
काठमाडौं, २९ माघ — दक्षिण अफ्रिकाको केपटाउन शहरमा पानीको भारी कमी हुने देखिएको छ । आगामी केही हप्तामा त्यहाँका मानिसले पिउने पानी पाउनेछैनन् ।
तर दक्षिण अफ्रिकाको यो सुक्खाग्रस्त शहर यस्तो समस्या भोग्ने पहिलो शहर होइन । विशेषज्ञहरूले संसारका धेरै कुनामा पानीको संकटका बारेमा चेतावनी दिइसकेका छन् ।
त्यसो त पृथ्वीको ७० प्रतिशत भाग पानीले ढाकिएको छ । तर त्यसमध्ये ६७ प्रतिशत भाग समुद्रको नूनिलो पानी हो । पिउने पानी जम्मा तीन प्रतिशत छ र त्यो पनि सुलभ छैन ।
संसारमा एक अर्बभन्दा बढी मानिसलाई सफा पिउने पानी उपलब्ध छैन । अनि २७० करोड मानिसलाई वर्षको एक महीना पिउने पानी छैन ।
सन् २०१४ मा संसारका ५०० ठूला शहरहरूको अनुसन्धान गर्दा के पत्ता लाग्यो भने प्रत्येक चारमध्ये एक नगरपालिका पानीको समस्या भोगिरहेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार, पानीको वार्षिक आपूर्ति प्रतिव्यक्ति १७ सय क्युबिक मिटरभन्दा कम भएमा पानीको कमीको स्थिथित आउँछ ।
विशेषज्ञहरूको अनुमानअनुसार, सन् २०३० सम्म वैश्विक स्तरमा पिउने पानीको माग आपूर्तिभन्दा ४० प्रतिशत बढी हुनेछ ।
जलवायु परिवर्तन, विकासको होडबाजी र जनसंख्या वृद्धि यसका कारण हुन् ।
यहाँ प्रमुख ११ शहरको उल्लेख गरिँदैछ जहाँ पानीको विशाल समस्या हुने देखिँदैछ ।
ब्राजिलको साओ पाओलो, भारतको बेंगलुरु, चीनको बेइजिङ, इजिप्टको काहिरा, इन्डोनेसियाको जकार्ता, रुसको मस्को, टर्कीको इस्तानबुल, मेक्सिकोको मेक्सिको सिटी, बेलायतको लन्डन, जापनको टोकियो, अमेरिकाको मियामीले
पानीको समस्या भोग्ने स्थिति छ ।
बीबीसी हिन्दीबाट