
काठमाडौं, ११ फागुन– सरकारले केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघिका ३१ मन्त्रालयलाई घटाएर १८ वटा बनाउने निर्णय गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिएर एउटै मन्त्रालय बन्ने भएको छ। यसैगरी कृषि, पशु विकास र भूमिसुधार मन्त्रालय गाभिएर कृषि, सहकारी तथा भूमिव्यवस्था मन्त्रालय बन्नेछ। सिँचाइ, ऊर्जा र खानेपानी मन्त्रालय गाभिएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बन्ने भएको छ।
यसैगरी वन र वातावरण मन्त्रालय गाभिएर वन तथा वातावरण मन्त्रालय बन्ने भएको छ भने महिला, बालबालिका र श्रम तथा रोजगार मन्त्रालय पनि गाभिएको छ। शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालय गाभेर शिक्षा तथा विज्ञान प्रविधि र युवा खेलकुद मन्त्रालय बनाउन लागिएको छ भने संघीय मामिला, स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय गाभेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बन्ने भएको छ ।