
काठमाडौं, २ फागुन — विवादास्पद टिप्पणी र आदेशका कारण चर्चामा रहने फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले हालै एक नयाँ आदेश दिएर विवाद निम्त्याएका छन् ।
दुतेर्तेले सेनाका जवानलाई महिला विद्रोहीका गुप्तांगमा गोली हानिदिए हुन्छ भने । एक हप्ताअघि दुतेर्ते हीरोज हलमा पूर्वकम्युनिस्ट विद्रोहीलाई सम्बोधन गर्दै यो कुरा भनेका हुन् ।
सैनिकहरूले विद्रोही महिलाहरूलाई सीधै मार्नुभन्दा गुप्तांगमा गोली हानेमा उनीहरू गुप्तांगविना केही काम नलाग्ने हुने दुतेर्तेको भनाइ थियो ।
राष्ट्रपतिको पब्लिक रिलेसन्स अफिसले छापेको रिपोर्टमा गुप्तांगको ठाउँमा ड्याश लगाइएको थियो । दुतेर्तेले परिवार छोडेर कम्युनिस्ट आन्दोलनमा लाग्ने महिलालाई निन्दा गरेको भनी रिपोर्टमा लेखियो ।
सत्तामा आएपछि दुतेर्तेले लागूऔषध सेवन गर्ने र बेच्नेहरूलाई तारो बनाइरहेका छन् ।
यसअघि उनले विद्रोही महिलाहरूलाई बलात्कार गरिदिए हुन्छ समेत भनेका थिए ।
फिलिपिन्समा आउने व्यक्तिहरूलाई आफूले ४२ अप्सराका साथ स्वागत गर्ने समेत उनले भनेका थिए ।
एजेन्सी