१६ असार २०८३, मंगलबार

विश्व राजनीतिमा अमेरिकी प्रभावको क्षयीकरण

फागुन ४, २०७४
विश्व राजनीतिमा अमेरिकी प्रभावको क्षयीकरण

विगत केही दिनयता विश्व राजनीतिमा विकास भएका घटनाक्रमले संसारको सबभन्दा शक्तिशाली देश अमेरिकाको  प्रभाव बिस्तारै घट्दै गएको संकेत दिएका छन् । 

आरम्भमा कुरा गरौं पश्चिम एसियाको । पश्चिम एसियामा इरान र इजरायलका बीचको द्वन्द्व चर्किने स्थिति आएको छ । आफ्नो भूमिमा इरानको ड्रोन पसेको र आफूले त्यसलाई खसाएको दाबी गर्दै इजरायलले प्रतिकारस्वरूप सिरियामा भीषण आक्रमण गरेको छ । इजरायलको यो कठोर आक्रमणले ठूलै युद्ध हुनसक्ने लक्षण देखाएको छ । 

इजरायलको निकट मित्र रहेको अमेरिकाले यस्तो स्थितिमा इजरायललाई समर्थन गर्ने वक्तव्य त निकाल्यो तर युद्ध भड्किन नदिनका लागि खासै प्रयत्न गरेको देखिएन । यसअघि यस्तो स्थिति आउँदा अमेरिकाले निकै सक्रियता देखाउँथ्यो । 

अमेरिकाको यो निष्क्रियतालाई उच्चस्तरीय कूटनीतिज्ञहरूले आलोचना गरेका छन् । मध्यपूर्वमा अमेरिका नेगोसिएटर पूर्वकूटनीतिज्ञ डेनिस रोसले फरेन पोलिसी पत्रिकामा आलोचनात्मक लेख निकाले जसको शीर्षक छ, ‘ट्रम्प इरानका विषयमा गफ मात्र गर्छन्’ । उनको आशय इरानलाई तह लगाउनका लागि अमेरिका असफल रह्यो भन्ने हो ।

इजरायलका लागि एक पूर्व अमेरिकी राजदूतले पनि इरान–इजरायल द्वन्द्वमा अमेरिकाको निष्क्रियता तथा अनुपस्थिति चिन्ताजनक रहेको टिप्पणी गरेका थिए । 

त्यस्तै, अमेरिकासँग निकट सम्बन्ध रहेको भारतले पनि उसको कुरा सुन्न छोडेको संकेत पाइएको भनी एसिया टाइम्समा एमके भद्रकुमारले टिप्पणी गरेका छन् । इरानका राष्ट्रपति हसन रूहानीले बिहीवारदेखि शुरू हुने गरी भारतको तीन दिने भ्रमण गर्दैछन् ।

भारतलाई इरानसँग सम्बन्ध विकास गर्नबाट रोक्नका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेको भद्रकुमार लेख्छन् । 

इरानलाई अमेरिका र उसका साझेदारविरुद्धको सबभन्दा ठूलो शत्रुका रूपमा ट्रम्प प्रशासनले प्रस्तुत गरेको छ । यस्तोमा भारतले इरानसँग सम्बन्ध बढाउन खोज्दा अमेरिका आत्तिनु स्वाभाविक हो । तर मोदीले विश्व राजनीतिमा अमेरिकाको प्रभाव खस्किँदै गइरहेको अनि अबको युग युरेसियाको भएको बुझेर अमेरिकाले बाधा पु–याउनुअघि नै इरानका राष्ट्रपतिलाई भारत निम्त्याएका हुन् भन्ने भद्रकुमारको विश्लेषण छ । 

यसअघि इरानमा उठेको विद्रोहलाई समर्थन गरेको अमेरिकाले त्यहाँ पनि हार नै बेहोर्नुप–यो किनकि इरानले त्यो विद्रोहलाई सजिलै दबायो । त्यस्तै इरानसँग निकटता बढाइरहेको र अमेरिकी प्रभावबाट हट्दै गएको टर्कीले पनि अमेरिकालाई हालैका दिनमा कठोर आलोचना गरिरहेको छ । 

जर्मन टीभी डोयचवालामा प्रकाशित समाचारअनुसार, टर्कीका विदेशमन्त्री मेव्लुत काभुसोग्लुले टर्की र अमेरिकाबीचको सम्बन्ध संकटको स्थितिमा पुगेको र अंकाराको विश्वास जित्नका लागि वाशिङटनले ठोस कदम चालनुपर्ने बताएका छन् । 

नाटो साझेदार यी दुई मुलुकबीचको सम्बन्ध टर्कीले गत महीना सिरियन कुर्दिश पिपुल्स प्रोटेक्सन युनिट्स (वाईपीजी) लडाकूविरुद्ध उत्तरी सिरियाको अफ्रिनमा आक्रमण गरेपछि बिग्रिएको हो । 

टर्कीले वाईपीजीलाई टर्कीमा लडिरेहका कुर्दिश विद्रोहीहरूसँग सम्बन्ध राखेको भन्दै आतंकवादी समूह मान्छ भने अमेरिकाले इस्लामिक स्टेट आतंकवादीहरूसँग लड्नका लागि कुर्दिश लडाकूलाई समर्थन गरिरहेको छ । टर्कीले अमेरिकालाई वाईपीजीको कब्जामा रहेको मन्बीज नामक स्थानबाट आफ्नो सैनिक हटाउनका लागि लगातार चेतावनी दिइरहेको छ । 

