२६ जेठ २०८३, मंगलबार

ओली र प्रचण्डको चीनतर्फको यात्राले झस्किएको भारत

फागुन १४, २०७४
ओली र प्रचण्डको चीनतर्फको यात्राले झस्किएको भारत

- विष्णु शर्मा (द वायर)

नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीहरू नेकपा एमाले तथा नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण प्रक्रिया आरम्भ भएको छ । दुवै दलले सात बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, नयाँ दलले मार्क्सवाद र लेनिनवादलाई निर्देशक सिद्धान्त मान्छ अनि शान्तिपूर्ण तरिकाले पार्टीको प्रभाव स्थापित गर्ने आह्वान गर्छ ।

उक्त सम्झौताअनुसार, माओवादी केन्द्रका नेता प्रचण्ड र एमाले नेता केपी ओलीले पालैपालो पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् । यससँगै नेपालमा आधिकारिक माओवादको अन्त्य भएको छ जुन देशको वाम इतिहासको सबभन्दा उत्साहजनक अध्याय थियो । अध्यक्ष माओ च तुङको सोच वा माओवादबाट निर्देशित आधिकारिक कम्युनिस्ट पार्टी नेपालमा अब छैन ।

आफ्नो पार्टीलाई एमालेमा मिसाएर प्रचण्डले माओवादी दलको सर्वोच्च नेताका रूपमा आफ्नो राजनीतिक यात्रामा पूर्णविराम लगाएका छन् । अब यो विन्दुपछि पार्टीमा पहिलेजस्तो उनको वाक्य अन्तिम हुने छैन । उनले ओली, माधव कुमार नेपाल र झलनाथ खनाललगायत प्रभावशाली नेताहरूका सामूहिक निर्णयलाई मान्नुपर्ने हुन्छ ।

अर्का नेता वामदेव गौतम पनि एमालेमा कम शक्तिशाली छैनन् । एमालेमा यी नेताहरूको आ-आफ्नै गुट छन् । प्रचण्ड आफूप्रति बफादार नेताहरूका साथ पार्टी प्रवेश गर्दैछन्, तर उनीहरूको संख्या कमै हुनेछ । समझदारीअनुसार, नयाँ दलको केन्द्रीय समितिमा सयभन्दा कम सदस्य हुनेछन् र समानुपातिक रूपमा प्रचण्डले आफ्ना दलका १५ देखि २० सदस्यभन्दा बढीलाई लिएर पार्टी एकता गर्न पाउने स्थिति छैन ।

यो उनका लागि पेचिलो स्थिति हो किनकि उनलाई तीन वर्षपछि प्रधानमन्त्री बनाइने शर्तमा अहिलेलाई नयाँ दलको अध्यक्ष दिइयो भने पनि स्थायी समितिले यो समझदारीलाई रद्द गर्न सक्नेछ र ओलीलाई पूर्ण कार्यकालका लागि सरकारको नेतृत्व गर्न दिन सक्नेछ ।

प्रचण्डले नयाँ स्थितिको मूल्यांकन कसरी गर्नेछन् भन्ने रुचिकै विषय हो । उनले नयाँ दलमा आफ्नो प्रभाव बढाउन सक्छन् कि उनी भित्तैमा पुर्‍याइन्छन् ? यो प्रश्नको निश्चित उत्तर छैन, तर अहिले दाउ उनीविरुद्ध छ जस्तो देखिन्छ अनि पार्टी एकताको सहमति गरेर उनले आफ्नो मृत्युपुर्जीमा हस्ताक्षर गरेका हुन् झैं लाग्छ ।

एमालेमा ओलीलाई मन नपराउने नेताहरू पनि छन् । उनीहरूमा ओलीविरुद्ध कडा सोच भएकाले प्रचण्ड जस्ता बाहिरियालाई समेत विश्वास गर्न तयार छन् । सन् २०१५ मा नेपाल, खनाल र गौतम गुटका सहमतीय उम्मेदवारका रूपमा ओली प्रधानमन्त्री बनेका थिए ।

