१९ असार २०८३, शुक्रबार

वैज्ञानिकद्वारा पहिलो पटक प्रयोगशालामा कृत्रिम कोष निर्माण

असार १७, २०८३
काठमाडौं
वैज्ञानिकद्वारा पहिलो पटक प्रयोगशालामा कृत्रिम कोष निर्माण

इतिहासमै पहिलो पटक वैज्ञानिकहरू निर्जीव रसायनहरूको प्रयोग गरेर प्रयोगशालामा कृत्रिम कोष (सिन्थेटिक सेल) निर्माण गर्न सफल भएका छन्। 

अमेरिकाको युनिभर्सिटी अफ मिनेसोटाकी प्रोफेसर केट एडामाला नेतृत्वको टोलीले कुनै पनि जीवित कोषको प्रत्यक्ष प्रयोग नगरी नयाँ कृत्रिम कोष विकास गरेको हो।

अनुसन्धानकर्ताका अनुसार यो कृत्रिम कोषले प्राकृतिक कोषजस्तै पोषक तत्व प्रयोग गर्ने, वृद्धि हुने र आफ्नै प्रतिलिपि (रिप्लिकेट) बनाउन सक्ने प्रारम्भिक क्षमता देखाएको छ। यसलाई सिन्थेटिक बायोलोजीको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

वैज्ञानिकहरूले यस कोषलाई ‘स्पडसेल’ नाम दिएका छन्। हाल यो निकै प्रारम्भिक र सीमित क्षमताको अवस्थामा रहे पनि यसले लगातार पाँच पुस्तासम्म आफ्नो प्रतिलिपि बनाउन सफल भएको जनाइएको छ। यसमा करिब १५० देखि २०० प्रकारका अणु मात्र रहेका छन्, जुन प्राकृतिक कोषको तुलनामा निकै कम हो।

यद्यपि, यो कोष पूर्ण रूपमा स्वतन्त्र छैन। यसले प्रोटिन उत्पादनका लागि आवश्यक राइबोसोम आफैं बनाउन सक्दैन र बाहिरबाट आवश्यक जैविक सामग्री तथा पोषक तत्व उपलब्ध गराउनुपर्छ।

अनुसन्धानकर्ताहरूका अनुसार यो प्रविधिले भविष्यमा क्यान्सर उपचार, कार्बन उत्सर्जन घटाउने जैविक प्रविधि विकास तथा विशेष प्रकारका औषधि उत्पादनमा नयाँ सम्भावना खोल्न सक्छ। साथै, जीवनको उत्पत्ति कसरी भयो भन्ने विषयमा अनुसन्धान गर्न पनि यसले महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास गरिएको छ।

वैज्ञानिकहरूले भने यसलाई ‘प्रयोगशालामा जीवन सिर्जना’ भएको दाबी नगरी जीवनको आधारभूत संरचना बुझ्ने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। हाल यो कृत्रिम कोष प्रयोगशालाबाहिर वा विशेष वातावरणबिना बाँच्न सक्दैन, त्यसैले यसबाट तत्काल कुनै जैविक सुरक्षा जोखिम नरहेको उनीहरूको भनाइ छ।

यस प्रविधिलाई विश्वभरका अनुसन्धानकर्ताले थप विकास गर्न सकून् भन्ने उद्देश्यले खुला पहुँच (ओपन–सोर्स) अवधारणाअनुसार उपलब्ध गराउने योजना पनि टोलीले अघि सारेको छ।

salt training

कमेन्ट गर्नुहोस्