
सुर्खेत, २ फागुन– गत माघ २६ गतेदेखि शुरु भएको प्रादेशिक मेलामा ऊनबाट बनेको कोट प्रदर्शनीमा राखिएको छ ।
मुगुका ७५ वर्षीय मानसिंह रोकायाले हातबाटै बनाएको उक्त कोट महोत्सवको स्टल नम्बर एच ३ मा राखिएको छ । स्टलमा ऊनबाट बनाइएका गलैंचाहरु, लिऊ, महिलाहरुले कम्मरमा बाँध्ने धडो, मौलर, कोटपाखी, बाख्राको उनबाट बनेको राडीलगायतका धेरै सामाग्रीहरु रहेका छन् । रोकाया ऊन कात्ने काम गर्छन् भने श्रीमती सीता रोकायले बुन्नमा सहयोग गर्ने गरेकी छिन् ।
पहिले पहिले धेरै विक्री हुने राडी पाखीहरुको यो वर्ष भने विक्रीमा कमी आएको छ । उनी भन्छन्, ‘केही वर्ष पहिले मैले ग्राहकले माग गरे बमोजिमका सामाग्रीहरु बनाउनै गाह्रो हुन्थ्यो ।’ रोकायाले भने, ‘तर अहिले भने ग्राहकहरुले किन्नै मान्दैनन् ।’
ऊनबाट बनेका कपडाहरु लगाएमा शित नपस्ने, जाडोबाट बचिने, ढाड दुख्ने समस्या समाधान हुने रोकायको भनाइ छ । ‘पहिले ढाड दुख्ने बिरामीका लागि ओख्तोको रुपमा राडी तथा ऊनबाट बनेका सामाग्रीहरु लगाउने वा प्रयोग गर्ने चलन थियो ।’ उनी थप्छन्, ‘अहिले विदेशबाट बनेका कपडाहरुले हातबाट बनाउने कपडा तथा सामाग्रीहरुको माग घटाईदियो ।’
रोकायाले स्थानीय उत्पादनलाई बढी प्रयोग गरेको खण्डमा गाँउमै रोजगारी सिर्जना पनि हुने र त्यसले पैसा पनि गाँउमै रहने हुँदा आर्थिक परिवर्तन हुने बताए ।
मूल्य कति ?
स्टलमा राखिएका विभिन्न सामाग्रीहरुको मूल्य फरक फरक रहेको छ । सबैभन्दा महँगो फेरेको मुल्य १० हजार रहेको छ । फेरे बनाउन करिब ७ दिन लाग्छ ।
यस्तै कोटपाखीको मुल्य ६५०० पर्छ भने यो बनाउन करिब ५ दिन लाग्ने गरेको रोकाया बताउँछन् । लिउको मुल्य ५ हजार देखि ५ हजार ५ सय, धडोको मुल्य २ हजार (११ हाते) रहेको छ ।
रोकायाको पसलमा मौफलर, गलैँचा आदि ऊनबाट बनेका सामाग्रीहरु रहेका छन् ।