
काठमाडौं, २ फागुन — माल्दिभ्समा भइरहेको राजनीतिक संकटका विषयमा चीनले भारतलाई फेरि एकपटक चेतावनी दिएको छ । भारतले माल्दिभ्समा सेना पठाएमा आफूहरूले एक्सन लिने चीनले बताएको छ ।
चीनको सरकारी अखबार ग्लोबल टाइम्सको सम्पादकीयमा उल्लेख भएअनुसार, चीनको विरोधलाई भारतले बेवास्ता गर्न मिल्दैन । यसअघि पनि चीनले भारतलाई माल्दिभ्समा हस्तक्षेप गरेमा परिस्थिति बिग्रने बताएको थियो ।
माल्दिभ्समा विगत १३ दिनदेखि राजनीतिक संकट आएको छ । राष्ट्रपति अब्दुल्ला यामीनले अदालतको आदेश मान्न अस्वीकार गर्दै संकटकाल लगाएका छन् ।
ग्लोबल सम्पादकीयमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघको अनुमतिविना कुनै पनि सशस्त्र बलले कुनै देशमा हस्तक्षेप गर्न पाउँदैन । चीन आफू माल्दिभ्सको आन्तरिक विषयमा हस्तक्षेप गर्दैन । यसको अर्थ दिल्लीले नियम तोडुन्जेल
बेइजिङ चुप बस्छ भन्ने होइन । भारतले एकपक्षीय कारबाही गर्ने हिसाबमा सेना पठाएमा चीनले त्यसलाई रोक्नका लागि आवश्यक एक्सन लिन्छ ।’
सम्पादकीयको शीर्षक 'मालेमा अनधिकृत सैन्य हस्तक्षेप रोकिनुपर्छ' भन्ने थियो । ‘मालेमा तनावपूर्ण स्थितिलाई विचार गरेर भारतले संयम अपनाउनुपर्छ । माल्दिभ्स अहिले संकटको सामना गरिरहेको छ । यो उसको आन्तरिक विषय हो र चीन कुनै पनि बाहिरी हस्तक्षेपको विरोध गर्छ ।’
एजेन्सी