तर उनी भारतले अनधिकारिक रूपमा लगाएको आर्थिक नाकाबन्दीका बेलामा संयोगवश प्रधानमन्त्री बने । यसले उनलाई पार्टीभित्र र बाहिर राष्ट्रवादीका रूपमा प्रभाव बढाउने अवसर दियो । नेपाल निकै अप्ठ्यारोमा पर्दा अनि पूर्णतया भारतीय सरसामानमा निर्भर नेपालका बजारहरू रित्तिँदै जाँदा उनले आफूलाई भारतको दबाब थेग्न सक्ने राष्ट्रवादी नेताका रूपमा प्रस्तुत गर्ने अवसर पाए ।

उनले पहाडी र मधेसीबीचको विभाजनलाई चर्काउँदै मधेसी आन्दोलन भारतबाट प्रायोजित भनी प्रचार गरे । एमालेको इतिहासमा ओलीको जस्तो ‘मास अपील’ भएको नेता कहिल्यै थिएन । यस्तो स्थितिले एमालेका अन्य तीन नेतालाई झस्काएको छ र उनीहरू लामो समयदेखि उनको विकल्प खोजिरहेका छन् । प्रचण्डलाई भित्र्याएर उनीहरूले विकल्प भेटेका हुन् ।

प्रचण्डका लागि यो नौलो कुरा हैन । उनले राजनीतिकर्मीका रूपमा जिन्दगीभर विपरीतार्थक विचारधाराहरूलाई सन्तुलित गर्ने अनि पार्टीलाई अघि बढाउने काम गरिरहेका छन् । नयाँ दलमा सान्दर्भिक रहिरहनका लागि उनले यो विज्ञता उपयोग गर्ने सोच बनाएको हुनुपर्छ ।

लेखक शर्मा

दुई पार्टीबीचको एकताले भारतविरोधी आवाजलाई राम्रो मञ्च दिएको छ । विगत तीन वर्षमा नेपालमा भारतप्रतिको विश्वास घटेको छ । नेपालमा यसरी भारत खुम्चिनुमा भारतकै दोष छ । सन् २०१५ को आर्थिक नाकाबन्दीले लगाएको घाउ पुरिन लामो समय लाग्नेछ ।

पीडादायी नाकाबन्दीले नेपालीहरूलाई भारतप्रति पूर्ण निर्भर रहँदा त्यसको चर्को मूल्य चुकाउनुपर्दो रहेछ भन्ने थाहा भयो । चिरकालीन सम्बन्ध, अद्वितीय सम्बन्ध वा विशेष सम्बन्ध जस्ता पुराना शब्दावली नरेन्द्र मोदीको भारतमा अस्तित्वमा छैनन् भनी यसले पाठ सिकायो ।

यसैको परिणामस्वरूप नेपालका नेताहरू भरपर्दो साझेदारका लागि उत्तरतर्फ ढल्केका छन् । गत वर्ष नेपालले चीनको पेटी सडक परियोजनामा संलग्नता जनायो । यससँगै नेपालमा चीनको लगानी कैयौं गुणा बढेको छ भने भारतले सार्क मुलुकहरूमा सहायता बजेट मोदीको शासनकालमा ३० देखि ५० प्रतिशतले घटाएको छ ।

सन् २०१६ मा भारतले नेपाललाई दिने सहायता ३० प्रतिशतले घटायो जबकि नेपाल त्यतिखेर महाभूकम्पबाट बौरिरहेको थियो र मित्रराष्ट्र भारतको थप सहयोग खोजिरहेको थियो । यो वर्ष भारतले नेपाललाई विकास सहयोग त बढाएको छ तर त्यसले केही फाइदा गर्ने देखिँदैन । ओली र प्रचण्ड मिलेर उत्तरतर्फकै यात्रामा अघि बढ्ने देखिन्छ ।

भावानुवाद : विन्देश दहाल

salt training

कमेन्ट गर्नुहोस्