१२ असार २०८३, शुक्रबार

उत्तर कोरियाको निमन्त्रणापछि यस्तो आयो दक्षिणको प्रतिक्रिया

फागुन ५, २०७४
उत्तर कोरियाको निमन्त्रणापछि यस्तो आयो दक्षिणको प्रतिक्रिया

 दक्षिण कोरिया, ५ फागुन - दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले अहिले नै उत्तर कोरियासँगको बैठक अलि चाँडो हुने प्रतिक्रिया दिनुभएको छ । 
हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ । हालैमात्र दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिताका कारण यी दुई देशबीचको सम्बन्ध विगतका तुलनामा केही सुधार भएको हो । 

यसैकारण उत्तर कोरियाले दक्षिण कोरियालाई बैठकको निमन्त्रणा दिएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले उत्तर कोरियामा दुई देशको बैठकका लागि आमन्त्रण गर्नुभएको थियो । 

सो बैठकमा उहाँको उपस्थितिका लागि निमन्त्रणा पत्र दक्षिणका राष्ट्रपति मुनले प्राप्त गर्नुभएको छ । उत्तर कोरियाका नेता जोङ उनकी बहिनीले सो पत्र मुनलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँ सो ओलम्पिकमा सहभागिताका लागि त्यहाँ जानुभएको हो । 

दक्षिण कोरियाको पियनचोन नामक सहरमा रहेको प्रेस सेन्टरमा सम्वाददाताहरुसँग राष्ट्रपति मुनले भन्नुभयो– दक्षिण कोरिया र उत्तरका बीचमा धेरै सम्भावनाहरु छन्, आगामी दिनमा आपसी वार्ताबाटै सबै कुराको टुंगो लगाउनुपर्छ तर अहिले नै बैठकमा बसिहाल्ने भन्ने कुरा चाहिँ अलि हतार हुनसक्छ ।

सम्वाददाताहरुको जिज्ञासामा उहाँले भन्नुभयो– हामी कोरियनहरुले हतारमा काम गर्छौँ भन्ने प्रचलन नै छ । यसै सन्दर्भमा उहाँले कोरियाली उखान सुनाउनुभयो– हामी कोरियालीहरुलाई हतारमा कामगर्ने भनेर यस्तो स्थानीय उखानको प्रयोग गर्ने गरिएको छ– इनारको छेउमा तातोपानी खोज्ने । 

उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघका विभिन्न नाकाबन्दी र प्रतिबन्धहरु अहिले पनि कायमै छन् । उसलाई सुरक्षा परिषदले पनि यस विषयमा कालो सूचीमा राखेको छ । उत्तर कोरियाले गतवर्ष धेरै आणविक परीक्षणहरु गरेको थियो । 

उहाँले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकासँग पनि वार्ता गर्नुपर्ने विषयमा राष्ट्रिय सहमतिको वातावरण भने बनिरहेको उहाँले बताउनुभयो । 

हामी पनि दक्षिणको तर्फबाट तयार नै छौँ र उत्तर कोरियाले पनि वार्ताको पहल गरेको छ यो राम्रो र सकारात्मक पहल हो भन्दै उहाँले यही अवस्थाबाट अघि बढेमा आगामी केही दिनमा प्रारम्भिक रुपमा वार्ता हुने र अर्काे बृहत मात्राको बैठक भने केही पछि नै गर्नुपर्ने उहाँले बताउनुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्