
काठमाडौं, १३ फागुन — बेलायतमा एक कैदीले अचम्मको हडताल गरिरहेका छन् । ती कैदीका वकिलले हडतालका कारण उनको मृत्यु कुनै पनि बेलामा हुनसक्ने बताएका छन् ।
लमार च्याम्बर्स नामक कैदी शौच हडतालमा छन् । अर्थात् उनले विगत ३७ दिनदेखि शौचालय गएका छन् । त्यसले गर्दा उनको स्वास्थ्य एकदमै बिग्रेको छ ।
प्रहरीले लमारमाथि लागूऔषध लिएर गाडी चलाएको आरोप लगाएको छ । उनले क्लास ए ड्रग्स बेच्ने गरेको शंका प्रहरीलाई लागेपछि कारमा लखेट्दै उनलाई पक्राउ गरेको थियो । तर अहिले यी व्यक्तिले कुनै पनि बेलामा मृत्यु हुनसक्ने गरी हडताल गरिरहेका छन् ।
वकिलका अनुसार, उनको पक्षलाई जुन हिरासतमा राखिएको छ त्यहाँ कसैलाई पनि धेरै दिनसम्म राख्न मिल्दैन । यसबाहेक लमारका साथ २४ घन्टा नै दुई अधिकारीहरू भित्र बस्छन् अनि उनको गोपनीयता भंग गरिएको छ ।
यसैलाई विरोध गर्दै उनले शौच नै नगर्ने निर्णय लिएका हुन् ।
लमारका वकिलले अदालतमा तर्क दिए, ‘म मानवअधिकार वकिल होइन । मलाई थाहा छ उनी आफैं हडताल गरिरहेका छन् । तर उनले यस्तो जिद्दी गरेको भएपनि उनको जिन्दगी खतरामा छ ।’
अदालतमा यस विषयमा लामै बहस चल्यो । न्यायाधीशले लमारको जिन्दगीमा तर्क गरिएजस्तो ठूलो खतरा नरहेको बताए ।
एजेन्सी