
काठमाडौं २९ माघ– गएको शुक्रवार चितवनको भरतपुर पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताका लागि आवश्यक परे ‘अर्को फड्को’ हान्न तयार भएको अभिव्यक्ति दिए । प्रचण्डको सो अभिव्यक्तिलाई लिएर नेकपा एमालेका नेताहरुमा चिसो पस्यो ।
प्रचार विभाग प्रमुख समेत रहेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखे, ‘अचानक फड्को हान्दा बीचैमा खसेर बेहाल पनि त हुनसकिन्छ नि कि कसो कमरेड ? फड्को, छलाङ, क्रमभङ्ग, महाबिपत्ति जस्ता शब्दहरु उपन्यासकारतिर पन्छाइदिए राम्रो होला कि ?’
तर, प्रचण्डले संकेत गरेको फड्को वामपन्थी गठबन्धनबाट बाहिरिने नभएर एकताको लागि त्याग हुने जस्तो देखिएको छ । अनेक आशंकाबीच माओवादी र एमालेबीच एकताको ‘फड्को’ हान्ने सम्भावना छ, माओवादी जनयुद्ध दिवसको दिन ।
फागुन १ माओवादीले २०५२ सालमा सशस्त्र जनयुद्ध शुरु गरेको दिन हो, जसलाई माओवादीहरुले ‘महान जनयुद्ध’ दिवसको रुपमा मनाउदै आएका छन् । २३ औं जनयुद्ध दिवसको अबसरमा एमाले र माओवादीबीच महत्वपूर्ण घोषणा हुने सम्भावना छ, मंगलवार ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमवार भएको ‘वन टू वन’ वार्ता निश्कर्ष उन्मुख भएका समाचारहरु बाहिर आएका छन् । माओवादी स्रोतका अनुसार ओली र प्रचण्ड दुवै सहअध्यक्ष बन्न राजी भएका छन् ।
पार्टीमा समान हैसियतमा रहेर ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टी चलाउनेगरी सहमतिका प्रयास भइरहेको स्रोतको दावी छ । सकेसम्म छिटो महाधिवेशन बोलाउनेगरी पार्टी एकता गर्न दुई नेता राजी भएका उनीहरुका निकटस्थहरुले बताएका छन् ।
यता माओवादी प्रवक्ता भुसालले स्पष्ट बताउन नचाहेपनि ओली र प्रचण्डबीच आज भएको छलफल सकारात्मक भएको जानकारी दिइन् । उनले एकताका सन्दर्भमा आजको छलफलले केही सकारात्मक गति लिएको र एकाध दिनभित्रै सार्थक निष्कर्षमा पुग्ने बताइन् । ‘छलफल असाध्यै सकारात्मक छ । एकाध दिनभित्रै सार्थक परिणाम निस्कन्छ’, प्रवक्ता भुसालले भनिन् ।
मंगलबार अध्यक्षद्वयबीच एक्लाएक्लै पुनः भेटवार्ता हुने कार्यक्रम समेत छ ।
‘जनयुद्ध’ दिवस पारेर मोहन बैद्य र नेत्रविक्रम चन्दले ‘क्रान्तिकारीको धु्रबीकरण’का लागि अपिल गरिरहदा प्रचण्डले अर्को ‘बोल्ड डिसिजन’ लिने सम्भावना रहेको माओवादी स्रोतको भनाइ छ ।
फागुन १ कै अबसर पारेर मंगलवार एमालेसँग पार्टी एकताको घोषणा भयो भने त्यो ‘अर्को फड्को’ हुने नै छ ।