
काठमाडौं, ९ फागुन — एक ओभरमा बलरले कति रन दिनसक्छ ? अधिकतम ३६ रन भन्न सक्नुहुन्छ ।
तर क्रिकेटको इतिहासमा एक बलरले जम्मा पाँच बलमा ७७ रन लुटाएका थिए । न्युजील्यान्डका फास्ट बलर बर्ट वेन्सेले क्राइस्टचर्चमा भएको एक फर्स्ट क्लास म्याचमा यति धेरै रन दिएका थिए ।
वेलिङटन्स शेल ट्रफी म्याचका क्रममा यस्तो स्थिति आएको हो । यो म्याच केन्टरबरी र वेलिङटनका बीच भएको थियो ।
म्याचको अन्तिम दिनमा वेलिङटन टीमले केन्टरबरीलाई ५९ ओभरमा २९१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा केन्टरबरी टीमले १०८ रनमा आठ विकेट गुमाएको थियो ।
टीमलाई जीतका लागि दुई ओभरमा ९५ रन आवश्यक भयो र ऊ जीतबाट धेरै पर थियो । तर बलिङ गर्न आएका बर्ट वेन्सेले म्याचको दिशा नै परिवर्तन गरिदिए ।
बर्टले यो ओभरमा धेरै नोबल फाल्दै २२ बल फ्याँके । पाँचवटा लिगल बल थियो भने १७ वटा नोबल थियो ।
त्यसै ओभरमा ब्याट्स्म्यानले आठ छक्का र चार चौका हाने । बर्टले शुरूका १७ बलमा जम्मा एक बल लिगल फालेका थिए ।
पाँच सही बल फालेपछि अम्पायरले उनको ओभर सिध्याए ।
केन्टरबरीको टीमलाई जीतका लागि अन्तिम दुई ओभरमा ९५ रन बनाउनुपर्ने थियो । बर्टको ओभरमा ७७ रन बनेपछि जीतको अन्तर कम भएर १८ रनमा झ–यो ।
अन्तिम ओभरमा ब्याट्स्म्यान ली जर्मन र रोजर फोर्डले १७ रन बनाए अनि म्याच ड्र भयो ।
एजेन्सी