
काठमाडौं, ४ फागुन — भारतको बैंकिङ इन्डस्ट्रीको सबभन्दा ठूलो घोटालामा संलग्न हीरा व्यापारी नीरव मोदीका हजुरबुवा हजुरआमाले गुजरातमा पापड बेच्ने गर्थे ।
अहिले यो परिवार दशवटा देशमा हीराको व्यापार गर्छ । नीरवको कुल सम्पत्ति ११ हजार ५०० करोड भारु छ ।
पञ्जाब नेसनल बैंकमा लगभग ११ हजार करोड भारुको धोकाधडीको खुलासा हुनुअघि नै नीरवको परिवारले देश छोडिसकेको छ । सूत्रहरूका अनुसार, नीरव बेल्जियममा भाइसँग बस्छन् ।
भारतको प्रवर्तन निर्देशनालयले १४ फेब्रुअरीमा बैंक फ्रडको सिलसिलामा नीरव र उनका नातेदारहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको छ । बिहीवार अनेकौं ठाउँमा छापा मारिएको छ ।
प्रवर्तन निर्देशनालयले नीरव मोदी र मेहुल चौकसीको १७ वटा पसलमा छापा मा–यो । छापा मारिँदा ५१ सय करोड भारुबराबरको हीरा र सुन बरामद भयो । ६ वटा ठाउँ सील पनि गरियो । ती ठाउँमा रहेका जग्गाको भाउ अनि बहुमूल्य सामानको भ्यालुएसन शुरू भएको छ ।
निर्देशनालयले विदेश मन्त्रालयलाई नीरव, उनकी पत्नी अमी र मेहुल चौकसीको पासपोर्ट रद्द गर्न भनेको छ । तर नीरव र उनको परिवारले जनवरीको पहिलो हप्तामा नै देश छोडेका थिए । सीबीआईले सबैका विरुद्ध ३१ ज्नवरीमा लूकआउट नोटिस जारी ग–यो ।
नीरव मोदी गुजरातको पालनपुरका मूल निवासी हुन् । उनका पिता पीयूष बेल्जियममा स्थायी बसोवास गर्न थालेका थिए । पालनपुरमा नीरवका हजुरबुवा किराना पस चलाउँथे । हजुरआमा पापड बेच्थिन् ।
अहिले भारत र अन्य देशमा गरी नीरव मोदीका नौवटा बुटिक छन् । उनी १० देशमा २६ सब्सिडियरीमार्फत व्यापार गर्छन् ।
एजेन्सी