
काठमाडौं, १ फागुन — एउटा शंकास्पद लिफाफा खोलेपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी बुहारी भेनेसा ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ ।
प्रहरीका अनुसार, शंकास्पद लिफाफामा सेतो धूलो थियो ।
यो लिफाफा ट्रम्पका ठूला छोरा डोनल्ड ट्रम्प जुनियरको म्यानह्याटनस्थित ठेगानामा पठाइएको थियो ।
भेनेसा ट्रम्प र अन्य दुई व्यक्तिलाई उद्धारक टोलीले अस्पताल पु–याएको हो ।
न्युयोर्क प्रहरी विभागले भेनेसा पाउडरका कारण शारीरिक रूपमा प्रभावित नभएको देखिने बतायो ।
उद्धारक (अग्नियन्त्रक विभाग) ले घटनापछि भेनेसालगायतलाई विल कोर्नेल मेडिकल कलेज लगिएको बतायो ।
सीबीएस न्युयोर्कको रिपोर्टअनुसार भेनेसाकी आमाले यो पत्र प्राप्त गरेकी थिइन् र भेनेसाले यसलाई खोलेकी थिइन् ।
भेनेसाले सन् २००५ को नोभेम्बरमा ट्रम्प जुनियरसँग विवाह गरेकी थिइन् र उनीहरूका पाँच बच्चा छन् । बिहेअघि उनी न्युयोर्कमा मोडलिङ गर्थिन् ।
ट्रम्प जुनियरको परिवारलाई अमेरिकाको सिक्रेट सर्भिसले सुरक्षा प्रदान गर्छ । घटनापछि सिक्रेट सर्भिसले लिफाफाको जाँच गरिरहेको छ ।
एजेन्सी