१८ असार २०८३, बिहीबार

मुख्य समाचार: प्रदेश ६ को नाम कर्णाली र राजधानी वीरेन्द्रनगर, कांग्रेस नेताहरुबीच चर्काचर्की

फागुन १३, २०७४
मुख्य समाचार: प्रदेश ६ को नाम कर्णाली र राजधानी वीरेन्द्रनगर, कांग्रेस नेताहरुबीच चर्काचर्की

काठमाडौं, १३ फागुन– प्रदेश नं. ६ को नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर रहने भएको छ । प्रदेशसभाको शनिबार बसेको बेठकले प्रदेश ६ को नाम कर्णाली र स्थायी राजधानी सुर्खेतको विरेन्द्रनगर राखियोस् भनी गरिएको प्रस्ताव सर्वसम्मत पारित गरेको हो । 
एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसद्मा ‘प्रदेशको नाम कर्णाली राखियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मत पारित भयो । 
प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउनुपर्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव दुईतिहाइभन्दा बढी मतबाट पारित भएसँगै कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर भएको हो । अर्को बैठक फागनु १५ गते बस्ने छ ।

कांग्रेस बैठकमा चर्काचर्की– शनिबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठमा नेताहरुबीच चर्काचर्की भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा संसदीय दलको नेताका आकांक्षीबीच चर्काचर्की भएको हो । 
सभापति शेरबहादुर देउवा संसदीय दलको नेताका लागि अग्रसर भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित भएको छ । बैठकमा सभापति देउवा र अर्का आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच चर्काचर्की नै पर्यो । 
बैठकमा सिंहले चुनाव हार्नुमा आफूलाई मात्रै कारण ठर्याएपछि देउवा केहीछिन आक्रोशित भए । सिंहले पार्टीले चुनाव हार्नुमा सभापति देउवाको कार्यशैली र भूमिका मुख्य कारण रहेको बताएका थिए । देउवाले सिंहप्रति लक्षित गर्दै पार्टीलाई कमजोर बनाउने गरी अभिव्यक्ति दिनेमाथि कारबाही गरिने चेतावनी दिए । 

कांग्रेसले छायाँ सरकार गठन गर्ने– नेपाली काँग्रेसले संघीय संसदीय दलमा पेश भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ । काँग्रेस संसदीय दलको सिंहदरबारमा बसेको बैठकले नेता डा मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
परिमार्जित विधानलाई आइतबारदेखि शुरु हुने केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि दलको नेता चयन प्रक्रिया शुरु हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसैबीच, बैठकले छाँया सरकार गठन गर्ने निर्णय गरेको छ । जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाँया सरकार गठन गर्ने कांग्रेसले निर्णय गरेको हो । 
अघिल्लो सरकारले राष्ट्रियसभामा गरेको सिफारिस कार्यान्वयन नगरेको भन्दै नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेको छ । 

आज सरकार विस्तार, भोलि शपथ– आइतबार साँझसम्ममा वाम गठबन्धनको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लाग्ने भएको छ । मन्त्रालय भागबण्डाको टुंगो लगाएका एमाले र माओवादी केन्द्रले साँझसम्ममा आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने भएका हुन् । 
प्रेस सेन्टर र प्रेस चौतारी चितवनले शनिबार गरेको संयुक्त पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार साँझसम्म मन्त्रीको टुंगो लाग्ने र सोमबार दिउँसो ३ बजे शपथ हुने जानकारी दिए । 
मन्त्रीका आकांक्षी धेरै भएका कारण दुवै दललाई मन्त्री छनोट गर्न सकस भएको छ । 

एकीकृत पार्टी संघीय संरचनाअनुसार- नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संविधान प्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन् । दुई दलको शनिबार बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको पहिलो बैठकमा नेपालको संविधानअनुसार नै पार्टी संरचनालाई संघीय ढाँचामा अगाडि बढाउने गरी छलफल शुरु गरेको छ ।
दुई पार्टीको संगठनात्मक अनुभव आदानप्रदानबाट कार्यदलले औपचारिक रुपमा काम शुरु गरेको एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए । बैठकले यही फागुन २५ गतेभित्र कार्यदललाई तोकिएका काम सम्पन्न गर्न कार्यतालिका बनाएर अघि बढ्ने निर्णय गरेको छ । 
बैठकमा एमाले र माओवादी केन्द्रका संगठनात्मक ढाँचा, अभ्यास तथा अनुभवका बारेमा एक अर्का पार्टीको जानकारी आदानप्रदान गर्ने काम भएको नेता विष्टले बताए । 


कानूनी जटिलता खुकुलो पारिन्छः ओली– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणलगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलीकरण गरेर चुस्त र छरितो पारिने बताए । 
उनले भने, “सरकारी कार्यालयका टेबुलपिच्छे फायल अलमलिने प्रथा अब अन्त्य हुन्छ । सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधारणका काममा ढिलाइ गरेछन् भने त्यसमा उचित छानबिन हुन्छ ।” प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरकारले शून्य सहनशीलताको नीति लिने स्पष्ट पारे । 

नर्भिक अस्पतालको लापरबाही– राजधानीको थापाथलिस्थित नर्भिक अस्पतालमा उपचारका लागि आएका एक बिरामीको उपचारमा अस्पतालले गम्भीर लापरबाही गरेको पाइएको छ । स्कुटी थन्काउँदा चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण शुक्रबार अस्पताल भर्ना भएकी बिन्दु पौडेलको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा अस्पतालले दाहिने खुट्टा चिरिदिएको छ ।
चितवनकी ३८ वर्षीया पौडेलको उपचारका अस्पतालकै डा प्रवीण नेपाल र शैलेज रञ्जितकार संलग्न थिए । 


नयाँ शक्तिको संकल्प– नयाँ शक्ति पार्टीले एक वर्षभित्र महाधिवेशन गर्ने र पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । लुम्बिनीमा बसेको पार्टीको संघीय परिषद्को चौथो विस्तारित बैठकले महाधिवेशन गर्ने र त्यसबाट पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्न बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संयोजक बाबुराम भट्टराईले पार्टीको नाम के राख्ने भन्ने बारेमा छलफल सुरु गरिने जानकारी दिए । बैठकले संगठनात्मक संरचनालाई वैज्ञानिक रुप दिन भन्दै ३ तहको संगठनात्मक संरचनाको समेत अनुमोदन गरेको छ । 

इपिजी बैठक– नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को काठमाडौंमा जारी सातौँ बैठकमा मस्यौदाको स्वरुपलाई अन्तिमरुप दिने सहमति भएको छ । हालसम्मका बैठकका उपलब्धिलाई लिपिबद्ध गरी मस्यौदालाई अन्तिम रुप दिन बैठकमा सहमति भएको समूहका एक सदस्यले बताए ।
बैठकबारे जानकारी दिन आइतबार अपराह्न पत्रकार सम्मेलन गरिने भएको छ । बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायत विषयमा विचारविमर्श भएको थियो । 


खेल खबर– प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि पूर्वाञ्चल र एपीएफ भिड्ने भएका छन् । शनिबार भएका सेमिफाइनलमा जित निकाल्दै दुवै टोली उपाधि नजिक पगेका हन् । 
पूर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रनले पराजित गरेको हो भने विभागीय टोली एपीएफले घरेलु टोली सुदूरपश्चिमलाई ८१ रनले पराजित गरेको हो । शनिबार नै भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफ सुदूरपश्चिमलाई ८१ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । 
फाइनल खेल आइतबार फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्