्रति पोका बिक्रि गर्न खोज्दा गाउँपालिकाले अवरोध पु¥याएपछि विवाद उत्पन्न भएको हो ।
कर्पोरेशनका सह–महाप्रबन्धक केशवप्रसाद पाण्डेयले कम मूल्यको साल्ट ट्रेडिङको नून अपी हिमाल गाउँपालिकामा पुगेपछि सो गाउँपालिकाले बिक्री गर्न नदिएको बताए । ‘वितरण गर्न नदिएपछि ढुवानी भएको नून ओखल डिपोमा स्टक राखिएको छ । हामीले जनतालाई ९ रुपियाँमै नून दिन खोज्दा बिक्री गर्न दिइएन’ उनले लोकान्तरसँग भने, ‘स्थानीय सरकार जस्तो जिम्मेवार निकायले सिण्डीकेट लादेर जनतालाई कस्तो सेवा दिन खोजेको हो ? बुझ्न सकिएन ।’
तर गाउँपालिकाका अध्यक्ष धर्मानन्द मान्यालले धनगढीमा पत्रकार सम्मेलन नै गरेर खरिद गरेको नून बिक्री नहुँदासम्म ढुवानी नगर्न आग्रह गरेको बताए ।
साल्ट ट्रेडिङले कमिशनको खेलमा ढुवानी नरोकेको आरोप समेत लगाए । ‘झण्डै ५ लाख रुपियाँ लगानी गरेर हामीले खरिद गरेको नून फागुन महिनासम्म बिक्री भइहाल्छ, तबसम्म ढुवानी नगरिदनुस भनेर मैले साल्ट ट्रेडिङ धनगढीलाई पटक–पटक आग्रह गरेको थिएँ,’ अध्यक्ष मान्यालले भने– ‘ढुवानीमै कर्मचारी र ढेकेदारबीच ठूलो कमिशनको चलखेल छ ।’
चालु वर्ष अपी हिमाल गाउँपालिकाको लागि एक हजार क्वीन्टल नूनको कोटा निर्धारण भएको छ । जसमध्ये उक्त गाउँपालिकाले ५ सय क्वीन्टल खरिद गरेर २ सय क्वीन्टल बिक्रि गरिसकेको छ भने बाँकी अझै बिक्रि हुन बाँकी रहेको जनाइएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीले हालै उक्त गाउँपालिकाको लागि छुट्याएको कोटा मध्ये २ सय ७० क्वीन्टल नून ढुवानी गरेको छ । बाँकी कोटाको नून ढुवानी चैतमसान्त भित्रै गर्नुपरेकोले समस्या सिर्जना भएको साल्ट टे«डिङले जनाएको छ ।
‘नून ढुवानी सम्झौता अवधि अब दुई महिनामात्रै बाँकी रहेको छ, त्यहाँ भण्डारण गर्ने ठूलो गोदाम पनि छैन’, सह–महाप्रबन्धक पाण्डेयले भने– ‘चैत महिनाभित्र थप ढुवानी गर्न नपाएमा हामीले ठेकेदारलाई कारबाही गर्नु पर्ने हुन्छ । जबकी उसको दोष छैन ।’
साल्ट टे«डिङ र गाउँपालिकाबीच यहि फागुन पहिलो हप्तादेखि आपूर्ति सहज र सुलभ गराउँने मौखिक सहमति भएको बताइएको छ । जुन सहमति अनुसार साल्ट टे«डिङले कोटा बमाजिमको नून गाउँपालिकाको जिम्मा लगाउने भएको छ । तर गाउँपालिकाले कायम भएको मूल्यमा केहि हेरफेर गरेर बिक्रि गर्ने दाउमा पुगेको ।
गाउँपालिकाका अनुसार ९ रुपैयाँमा पाइने उक्त नून १७ रुपैयाँ प्रति किलोमा बिक्रि गर्ने रणनीति बनाएको छ ।