काठमाडौं, १४ फागुन — हालै चीनको कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङलाई अनिश्चित कालका लागि राष्ट्रपति बनाउने प्रस्ताव राख्यो । यो प्रस्ताव पारित भएमा त्यहाँको संविधानमा परिवर्तन गरेर राष्ट्रपति पदको कार्यकाल दुईचोटि हुने समयसीमा समाप्त गरिनेछ ।
चीनले यसो गरेमा भारतलाई घाटा हुने आँकलन भारतीय विश्लेषकहरूले गरेका छन् ।
सन् २०१२ मा सी चीनको राष्ट्रपति भएदेखि चीनले अन्य देशहरूमा चासो बढाउन थालेको छ । पेटी सडक परियोजना उनैले अघि बढाएका हुन् । भारत र चीनबीचको सीमा विवाद लामो समयसम्म चलिरहेको थियो । त्यसले द्विपक्षीय सम्बन्धमा तिक्तता पनि ल्यायो ।
तिनै सी सधैंका लागि राष्ट्रपति भए भने भारतसँग जोरी खेल्न सक्छन् भन्ने भारतीयहरूको अनुमान छ ।
चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले राष्ट्रपति पदको दुई कार्यकाल सीमालाई समाप्त गर्ने प्रस्ताव राखेको थियो । यो सेन्ट्रल कमिटी सत्तारूढ कम्युनिस्ट पार्टीको सबभन्दा महत्त्वपूर्ण हिस्सा हो । सीका लागि पेश गरिएको प्रस्ताव पारित गराउन यो कमिटीले प्रमुख भूमिका निर्वाह गर्छ ।
संविधानमा भएको संशोधनलाई चीनको संसद् अर्थात् नेसनल पिपुल्स कांग्रेस (एनपीसी) बाट स्वीकृति प्राप्त गर्न आवश्यक हुन्छ ।
एनपीसीमा तीन हजार प्रतिनिधि छन् । यस हिसाबमा यो संसारको सबभन्दा ठूलो संसदीय समिति हो ।
यसका प्रतिनिधिहरूको निर्वाचन प्रान्तीय विधानसभाहरूले गर्छन् । यी प्रतिनिधिलाई सशस्त्र सेनाले पनि छान्छन् ।
एनपीसीसँग संविधान संशोभन गर्ने र कानून बनाउने शक्ति हुन्छ । यसका प्रतिनिधिमा लगभग ७० प्रतिशत सदस्य कम्युनिस्ट पार्टीका हुन्छन् ।
यसको अर्थ एनपीसीमा पार्टीप्रति बफादारी देखाउने प्रतिनिधिहरू भरमार हुन्छन् । धेरैजनाले यसबाट सी चिनफिङलाई कुनै समस्या नहुने बताएका छन् ।
एजेन्सी