
काठमाडौं २९ माघ– वाम गठवन्धन बनाएर चुनावमा गएका नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकताको नजिक पुगेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले माओवादीबीचको एकता प्रकृया भाँडिन लागेको चर्चा चलिरहेको बेला पार्टी एकताले मुर्त रुप लिन लागेको हो ।
पार्टी एकतालाई ठोस रुप दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर ‘वान टु वान’ वार्ता भइरहेका छन् ।
सोमबार ललितपुरमा एक व्यपारीको निवासमा भएको भेट वार्तामा दुई अध्यक्ष सहमति नजिक पुगेका अध्यक्षद्वयका निकटस्थ स्रोतहरुले बताएका छन् । दुवै नेताबीचको कुराकानी सकारात्मक भएको जनाइएको छ ।
प्रचण्डसँगको भेटवार्तापछि अध्यक्ष केपी ओलीसँग भएको कुराकानीलाई उदृत गर्दै स्रोतले भन्यो,‘आज आइसव्रेक भएको छ, एक दुई दिनमा पार्टी एकता हुने अवस्था छ ।’
दुई अध्यक्षबीच भोलि पनि थप छलफल र वार्ता हुने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकतालाई अन्तिम रुप दिने निर्णय दुई अध्यक्षबीच भएको स्रोतको दाबी छ ।
‘दुई तीनदिनमा एकता हुन्छ,’ माओवादीका एक नेताले भने,‘यो अवस्थामा पनि एकता हुन सकेन भने तत्कालकालागि एकता प्रकृया नै अवरुद्ध हुन्छ ।’
एमाले माओवादीबीच नेतृत्वका विषयमा विभिन्न विकल्प र मोडालिटी बारे छलफल भएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले राखेको प्रस्ताव र एमाले शीर्ष नेताहरुसँग केही दिन अघि भएको छलफलका आधारमा ओलीले प्रचण्डसँग विभिन्न मोडालिटिबारे छलफल गरेका छन् ।
नेतृत्वले लफडा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री दिने विषयमा माओवादीले समर्थन गरेको छ र प्रचण्डले एकीकृत पार्टीको अध्यक्ष पाउनु पर्ने माओवादीको दाबी छ । तर, एमाले र ओली स्वयंपनि पार्टीको कार्यकारी नेतृत्व तत्काल माओवादी अध्यक्ष प्रचण्डलाई दिन चाहिरहेका छैनन् । जसका कारण पार्टी एकतामा समस्या उत्पन्न भएको कतिपयको बुझाइ छ ।
तर पार्टी एकता भाँडिन नदिनका लागि एमाले उपाध्यक्ष गौतमले माओवादीलाई अध्यक्ष दिने र एमालेले महासचिव राख्ने लगायका प्रस्ताव राखेका छन् । त्यस्तै केही समयका लागि संयुक्त नेतृत्वका विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।
एमाले उपाध्यक्ष भीम रावलले पार्टी एकता भइसकेको र त्यसको घोषणा मात्र हुन बाँकी रहेको बताए । उनले भने,‘ हामीले सात बुँदे सहमति गरेका दिननै नेतृत्व आलोपालो चलाउने अन्तरनिहित आशय थियो, कसको नेतृत्व भन्ने कुरै हुँदैन नि, पार्टी एक भइसकेको छ, खाली घोषणा गर्न मात्र बाँकी छ ।’
तर एमाले महासचिव ईश्वर पोखरेलले भने पार्टी एकता एक दुई दिनमा हुने विषय नभएको बताएका छन् । एकता भन्दा पहिला माओवादीसंग संगठनात्मक, बैचारिक र सिद्धान्तको एकता मिल्नु पर्ने उनको भनाइ थियो । महासचिव पोखरेलले माओवादीसँग कयौ बिषयमा कुरा मिल्न बाँकी रहेको बताए ।
‘एउटाले अध्यक्ष र एउटाले प्रधानमन्त्री लिएर मिल्नु नि भन्ने कुराका बान्की सुनिन्छ’ पोखरेलले भने, ‘मिल्नका लागि बिचारमा एकता हुनुपर्यो नि ! गाइबस्तु हेर्न गएका गोठालाले काँध मिलाए जस्तो हो र पार्टी एकता ?’
केहीदिन अघि चितवनमा आयोजित एक कार्यक्रममा राजनीतिक फड्को मार्ने जनाएपछि दुई पार्टीबीचको एकता भाडिन लागेको आशंका गरिएको थियो । प्रचण्डको अभिव्क्तिको पक्ष र बिपक्षमा एमाले माओवादी कार्यकर्ताहरु विभाजित भएका थिए ।