
काठमाडौं, ६ फागुन– एकीकृत पार्टीको राजनीतिक सिद्धान्त के हुने भन्ने विषयको विबाद अहिले पदीय भागवण्डामा गएर अड्किएको छ । दुई पार्टी एकता भएर बन्ने पार्टीको सैद्धान्तिक आधार ‘बहुदलीय जनवाद’ र ‘२१ औ शताव्दीको जनवाद’ राख्ने कि नराख्ने भन्ने विवाद नमिल्दा एकता प्रकृया अवरुद्ध भएको थियो ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिवार भएको वार्तामा प्याकेजमा सहमति गर्ने समझदारी भएको थियो । पार्टी एकतासँगै राष्ट्रपति, उपराष्ट्रपति र सभामुख लगायतका पदको भागवण्डा प्याकेजमा गर्ने दुई नेताहरुबीच सहमति भएको थियो ।
शनिवार भएको सहमति अनुसार आइतबार दुई पार्टीको एकता समायोजन समितिको बैठक बस्दैछ । गत बुधवार बसेको बैठकमा पार्टीको नेतृत्व दुईजनाले गर्ने सहमति भएको थियो ।
एमालेले आफूहरुलाई गलाउने रणनीति बनाएको माओवादीको आशंका छ । ‘प्याकेजमा सहमति गर्ने कुरापनि त्यति विश्वासयोग्य छैन’ नेता मणि थापाले लोकान्तरसँग भने ।
माओवादीका अर्का एक नेताले पार्टीका कार्यकर्ता, सुवेक्षुक र आम नेपाली जनताले समेत महसुश गर्नेगरी एकता गरिनु पर्ने बताए । पार्टीको सिद्धान्तमा सहमति जुट्न नसक्दा रोकिएको एकता प्रक्रियाले मन्त्रिपरिषद् विस्तारमा अन्योलता देखिएको छ ।
पार्टी एकता लम्बिदै जाँदा माओवादीले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । पार्टी एकतामा सहमति नभइ सरकारमा नजाने माओवादी अडानका कारण सरकार गठन भएको चार दिनसम्म प्रधामनन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
वामपन्थी तालमेल गरेर चुनावमा गएका एमाले माओवादीबीच एकताका लागि धेरै बिषयमा सहमति जुटिसकेको छ । अध्यक्षको सामूहिक नेतृत्व रहनेगरी १ सय ११ सदस्सीय केन्द्रीय समिति बनाउने बिषयमा पनि शीर्ष तहमा सहमति भएको छ ।
शनिवारको दुई अध्यक्षबीचको छलफल सकारात्मक भएको संकेत प्रचण्डले गरेको माओवादीका एक नेताले बताए । ओलीसँगको छलफल सकारातमक भएपछि दाहालले आइतबार विहान पार्टी शीर्ष नेताहरुलाई ब्रिफिङ गर्न खुमलटारमा बोलाएका थिए ।
‘ओलीजीसँग धेरै विषयमा सहमति भएको छ, अब एकता संयोजन समितिको बैठकबाट अगाडि बढ्छ’ दाहालको भनाइ उदृत गदै एक नेताले भने,‘कुरा सकारात्मक छ सरकारमा जाने कुरा पनि हुन्छ, समझदारी लिखित गर्ने गरी जाने तयारी भएको छ ।’
ओलीसँग दाहालले अब प्याकेज सहमति खोजेका छन् । उनले पार्टी एकता, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्षदेखि मन्त्रालय बाँडफाँटसम्मका सबै विषयको प्याकेज सहमति गरेर जानुपर्नेमा जोड दिएका छन् ।
एकता संयोजन समिति बैठकमा यी सबै विषयमा प्याकेज सहमतिको प्रयासका लागि छलफल हुने ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए। अधिकारीका अनुसार आइतबार एकता संयोजन समिति बैठक बस्नुअगाडि पुनः दुई अध्यक्षबीच छलफल हुनेछ ।