३१ जेठ २०८३, आइतबार

किन लाग्यो राष्ट्रपति भण्डारीलाई डर ?

किन लाग्यो राष्ट्रपति भण्डारीलाई डर ?

गत बिहीबार केपी ओली प्रधानमन्त्री नियुक्त भएकै दिन, अर्थात् शीतल निवासमा उनले शपथ लिनुअगाडि । धुम्बाराही पार्टी कार्यालयमा संसदीय दलको नेता चयनका क्रममा माधव नेपालबाटै प्रस्तावित भएपछि केपी नै भए । त्यो कार्यक्रम सकिनासाथ शीतल निवासमा शपथमा पुग्नु थियो । यतिबेलासम्म प्रधानमन्त्री मात्र टुंगिएको थियो, मन्त्रीहरूको पत्तो थिएन । कसैले कसैलाई बताएका पनि थिएनन् । अरू बेला एमलोका ‘किङमेकर’ मानिने नेताहरू नै जानकार थिएनन् कि, प्रधानमन्त्रीको शपथसँगै को–को मन्त्री हुँदै छन् भन्ने कुरा ।

ओलीले समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने र आफू दलको नेता चयन हुने कार्यक्रमलाई सम्बोधनका क्रममा भनेका थिए, पुरुषजति सबैले दौरा–सरुवाल लगाउने, महिलाले साडी–चोलो । यसपछि पोसाक नलगाएका सांसदहरू पनि दौरा–सुरुवालको खोजीमा लागे । सबैको मनमा थियो, ‘कतै मन्त्री पो भइहालिन्छ कि’ पार्टी कार्यालयबाट नेताहरू निस्कँदा २ बजेको थियो ।

त्यसको दुई घण्टापछि शीतल निवासमा केही मन्त्रीसहित प्रधानमन्त्री पुग्नु थियो । तर, मन्त्री होलान्जस्ता मानिएका नेतालाई कसैले तयार हुन भनिएको थिएन । धेरैले अनुमान गरे, ईश्वर पोखरेल, प्रदीप ज्ञवालीहरू जालान् भनेर । तर, प्रदीप उपत्यकाबाहिर थिए ।

ईश्वरचाहिँ पार्टी कार्यालयबाट निस्किएर धापासीस्थित घर पुगे । त्यहाँ पुगेर दौरा सुरुवाल लगाए । ईश्वरजत्तिको नेतालाई आफू मन्त्री हुने र नहुने कुरा त थाहा थियो होला, तर उनका वरिपरिका मान्छेहरू धापासी नाच्न थालिसकेका थिए, महासचिव मन्त्री हुने भए भनेर । ईश्वरलाई त्यसदिन धेरैले फोन गरेर सोधे । उनले सोध्नेहरूलाई ‘हो–होइन’ केही भनेनन् । एमालेको कुरा ईश्वरले ‘हो–होइन’ भन्ने बताउन नसकेपछि अरूको के हिसाब ? धेरैले विष्णु पौडेललाई सोधे । उनी पनि अनभिज्ञ । विष्णु रिमाललाई पनि थाहा थिएन । माधव नेपाललाई सोध्ने आँट कसैले गरेनन् ।

वामदेव गौतम, भीम रावलसँग पनि ओलीले केही भनेका थिएनन् । पार्टीको कोही न कोही नेता एकछिनपछि मन्त्री हुँदै छन् । तर, कुनै पनि नेतालाई थाहा छैन कि, को–हुन् मन्त्री बन्ने ? हुनेहरूले गाइँगुइँ गर्ने, त्यस्तो पनि भएन । वास्तविकता के रहेछ भने पार्टी कार्यालयमा ओलीलाई दलको नेताको रूपमा प्रस्ताव गरेर भाषण टुंग्याएलगत्तै ओली र माधवबीच कानेखुशी भएको रहेछ । माधवले ‘लालबाबु गरौँ’ भनेपछि ओली चुप लागे ।

त्यहाँबाट निस्किएर हिँड्ने बेलामा ओलीले माधवलाई भने, ‘उहाँलाई तपाईंले नै भन्नुस् न त ’ यति भनिसकेर ओली गाडी चढी कार्यालयबाट निस्किए । माधवले केपीले साँच्चै भनेका हुन् कि मन राख्न मात्र सोधेका हुन्, भेउ पाएनन् । उनी पनि त्यहाँबाट निस्किए । गाडीमा छँदा फेरि केपीलाई फोनमा सोधे, ‘भन्नै पर्ने हो त ?’ ओलीले ‘हो–हो’ भने । कोटेश्वर निवास पुगेर खाना खाएपछि लुगा लगाएर निस्कनै लाग्दा बल्ल माधवले लालबाबुलाई फोन गरेर सोधे, ‘कहाँ हुनुहुन्छ ?’ शपथमा आउनुहुन्छ नि ?’ लालबाबुले ‘आउँदै छु’ भने । ‘अध्यक्षले सबैलाई दौरा सुरुवाल लगाएर आउन भन्नुभएको छ, थाहा पाउनुभयो नि ?’ लालबाबुले भने, ‘टोपी त म जहिल्यै लगाइहाल्छु ।’ तर, माधवले लालबाबुलाई ‘तपाईं मन्त्री बन्नुहुन्छ’ भनेका थिएनन् । प्रधानमन्त्रीको शपथ शुरु हुनुभन्दा केही बेर अगाडि माधवले लालबाबुलाई कानमा भनेका रहेछन्, ‘एउटा तपाईं पनि हो है’ यति भन्दा पनि लालबाबुलाई पत्यार लागेको थिएन । तर, जब एक जना मर्यादापालकजस्ता मानिस आएर उनलाई भने, ‘मान्यज्यू, हजुरलाई तयारी अवस्थामा रहन खबर आएको छ ।’ यसो भन्नासाथ प्रधानमन्त्रीको शपथ शुरु भयो । त्यसलगत्तै उनीहरूको नाम वाचन भयो ।

मन्त्री हुने थममाया थापाचाहिँ राष्ट्रपतिको आग्रहमा बनाइएकी हुन् । गुटमा केपीकै तर जोडबलचाहिँ शीतल निवासको थियो । केपीको शपथ सकिएर लालबाबु र थममायाहरूको नाम पढेको बीचमा एकछिन माइक खालि भयो । त्यसबेला माइक्रोफोन अन थियो । नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दा साउन्डको हुक त्यही मुख्य माइकमा जोडेको रहेछ । कुर्सीमा बसेकी राष्ट्रपतिले बोलेको कुरा उक्त प्रत्यक्ष प्रसारणमा लिक भयो । भनेकी थिइन्, ‘लालबाबु आउनुभएन कि क्या हो, मलाई त डर लागिरहेको थियो , थममायाचाहिँ तयारी अवस्थामा आउनुभएछ..’

यसप्रकार प्रधानमन्त्रीको शपथकै दिन मन्त्री नियुक्तिको सरप्राइज पाएका यी दुई मन्त्रीको नियुक्तिप्रति एमालेभित्र कसैको असन्तुष्टि भने देखिएन । कारण हो, गुटको पनि सन्तुलन मिलेको । त्यसमाथि एक जना मधेसी, एक जना महिला । जनआस्थामा समाचार छ ।
 

salt training

कमेन्ट गर्नुहोस्