
काठमाडौं, ११ फागुन — सन् २०१७ को अन्त्यताका कोरियाली प्रायद्वीपमा ठूलै परिवर्तन आयो । आणविक कार्यक्रमका सम्बन्धमा आफ्नै जिद्दीमा अडेका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले नरमपना देखाउँदै छिमेकीसँगको सम्बन्ध सुधार्ने संकेत दिए ।
अनि उत्तर कोरियाले दक्षिण कोरियाको आयोजनामा भइरहेको शीतकालीन ओलम्पिकमा आफ्नो टोली पठाउने निर्णय ग–यो । अझ यसभन्दा एक कदम अघि बढ्दै उद्घाटन समारोहमा दुवै देशका टोलीहरू एउटै झण्डामुनि हिँड्ने समेत बताइयो ।
किमले ओलम्पिक उद्घाटन समारोहमा बहिनीलाई प्योङचाङ पठाए र उनी फर्केपछि तयार पारेको रिपोर्ट पनि किमलाई मन प–यो ।
दुई कोरियाली टोलीले एउटै झण्डामुनि मार्च गर्दा संसारका लागि ठूलो सन्देश गयो । उनीहरू जुन झण्डामुनि थिए, त्यसको सेतो पृष्ठभूमिमा एकीकृत कोरिया देखाइएको थियो ।
विगतको साझा इतिहासलाई याद गरेर उत्तर कोरियाका शीर्ष अधिकारीहरूको आँखामा आँसु भरियो । दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन र किमकी बहिनी किम यो–जोङ सँगै बस्दा दूरी घटेको देखियो ।
यो–जोङ त्यहाँको संयुक्त महिला आईस हकी टोलीलाई हौसला बढाउनका लागि उपस्थित हुँदा उत्तरका चीयरलीडरहरू संसारभरिबाट त्यहाँ पुगेका दर्शकको उत्साह बढाइरहेका थिए । 
तर शीतकालीन ओलम्पिकबाट न्यानो बनेको सम्बन्ध लामो समयसम्म कायम रहला त ?
मून सरकारले अमेरिकाबाट टाढिएर उत्तर कोरियातर्फ मित्रताको हात बढाएको धेरै मानिसले बताएका छन् ।
उत्तरले आणविक तथा क्षेप्यास्त्र कार्यक्रममा रोक लगाउने वाचा गर्दा दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सेन्य अभ्यास रोक्ने माग राख्न सक्छ भनी चिन्ता जनाइएको छ ।
तर वास्तविकता चाहिँ सबैजना स्थिति थप खराब नहोस् भन्ने चाहन्छन् । खेल महोत्सवले दुई देशलाई नजिकिनका लागि मञ्च दियो तर यसबाट राजनीतिक गतिरोध अन्त्य होला भन्नेमा शंका छ ।
दशकौंदेखि गरिएका कुराकानीबाट कुनै परिणाम निस्केका छैनन् अनि कोरियाली प्रायद्वीपमा स्थायी रूपमा तनाव र असहजता छाएको छ ।
पैंसट्ठी वर्षअघि भएको कोरियाली युद्धपछि दुई देशबीचको सम्बन्ध प्रायः उस्तै खराब छ ।
आणविक कार्यक्रमका कारण उत्तर कोरिया संसारकै सबभन्दा खतरनाक देश हो ।
उत्तर कोरियाले पहिले पनि कुराकानीहरू गरिसकेको छ र अनेकों चरणको वार्ताको कुनै परिणाम आएको थिएन । उत्तर कोरियालीहरू अत्यन्तै चलाख हुन्छन् र मोलतोल गर्न जान्दछन् ।
उनीहरू एक एक इन्चका लागि लड्छन् र प्रत्येक खराब कुराको शोक लामो समयसम्म मनाउँछन् ।
उत्तर कोरियासँग मोलतोल गर्नु सजिलो छैन । तर उत्तर कोरिया आणविक कार्यक्रमका बारेमा पहिला त पटक्कै कुराकानी गर्न चाहँदैनथियो, अहिले केही कदम अघि बढेको छ ।
उत्तर कोरियालीहरूलाई सरकारले यो अवसर गुमाउनेछैन भन्ने लागेको छ ।
उता दक्षिणका राष्ट्रपति मूनको आगामी कदम के हुनेछ थाहा हुन सकेको छैन । उनी ४१ प्रतिशत भोटका साथ सत्तामा आएका हुन् र आफ्नै दममा धेरै पर उनी नजान सक्छन् ।
अर्कातर्फ उत्तर र दक्षिण कोरियाबीचको नयाँ मित्रताले ट्रम्प प्रशासनलाई असहज बनाएको छ ।
किमले दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर आउने निमन्त्रण दिएका छन् र आगामी समयमा मून प्योङयाङ जान सक्छन् ।
त्यसो त यो औपचारिक निमन्त्रण होइन र मूनले उत्तर कोरिया पनि अमेरिकासँग कुराकानी गर्न तयार होस् भनेका छन् ।
अहिले सकारात्मक वातावरण बनेको र सानो भेटघाट भएको आधारमा सम्बन्धमा सुधार आएको भन्न मिल्दैन । मून र यो–जोङबीच कुन विषयमा कुराकानी भयो भन्ने पनि थाहा भएको छैन ।
दक्षिण कोरियाका इतिहासकार जोन डेल्युरी भन्छन्, ‘मानिसहरूलाई मूनले राम्रो श्रेय पाइरहेका छैनन् जस्तो लाग्छ । उत्तर कोरियाको मन परिवर्तन भइरहेको उनीहरू ठान्छन् । दक्षिण कोरियाको हात बाँधिएको छ भनी
अमेरिकाले बुझ्नुपर्छ । उत्तर त दक्षिणसँग डराउँदैन, बरू आफूसँग आणविक हतियार नभएकाले दक्षिण चाहिँ उत्तरसँग डराउँछ ।’
उत्तर कोरियासँग आणविक कार्यक्रमका विषयमा भएका कुराकानी विगतमा असफल रहेका थिए । तर यसपाली शायद उत्तर कोरियाले आफ्नो दृष्टिकोणमा नरमपन ल्याउँछ र उसका विषयमा संसारभरि रहेको अविश्वासको
वातावरण हटाओस् भनी धेरैले चाहेका छन् । 
तर किमले दक्षिण कोरिया र अमेरिकालाई टाढा पार्ने प्रयास गर्नेछन् किनकि राष्ट्रपति ट्रम्पलाई मन नपराउने मानिस दक्षिण कोरियामा टन्नै छन् भन्ने कुरा उत्तरलाई थाहा छ ।
त्यसैले शीतकालीन ओलम्पिकपछि आशा त जागेको छ तर धेरै आशा पनि राख्नुहुँदैन ।
बीबीसीबाट