
काठमाडौं, १० फागुन — बंगलादेशबाट भारत आउने शरणार्थीहरूका विषयमा भारतका सेनाप्रमुख विपिन रावतले बुधवार कडा बयान दिएका छन् । उनले देशमा शरणार्थीको संख्या बढ्नुमा पाकिस्तानको हात रहेको र चीनले यसमा समर्थन जनाएको बताएका छन् ।
भारतविरुद्ध छद्मयुद्ध गर्न पाकिस्तान र चीन लागिपरेको उनको भनाइ छ । पूर्वोत्तर भारतमा अशान्तिको वातावरण बनाउनु यसको उद्देश्य रहेको उनले बताए ।
बुधवार दिल्लीमा आयोजित एक सेमिनारमा पूर्वोत्तर सीमा सुरक्षाका बारेमा रावत बोलिरहेका थिए ।
भोट बैंकको राजनीतिका कारण उक्त क्षेत्रमा एयूडीएफ नामक राजनीतिक संगठन तीव्र रूपमा बढिरहेको उनले बताए ।
अनि छिमेकी मुलुकहरूले भारतविरुद्ध छद्मयुद्ध जारी राख्ने पनि उनले भने ।
बंगलादेशबाट लगातार असम आइरहेका शरणार्थीले राज्यका लागि ठूलो समस्या निम्त्याएको उनी बताउँछन् । त्यसैले गर्दा राज्य सरकारले नेसनल रजिस्टर बनाइरहेको छ जसकारण अवैध शरणार्थीको जानकारी प्राप्त हुनेछ ।
एजेन्सी