अनि टर्कीका राष्ट्रपति रेसेप अर्दोगान तय्यपले अमेरिकाबाट बिस्तारै चिढिँदै गएर रुससँग निकटता बढाएको कुरा पनि सर्वविदितै छ । अस्ति मात्र उनले वाईपीजीको समर्थन गरेको भन्दै अमेरिकाको कठोर आलोचना गर्दै 'ओट्टोमान झाप्पु' के हो देखाइदिने बताए । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले बिहीवारदेखि टर्कीको भ्रमण गरेर सम्बन्ध सुधार्ने प्रयास गर्दैछन् तर यसमा आशावादी हुने ठाउँ देखिएको छैन ।

पश्चिम एसियामा यसरी अमेरिकाको प्रभाव क्षयीकरण हुँदै गर्दा पूर्वी एसियामा पनि त्यस्तै लक्षण देखिएको छ । ट्रम्पका पूर्ववर्ती बाराक ओबामाले ट्रम्प प्रशासनको सबभन्दा ठूलो चुनौती उत्तर कोरिया भएको बताएका थिए । हुन पनि निर्वाचन अभियानमा उत्तर कोरियाका नेता किम जोङ–उनप्रति नरम धारणा राखेका ट्रम्पले राष्ट्रपति भएपछि भने किमलाई लगातार चिढ्याइरहे । 

तर दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिकमा आफ्ना खेलाडीहरूले भाग लिने बताएर किमले अमेरिकालाई उसको साझेदार दक्षिण कोरियाबाट केही टाढा पार्न सफल भए । शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन पुगेका अमेरिकी राष्ट्रपति माइक पेन्सलाई उत्तर कोरियाले पूर्णतः एक्ल्याउन सफल भयो । कोरियाली प्रायद्वीपमा शान्तिको सम्भावनालाई किमले प्रस्तुत गर्न सफल भए, भलै त्यो उनको गोप्य रणनीतिको एक चाल हुनसक्ला । 

किमले बहिनी किम यो–जोङलाई ओलम्पिक समारोहमा पठाए अनि उनको त्यहाँ हाईहाई भयो । उनले त दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनलाई उत्तर कोरियाको भ्रमण गर्ने निमन्त्रण पनि दिइन् । 

दुई कोरियाबीच यसरी सम्बन्धमा न्यानोपन देखिँदा अमेरिकाले चाहिँ वातावरण बिग्रने हिसाबले कठोर टिप्पणी गरेर नबोलाइएको पाहुनाजस्तो व्यवहार ग–यो । शीतकालीन ओलम्पिक समारोहमा एक्लै परेका पेन्सले अमेरिका फर्किने क्रममा उत्तर कोरियाले आणविक हतियार कार्यक्रम नत्यागेसम्म उनीहरूसँग वार्ता नगर्ने कठोर रवैया देखाएपनि कोरियाली प्रायद्वीपमा विकसित घटनाक्रमसँग यसले एकरत्ति मेल नखाएको देखियो । 

त्यसो त दुई कोरियाबीच सम्बन्धमा न्यानोपनलाई नजिकैबाट देखेका पेन्सले द वाशिङटन पोस्ट पत्रिकाका जोस रोगिनसँग कुरा गर्दै उत्तर कोरियालीहरूले चाहेमा उनीहरूसँग अमेरिकाले कुरा गर्न सक्ने पनि सम्भावना देखाए । 

तर किम यो–जोङप्रति दक्षिण कोरियालीहरूले देखाएको आत्मीयता र दक्षिण कोरियाले उत्तरका खेलाडीलाई ओलम्पिकमा निमन्त्रण गरेर देखाएको न्यानोपनबाट दक्षिण कोरिया अब बिस्तारै आफ्नो बाटो आफैं हिँड्न तयार रहेको र उसले अमेरिकासँग साझेदारी कायम राखेमा दुई कोरियाबीचको सम्बन्ध कहिल्यै सामान्य नहुने बुझेको विश्लेषण हुन थालेका छन् ।

यसअघि अमेरिकामा पूर्णतः निर्भर दक्षिणले अहिले आएर अमेरिकासँग टाँस्सिनु खतरनाक रहेको र आफ्नो कार्यदिशा आफैं निर्धारण गर्ने सोच राख्नु आफैंमा आश्चर्यजनक छ र यसले पनि अमेरिकी प्रभाव क्षयीकरण भइरहेको संकेत दिन्छ । 

त्यसो त अमेरिकाको सैन्य र आर्थिक शक्ति अझै पनि संसारमै अग्रणी छ । चीन र रुसले सैन्य शक्तिमा उसलाई गम्भीर चुनौती भने दिइरहेका छन् । तर ट्रम्पको राष्ट्रपतित्वमा अमेरिकी प्रशासनले विश्वराजनीतिमा प्रभाव गुमाउँदै गएको देखिन्छ । हुन पनि ट्रम्पले आफ्नै देशको आन्तरिक समस्यामा ध्यान दिएर विश्वको प्रहरी नबन्ने बताउँदै चुनाव जितेका हुन् ।

तर दोस्रो विश्वयुद्धपछि संसारमा निकै प्रभावशाली रहेको अमेरिका यत्तिका वर्षपछि यस्तो कमजोर स्थितिमा पुग्ला भन्ने अनुमान कमैले गरेका थिए । अमेरिकी नेतृत्वको एकध्रुवीय विश्व अब बिस्तारै बहुध्रुवीय विश्वतर्फ लम्किँदै गर्नु आफैंमा सुखद संकेत चाहिँ हो । 

एजेन्सीहरूको सहयोगमा 
 

salt training

कमेन्ट गर्नुहोस्