०५ असार २०८३, शुक्रबार

सिरियामा लडाईं जारी, युद्धविराममा सहमति बनेन

फागुन ११, २०७४
सिरियामा लडाईं जारी, युद्धविराममा सहमति बनेन

काठमाडौं, ११ फागुन — सिरियामा विगत केही दिनदेखि चलेको लडाईं रोक्नका लागि बिहीवार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक कुनै परिणामविना टुंगियो ।

यस बैठकमा सिरियामा चलिरहेको संघर्ष टुंग्याउनका लागि ३० दिनको युद्धविरामसम्बन्धी प्रस्तावमा चर्चा गरियो तर रुसले प्रस्ताव पारित गर्न दिएन । 

युद्धविरामका सम्बन्धमा स्विडेन र कुवेतले प्रस्ताव पेश गरेको थियो तर रुसले प्रस्तावमा संशोधन गर्न चाह्यो । 

अहिलेको प्रस्तावले रुसको समर्थन रहेको सिरियाली सरकारमाथि दबाब पर्ने रुसको भनाइ छ । 

राष्ट्रसंघमा रुसका प्रतिनिधि वेस्ली नेबेनज्याले बताएअनुसार, प्रस्ताव वास्तविक रूपमा उपयोगी हुनुपर्ने ग्यारेन्टी रुसले चाहेको छ । 

वेस्लीले भने, ‘युद्धविरामको वास्तविक चुनौती भनेको कार्यान्वयन हो । हामीले फैसला लिनका लागि मात्र युद्धविराम गर्नुहुँदैन । युद्धविराम धरातलमा कति सफल हुन्छ भनी हेर्नुपर्छ । हामी राष्ट्रसंघको निर्णय यथार्थवादी होस् न कि
पपुलिस्ट होस् भन्ने चाहन्छौं ।’

पश्चिमी देशहरूका प्रतिनिधिले रुसको यो व्यवहारले सिरियाली सरकारलाई समर्थन गर्ने कदमका रूपमा लिएका छन् ।

सिरिया सरकारले विद्रोहीको कब्जा रहेको क्षेत्र पूर्वी गूतामा विगत पाँच दिनदेखि लगातार बम प्रहार गरिरहेको छ । 

बम आक्रमणका कारण अहिलेसम्म ४०० भन्दा बढीको ज्यान गइसकेको छ । राष्ट्रसंघका अनुसार, लगभग तीन लाख ९३ हजार मानिस त्यहाँ फसेका छन् । 

पूर्वी गूतामा पीडित मानिसहरूका लागि काम गरिरहेका सहायता एजेन्सीहरूले यस क्षेत्रको स्थिति भयावह रहेको बताएका छन् । आईसीआरसीका प्रवक्ता तथा तीन महीनाअघि गूतामा सहायता कार्य गरेकी इन्जीले त्यो पूरा क्षेत्र
विनाशको स्थितिमा रहेको बताइन् । 

उनले भनिन्, ‘अघिल्लो वर्षको नोभेम्बर महीनामा म त्यहाँ हुँदा त्यहाँको हालत एकदम खराब थियो । अहिले स्थिति झन् बिजोक छ । सर्वसाधारण बेकाममा मारिएका छन् । हामीहरूले उनीहरूलाई बचाउनका लागि सबै किसिमका
प्रयत्न गर्नुपर्छ ।’

पूर्वी गूताबाट आएका समाचारलाई सिरिया सेनाले खण्डन गरेको छैन । सेनाले आफूविरुद्ध जहाँ आक्रमण गरिएको छ, त्यहाँ नै आफूले सटीक आक्रमण गरेको बतायो । 

अलेप्पोबाट सांसद फारिस शहाबीले सिरिया सरकार नागरिकमाथि नभई उग्रवादीहरूमाथि आक्रमण गरिरहेको बताएका छन् ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्